पहिलोपल्ट क्यामेरा फेस गर्दा...
मैले ०४४ सालमा भुवनीमा फिल्मको सुटिङमा पहिलोपल्ट क्यामेरा फेस गरेको थिएँ । अर्जुनजंग शाहीजस्ता सिनियर हिरोहरूसँग काम गर्दै थिएँ । मलाई क्यामेराअगाडि होइन, बन्दुकअगाडि उभिएजस्तो लागिरहेको थियो । सपना हो कि विपना हो जस्तो, होस हराएजस्तो अनुभव गरिरहेको थिएँ ।
पहिलो फिल्मले कलाकारको भविष्यको बाटो खोल्छ । आफ्नो प्रस्तुति कस्तो होला भन्ने डरले म नर्भस थिएँ । पहिलो सट अन हुँदा मेरो होसै हराएको थियो । मैले बेहोसीमा क्यामेरा फेस गरेँ भन्दा हुन्छ । पहिलो सट सकिएपछि मलाई सबैले बधाई दिए । त्यसपछि मेरो डर भाग्यो । अहिले मलाई क्यामेराअगाडि उभिँदा बन्दुक होइन, फूलअगाडि उभिएजस्तो लाग्छ । र, सधैँ उभिइरहूँ जस्तो लाग्छ ।
श्रीकृष्ण श्रेष्ठ, नायक
हिरो फिल्ममा ०५७ सालमा मैले पहिलोपल्ट क्यामेरा फेस गरेकी थिएँ । त्यसअघि पनि धेरै कार्यक्रममा भाग लिएकाले मलाई डर लागेन । क्यामेराअगाडि पूर्ण आत्मविश्वासका साथ उभिएकी थिएँ । पहिलो फिल्ममा भन्दा त बरु दोस्रो फिल्ममा मलाई डर लागेको थियो । पहिलोपल्ट क्यामेराआगाडि उभिएको क्षण मेरो जीवनको सबैभन्दा आनन्ददायक क्षण हो । त्यस क्षणबाट सुरु भएको मेरो सुखद र उज्यालो फिल्म-यात्रा अहिले पनि जारी छ ।
रेखा थापा, नायिका
पहिलोपल्ट क्यामेरा फेस गर्दाको क्षण सम्भिmँदा मलाई अहिले पनि मीठो अनुभूति हुन्छ । मेरो पहिलो फिल्म अग्निपथ थियो । यो ०६० सालतिरको कुरा होला । आफ्नो सपनाको क्षेत्रमा पहिलो पाइला चालेको दिन के-कस्तो होला भन्ने चिन्ता लाग्नु त स्वाभाविकै हो । तर, मलाई डर भने लागेको थिएन । उत्साह, कौतुहल र खुसी मिसिएको त्यस क्षणलाई म अहिले बयान गर्नै सक्दिनँ । अभिनय-यात्रा सुरु भएको त्यो क्षण मेरो जीवनको सबैभन्दा सुखद क्षण थियो ।
विराज भट्ट, नायक
यो कस्तो मायाको सुटिङमा म पहिलोपल्ट क्यामेराअगाडि उभिएकी थिएँ । म फिल्म लाइनमा विनायोजना आएकी थिएँ । क्यामेरा अगाडि उभिँदा ज्यादै डर लागेको थियो । उत्साहित पनि थिएँ । मलाई त्यस वेला नडराउन र अप्ठ्यारो नमान्न सिनियर दाइहरूले धेरै हौसला दिनुभयो । तर, दुःखको कुरा मेरो पहिलो फिल्म विविध कारणले रिलिज हुन सकेन । र, मेरा दर्शकले मैले पहिलोपल्ट क्यामेराअगाडि उभिएको दृश्य हेर्न पाउनुभएन ।
नन्दिता केसी, नायिका
मेरो पहिलो फिल्म पिँजडा हो । मार्सलआर्टमा काम गर्दा पनि धेरैपल्ट क्यामेरा फेस गरेको हुनाले मलाई अलिकति पनि डर लागेन ।
अभिनय गर्न सक्छु भन्ने पूर्ण आत्मविश्वासका साथ सुटिङस्थलमा पुगेको थिएँ । फिल्म-यात्राको सुरुवात भएकाले म ज्यादै उत्साही थिएँ । त्यो क्षण मेरो जिन्दगीको सबैभन्दा अविस्मरणीय र सुखद क्षण हो ।
निखिल उप्रेती, नायक
आठ वर्षअघि टेलिशृखला वसन्तीको अभिनय गर्दा मैले पहिलोपल्ट क्यामेरा फेस गरेको थिएँ । म मोडलिङबाट फिल्म लाइनमा आएकी हुँ । अभिनयको पहिलो दिन मभित्र उत्साह र खुसी भरिएको थियो । पहिलो सटमा मैले रानी भएर ढोकाबाट निस्किएर सिंहासनमा गएर बस्नुपर्ने थियो । मोडलिङ क्षेत्रबाट आएकी हुनाले मेरो हिँडाइ क्याटवाक गरेजस्तो भएछ र फेरि रिसुट गर्नुपरेको थियो । त्यो क्षण म कहिल्यै बिर्सिन्नँ ।
ऋचा घिमिरे, नायिका



del.icio.us
Digg
Post your comment