रुँदै-रुँदै बाटो लागे छापामार यी आमा
नयाँ पत्रिका
दुधौली (सिन्धुली), १ माघ
आँखाभरि आँसु पार्दै दुधौली शिविर छाड्दै गर्दा खोटाङकी मेलिना राई (२४) को काखमा १५ महिने छोरो खेलिरहेको देखिन्थ्यो । लडाकु राईको अनुहारमा शिविरसँगै साथीभाइ छाड्नुको पीडा मात्र थिएन, एउटा अनिश्चित भविष्यप्रतिको चिन्ता पनि देखिन्थ्यो । उनी भन्दै थिइन्, 'अबका दिनमा पनि पार्टीकै काम गर्नुपर्ला ।'
२००७ मा राष्ट्रसंघले गरेको दोस्रो चरणको प्रमाणीकरणमा अयोग्य ठहर्याइएकी मेलिना बहिर्गमन कार्यक्रमअन्तर्गत गत बिहीबार मात्रै घर फर्केकामध्येकी एक थिइन् । मेलिना त खोटाङतिर लागिन्, तर उनका श्रीमान् कृषक तामाङ भने शिविरमै छन् ।
'सँगै बसेका साथी मात्र होइन, आफ्नै श्रीमान्सँग समेत बिदा भएर जाँदै छु,' छोरासँगै जनसेनाको डिभिजन कार्यालय दुधौलीको चौरमा बसेकी उनले गुनासो गरिन्, 'सरकारले वास्तै गरेन ।'
०६३ सालमा उनले शिविरभित्रै विवाह गरेकी थिइन् । 'छोरा पनि शिविरभित्रै जन्माएको हो,' उनले सुनाइन्, 'बच्चाको भविष्यबारे पनि सोच्नुपर्ने भयो अब ।' दम्पती नै शिविरमा बस्ने भएपछि उनीहरूको घर नै बनेको थियो शिविर । तर, अब घर फर्केकी मेलिनालाई सैन्य अभ्यास जरुरी हुने छैन । बरु, छोरा खेलाउने र घरमा काम गर्नु उनको दैनिकी हुनेछ । तर, राजनीतिमा लाग्ने उनको अठोटले उनी फेरि पूर्णकालीन सदस्यका रूपमा घरबाट निक्लन सक्ने छिन् ।
मेलिना र कृषकजस्तै अन्य जोडी पनि भेटिए जनसेनाको दोस्रो डिभिजनअन्तर्गतको सिन्धुलीको दुधौलीमा । कतिपयका श्रीमान् बहिर्गमनमा परे भने कतिपयका श्रीमती ।
मेलिनाजस्तै सिन्धुलीकै तुलसा पौडेल पनि आफ्नो दुई वर्षको छोरा सुजनलाई काखमा च्याप्दै शिविरबाट बाहिरिइन् । उनको अनुहारमा पनि उही अनिश्चय, आक्रोश र चिन्तामिश्रति छाया देखिन्थ्यो । खोटाङका दीपक रोकासँग शिविरभित्रै विवाह गरेकी तुलसाले पनि आफ्नो आगामी जीवन बच्चाको स्याहार-सुसार र मूलतः पार्टीकर्ममा लाग्ने बताइन् । उनका श्रीमान् दीपक जनसेनाको दोस्रो डिभिजनअन्तर्गतको रामवृक्ष स्मृति बि्रगेडमा कार्यरत छन् । 'राष्ट्रसंघले अयोग्य भन्यो र पार्टीले एकपक्षीय रूपमा बाहिर निकाल्ने निर्णय गर्यो,' तुलसाको गुनासो थियो, 'तर, सरकारले हाम्रो विषयमा सोचेन, सरकारमा बस्ने मन्छेका हृदय छैनन् । हामीलाई बसभाडासमेत नदिई खाली हात पठाइयो ।'
मनभरि पीडा र काखमा बच्चा लिएर शिविरबाट निक्लने अर्की छापामार थिइन्, सोलुखुम्बु बुङकी अस्मिता राई । उनले ०६४ असोजमा छिरी राईसँग विवाह गरेकी रहिछन् ।
