Newsletter
Email:
Home | सप्तरंग | पुष्पलालले भन्नुभयो- तिमीलाई दुःख मात्र दिएँ

पुष्पलालले भन्नुभयो- तिमीलाई दुःख मात्र दिएँ

Font size: Decrease font Enlarge font
image

 

spkt.deepak@gmail.com

सहाना प्रधान नेपाली अग्रणी महिला नेत्री हुन् । उनका जीवनका कति कुरा प्रेरणाप्रद छन् । कति कुरा बडो दुःखप्रद पनि रहेछन् । सबैभन्दा राम्रो त जीवनको उकाली-ओरालीमा साहस र हिम्मतसाथ जुध्न सक्ने उनको क्षमता सम्पूर्ण नारीले मात्र होइन, पुरुषले समेत अनुकरण गर्न योग्य छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालकी जीवनसंगिनी सहानाको जीवन निकै संघर्षपूर्ण रह्यो । एमाले नेत्री सहानाको प्रत्यक्ष अनुभूतिमा कस्ता थिए होलान् पुष्पलाल ? उनी पुष्पलाललाई यसरी सम्भिmन्छिन्-

त्यो ००४ साल वैशाख १७ गतेको दिन थियो । हामी राणाविरुद्धको आन्दोलनमा सहभागी हुँदै थियौँ । त्यही दिन कमरेड पुष्पलालसँग मेरो पहिलो भेट भएको हो । मलाई त राजनीतिका धेरै कुरा थाहा थिएनन् । छोरीले पनि पढ्न पाउनुपर्छ भन्ने चेतनाले म र दिदी साधना राणाविरुद्धको आन्दोलनमा सहभागी भएका थियौँ । हाम्रो आन्दोलनको सफलतास्वरूप पद्मशमशेरले ००४ सालमा पद्मकन्या स्कुल खोलिदिए । यसैको विकसित रूप डिल्लीबजारस्थित अहिलेको कन्या स्कुल हो ।

स्कुल त खोलियो तर त्यहाँ प्राइमरी कक्षा मात्र चलाइन्थ्यो । सात कक्ष्ाासम्म त दिदी र मैले बर्मामै पढेका थियौँ । हामीलाई फेरि पढ्न समस्या भयो । पछि हामीलाई घरमै पढ्ने व्यवस्था मिलाइयो । मैले घरमै पढेर पनि टेस्ट परीक्षा पास गरेँ । यसरी मैले ००४ सालमा एसएलसी पनि पास गरेँ ।

साधना दिदी र म पढ्न लखनउ पुग्यौँ । त्यहाँ अमेरिकी मिसनरी 'इजावेला थोर्वन' कलेजमा हामी आइए भर्ना भयौँ । ००४ सालको आन्दोलनमा लागेर भेट भएदेखि नै पुष्पलालजीको मप्रति आकर्षण रहेछ । तर, मलाई त्यो कुरा थाहा थिएन । हुन त त्यस आन्दोलनमा पक्राउ परेर ब्यारेकमा १५ दिन हामी सँगै बसेका थियौँ । हातमा मसाल बोकेर हामी सँगै पनि हिँडेका थियौँ । त्यस आन्दोलनपछि उहाँ बनारस जानुभयो र नेपाली कांग्रेसको कार्यालयसचिव भएर काम गर्न थाल्नुभयो । म लखनउमा पढिरहेको वेला दुईपटक मलाई भेट्न आउनुभएको थियो । पढाइको सिलसिलामा म देशबाहिर पुगेकी हुनाले हाम्रो भेट हुन भने पाएन ।

**

कम्युनिस्ट पार्टीको स्थापनापछि पुष्पलालजी नेपालमा भूमिगत रूपमा आउनुभएको थियो । ००७ सालमा यता आउनुभएको वेला मलाई विवाहको प्रस्ताव राख्नुभयो । हामी दिदीबहिनीको विवाह गर्ने कुरा दिमागबाटै हटिसकेको थियो । मैले पुष्पलालजीलाई 'आफ्नो खुट्टामा उभिएपछि मात्रै विवाह गर्छु' भनिदिएँ ।

००९ सालमा पार्टीको काममा हामी भारत जानलाग्दा पुष्पलालजी नेपाल आउन लाग्नुभएको रहेछ । त्यसैवेला उहाँसँग रेलमा फेरि मेरो भेट भयो । त्यसवेला प्रजापरिषद्सँग मिलेर जनतान्त्रिक मोर्चा निर्माण गर्ने कुरा लिएर उहाँ नेपाल आउन लाग्नुभएको रहेछ । हामी भारतमा एक महिना प्रशिक्षित भयौँ ।

त्यहाँबाट फर्केपछि पुष्पलालजीले फेरि विवाहको प्रस्ताव दोहोर्‍याउनुभयो । म फेरि आपतमा परेँ । म आफ्नै खुट्टामा उभिन सक्ने भइसकेकी थिएँ । तर, घरमा कसैलाई पनि मैले पुष्पलालजीसँग विवाह गरोस् भन्ने चाहना थिएन । त्यसवेला नेवारमा पाँचथरे र ६ थरे भन्ने चलन थियो । पुष्पलालजी पाँचथरे र म ६ थरे पर्‍यौँ । हाम्रो जात पनि मिलेन । त्यसमाथि पनि पुष्पलालजीको परिवारमाथि गहिरो आर्थिक संकट थियो । उहाँको परिवारमाथि राजनीतिक रूपले पनि प्रशासनको आँखा परेको थियो । छोरीले दुःख पाउँछे भनेर परिवारले हाम्रो विवाह स्वीकार नगरेको हो । यसैबीच पुष्पलालजीको सबै सम्पत्ति सरकारले जफत पनि गर्‍यो । विवाहको कुरा चलेपछि हाम्रो घरमा पूरै विरोध भयो ।