'सैन्य फर्मेसन छाडे पनि पार्टी छाडेका छैनौँ, पार्टीकै योजनामा शिविरबाट निक्लिएको हो, घर गएर पनि पार्टीकै काम गरिनेछ,' उनले १५ महिने छोरा काखमा च्याप्दै भनिन्, 'परीक्षा नलिई युएन (राष्ट्रसंघ) ले फेल गरायो, सरकारले एक पैसा राहत र ठोस कार्यक्रम दिन मानेनन्, चित्त त दुखेकै छ ।'
छापामार आमा, जो बच्चासहित शिविर छाडेर हिँडेका थिए, उनीहरूले बच्चालाई हुर्काउने र पालन-पोषणमा भन्दा बढी पार्टीप्रति बफादारी देखाउने अभिव्यक्ति दिए । 'घरमा लगेपछि सबैले हेर्नुहुन्छ,' अस्मिताले भनिन्, 'पार्टीले खटाएको काम गर्नुपर्यो भने त म हिँडनु पनि पर्ला ।' जनसेनाका कमान्डरहरूले शिविरबाट बिदाइ भएका लडाकुहरूको जिम्मा जनसेनाले नलिने बताए । 'उहाँहरूको औपचारिक बिदाइ भएपछि हामो कमान्डमा रहनुहुँदैन,' जनसेनाका दोस्रो डिभिजन कमान्डर सुकबहादुर रोका शरदले भने ।
सप्तरी पिप्राका रामनारायण ठाकुर र उनकी जीवनसाथी सुमरावती अयोग्य भएका थिए, प्रमाणीकरणमा । यो जोडीले युद्धकालमै विवाह गरेको थियो । 'अब पार्टीमा लाग्दिनँ होला, सात वर्षदेखि काम गरेकै हो,' रामनारायणले भने । उनले पार्टीप्रति गुनासो गरे, 'पार्टीले ठोस अडान लिएन हाम्रा लागि ।' बिदाइ समारोहमा लडाकु आमाहरूको मनोदशा अलिक बिचलित र चिन्तित देखियो ।
'हाम्रो नाममा आएको करोडौँ रकम छ, अनि हामीलाई केटाकेटी-खेलजस्तै सामान्य तालिम दिने प्याकेज छ, हामी लिँदैनौँ,' मेलिनाले भनिन्, 'युएनको प्याकेजको तालिम नलिए पनि ती काम गर्न सकिन्छ ।'
बिदाइ कार्यक्रममा जनसेनाका कमान्डर पासाङले भनेका थिए, 'एनजिओ/आइएनजिओ पनि अर्को भाँडो थापेर बसेका छन्, उनीहरू तपाइर्ंको इच्छा, चाहना र भावनाविपरीत आपनो स्वार्थपूर्ति गर्न भाँडो थापेर बसेका छन्, तपाइंहरू गलत प्रक्रियाको भण्डाफोर गर्दै शान्तिप्रक्रियाप्रति प्रतिबद्ध रहनुहुनेछ ।'
जनसेनाको दोस्रो डिभिजनका दुई सय एकजना अयोग्य लडाकु ६ वटा बस चढेर २२ हजार रुपैयाँ र एउटा झोला बोकेर नागरिक जीवनमा फर्केका हुन् । उनीहरूमध्ये दर्जनभन्दा बढी आमा थिए । बिदाइ भएर बस चढ्दा पनि आमा बनेका छापामारलाई अन्य लडाकुले राम्रो सिटमा बस्न सघाउँदै गरेको दृश्य त्यत्तिकै मानवीय देखिएको थियो ।
दोस्रो डिभिजनअन्तर्गत दोस्रो प्रमाणीकरणमा तीन सय ७२ जना अयोग्य ठहरिएका थिए । तीमध्ये दुई सय ७८ जना १८ वर्षमुनिका र ९४ जना युद्धविरामपछि भर्ना गरिएको राष्ट्रसंघले जनाएको छ । बिदाइ समारोहमा भने एक सय ५५ जना १८ वर्षमुनिका र ४६ जना युद्धविरामपछि भर्ती गरिएका गरी दुई सय एकजना बिदाइ भएका हुन् । दोस्रो प्रमाणीकरणमा अयोग्य ठहर्याइएकामध्ये एक सय २३ जना १८ वर्षमुनिका र ४८ जना युद्धविरामपछि भर्ना गरिएका गरी एक सय ७१ जना
सहभागी भएनन् ।
अयोग्य लडाकुलाई जनसेनाको सलामी सम्मानका साथ जनसेनाका प्रमुख पासाङ र डेपुटी कमान्डर बलदेवले फूलमाला पहिर्याएर बिदाइ गरेका थिए । काखमा बच्चा च्यापेका आमाहरूले पनि फूलमाला पहिरिएका थिए, बिदाइमा । माओवादी सचिव सिपी गजुरेल, जनसेनाका प्रमुख पासाङ डेपुटी कमान्डर बलदेव, सभासद् इन्द्रजित राई, शान्तिसचिव पुण्यप्रसाद न्यौपाने, आवासीय प्रतिनिधि रोबर्ट पाइपर, शिविर व्यवस्थापन समितिका सचिव विनोद ज्ञवाली, सहसचिव शिव नेपाल, सहसचिव साधुराम सापकोटा, उपसचिव निरञ्जन उप्रेती बिदाइ समारोहमा सहभागी थिए । युनिसेफकी निर्देशक जुलियन मेलसप, युएनएफपिए म्याक फायर ल्यान, हतियार अनुगमन प्रमुख र युएनडिपीका प्रतिनिधि सहभागी थिए । सबैका आँखा काखमा बच्चा च्यापेका छापामारमाथि परेका थिए । चन्चले नानीहरूलाई समय-समयमा फकाउँदै र माया गर्दै थिए उनीहरूका बाबुहरू । यो दृश्य त्यत्तिकै ममता र भावपूर्ण लाग्थ्यो ।
बिदाइ समारोहमा राष्ट्रसंघका नेपाल प्रतिनिधि रोबर्ट पाइपरले बिदाइ हुने दिनलाई सन् २००६ देखि शिविरमा बसिरहेका हजारौँ नेपालीका लागि नागरिक जीवनमा र्फकने पहिलो कदमका रूपमा लिन सकिने बताए । 'यो समारोह शान्ति-प्रक्रियाको एउटा महत्त्वपूर्ण कोसेढुंगा हो र यसले शान्ति-सम्झौतामा उल्लिखित अन्य कामलाई पनि गति प्रदान गर्नेछ भन्नेमा हामी आशावादी छौँ,' पाइपरले भनेका थिए ।
उनी लडाकुलाई फकाउन पनि चुकेनन् र भने, 'दुई वर्षको अनिश्चितापछि तपाईंहरू केही रिसाउनुभएको पनि छ होला, तपाईंहरू यस्तो किन महसुस गर्दै हुनुहुन्छ हामी बुझ्न सक्छौँ । ती दुई वर्ष तपाईंलाई कसैले पनि फर्काउन सक्दैन, तर आज यो वहिर्गमनको दिनले तपाईंलाई व्यक्तिगत रूपमा नयाँ सुरुवात गरोस्, हामी सक्दो सहयोग गर्नेछौँ, जसले नयाँ वाचा र आशाले भरिएको एउटा नयाँ अध्याय सुरु होस् ।'
राष्ट्रसंघका प्रवक्ता मार्टी लोगनका अनुसार बिदाइ समारोहमा प्रदान गरिएका नयाँ परिचयपत्रका आधारमा वहिर्गमन भएका उनीहरूले एक वर्षसम्म प्याकेजमा दाबी गर्न पाउनेछन् । राष्ट्रसंघले अयोग्य लडाकुका लागि विभिन्न तालिम/पढाइसहितका चारवटा विकल्पको प्याकेज अगाडि सारेको छ ।
नेपाल-भ्रमणमा रहेकी राष्ट्रसंघीय महासचिव वान की मुनकी बालबालिका तथा सशस्त्र द्वन्द्वसम्बन्धी विशेेष प्रतिनिधि राधिका कुमारास्वामीको रोहबरमा सरकारका तर्फबाट शान्ति मन्त्रालयका सहसचिव साधुराम सापकोटा, जनसेनाका तर्फबाट बि्रगेड कमान्डर सरल सहयात्री, युनिसेफका तर्फबाट जुलियन मेलोसोप र राष्ट्रसंघका आवासीय प्रतिनिधि रोबर्ट पाइपरले १ पुसमा कार्ययोजनामा हस्ताक्षर गरेका थिए ।
'संयुक्त राष्ट्रसंघको नेतृत्वमा सन् २००७ मा सम्पन्न प्रमाणीकरण प्रक्रियामा योग्य नठहरिएका माओवादी सेनाका सदस्यको बिदाइका लागि सरकार, माओवादी र संयुक्त राष्ट्रसंघबीच कार्ययोजनामा' हस्ताक्षर भएपछि ती लडाकु घर र्फकने प्रक्रियाले गति लिएको हो ।
अयोग्य भनिएका लडाकुहरूको बिदाइले नयाँ वर्षको उपलक्ष्यमा एउटा सांकेतिक सन्देश प्रभाव गरेको युनिसेफका नेपाल प्रतिनिधि जिलियन मेलसोपको ठम्याइ छ । उनले भनिन्, 'यसले सयौँ युवालाई आफ्नो जीवन जिउने अवसर मात्र प्रदान गरेको छैन, त्यसका साथमा नयाँ दशकको प्रारम्भमा नयाँ सुरुवातको संकेत दिएको छ, जसबाट नेपाल अझै स्थायित्वपूर्ण र शान्त भविष्यतर्फ अघि बढ्न सक्नेछ ।'
सिन्धुलीको दुधौलीमा रहेको दोस्रो डिभिजनबाट सुरु भएको पुनस्र्थापनाको प्रक्रिया क्रमशः तेस्रो डिभिजन चितवन, चौथो डिभिजन नवलपरासी, पहिलो डिभिजन इलाम, सातौँ डिभिजन कैलाली, छैटौँ डिभिजन सुर्खेत हुँदै पाँचौँ डिभिजन रोल्पामा पुगेर टुगिनेछ । बाँकी स्थानमा पनि भेटिनेछन्, यस्तै लडाकु आमा ।



del.icio.us
Digg
**AGNA NAJANE PACHHI- SAFFA GARNA SIKNU PARCHHA. WHO TOLD YOU TO JOIN MAOIST ARMY LEAVING YOUR STUDY? SILLY FOOLS. NOW IT WONT BE SO EASY TO LIVE A CIVILIAN LIFE WITH YOUR SMALL BABIES, WILL IT? YOU LOT ALWAYS THOUGHT THAT GUN IS EVERYTHING.... DIDNT YOU?
THERE IS ALSO A POPULAR SAYING IN hindi "unt aya pahadke niche" a camel thought that there is nothing taller than him while he was living in the desert, but when one day he came to the hill, he realised that he was like a flee against the hills and mountains. Similarly you PLA will regret in your life when you failed in your life. Because the time of gun power is long gone and never will be return. so you are powerless things.
हामी नेपालीले बिग्रिएकोलाइ बनिएला बहुलेकोलाई होसिएला भनेर जोगाई राख्ने नीति अब छोड्नु पर्छ। छुद्र ब्यक्तिबादी आफैबादी नेताहरूले नेपालको इतिहासमा नै नराम्रो धब्बा लगाएकाछन। नेपालको उन्नतिकोलागी इतिहासको नराम्रो पक्षलाइ दोहोर्याउन नदिनु हामी नेपालीको कर्तब्य हो। यस अर्थको लागि हामी सोच्नै पर्छ। तपाईको भित्रि मनले खुला संग भन्नु पर्दा के भन्छ? म त लेख्ने प्रयास गर्दैछु। तपाई पनि लेख्नुस, बहस गरौ। अब चै अल्मलीनु हुन्न एउटा निष्कर्षमा हामी पुग्नु पर्छ।
Post your comment