साधना दिदीको मनमोहनजीसँग प्रेमसम्बन्ध थियो । तर, उहाँ बाहुन भएको र अरू कुरा पनि ठीकै भएकाले त्यति समस्या थिएन । उहाँहरू हाम्रो नै पहिला विवाह होस् भन्ने चाहनुहुन्थ्यो । पार्टीबाट 'जसरी पनि हामीले विवाह गर्नैपर्छ' भन्ने निर्णय आयो । म पनि विवाह गर्ने निर्णयमा पुगेँ । मेरो परिवारको स्वीकृति भने थिएन । विवाहमा पुष्पलालजीको सबै परिवार आएको थियो । मेरो परिवारबाट भने कोही पनि सहभागी भएन । त्यो ०१० साल माघ २ गतेको दिन थियो । मेरोभन्दा ८/९ महिनापछि साधना दिदीको मनमोहनजीसँग विजेश्वरीमा विवाह भयो । त्यसवेला बुबा, आमा सबै उपस्थित हुनुहुन्थ्यो ।

**

पुष्पलालजीको घरको आर्थिक अवस्था निकै कमजोर थियो । त्यसको असर मलाई पनि पर्ने नै भयो । विवाहभन्दा पहिले जस्तो म स्वतन्त्र रूपले राजनीतिमा लाग्न पाइनँ । बुहारी भइसकेपछि छुट्टै बोझ थाप्लोमा आइपर्दोरहेछ ।

०११ सालमा छोरी उषा जन्मिँदा नेपालमा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध थियो । पार्टी भूमिगत थियो र पुष्पलालजी पनि भूमिगत हुनुहुन्थ्यो । छोरीको हेरचाहले गर्दा पार्टीमा मेरो भूमिका बिस्तारै कम हुन थाल्यो । विवाहपछिको जीवन मलाई अनौठो लाग्दै गयो । एक किसिमको जीवनबाट अर्को कुनै संसारमा पुगेँछु भन्ने लाग्यो । पार्टीको मिटिङमा जाँदा परिवारबाट निकै आलोचना व्यहोर्नुपथ्र्यो । कतिपटक म भागेर पनि मिटिङमा गएकी छु । मलाई ससुराले भने माया गर्नुहुन्थ्यो । पार्टीको काममा सहयोग पनि गर्नुहुन्थ्यो । नत्र त परिवारसँग डराइडराई राजनीति गर्नुपथ्र्यो । मेरो राजनीति र पुष्पलालजीको भूमिगत राजनीतिलाई हाम्रो संयुक्त परिवारले त्यति रुचाएन । अन्ततः हामी छुट्टयिौँ । अब राजनीति मैले चटक्कै छाड्नुपर्‍यो । नचाहँदा पनि राजनीति छुट्यो ।

**

पुष्पलालजी साह्रै नम्र स्वभावको मान्छे हुनुहुन्थ्यो । घरमा मात्रै होइन, बाहिर पनि उहाँ उत्तिकै नम्र हुनुहुन्थ्यो । उहाँ नारी वर्गमाथि आदरभाव राख्नुहुन्थ्यो । हामी सगोलमा बस्दा स्वास्नीमानिसले अबेर खाना खाएको उहाँलाई मन पर्दैनथ्यो । त्यसको विरोधमा उहाँ सधैं बोल्नुहुन्थ्यो । घरमा सबै बुहारीले पढेका थिएनन् । उनीहरूलाई पनि पढ भन्नुहुन्थ्यो ।

त्यसवेला नेपालमा प्राथमिक शिक्षाअन्तर्गत शिक्षकलाई दिइनेे निर्मल स्कुलको तालिम खुल्यो । त्यो निर्मल तालिममा अमेरिकनहरूको पनि सहयोग थियो । नेपाल र अमेरिकाको संयुक्त लगानीमा त्यो तालिम सुरु गरिएको रहेछ । मलाई तालिम लिन वीरगन्ज पठाइयो । त्यसवेला पार्टीको काम पनि गर्नु पर्दैनथ्यो । वीरगन्ज पुगेपछि मैले पिंजडाबाट फुत्केको चराजस्तो स्वतन्त्र भएको अनुभव गरेँ ।

त्यताबाट फर्केर म इलाम गएँ । इलाम जाँदा पुष्पलालजी काठमाडौंमा हुनुहुन्नथ्यो । म गर्भवती पनि थिएँ । न हवाईजहाजको व्यवस्था थियो न त बसकै । वीरगन्ज र इलामको वातावरण धेरै फरक थियो । इलामबाट चाँडै र्फकनुपर्ने भएकोले मलाई अलिकति नमज्जा पनि लाग्यो । पुष्पलालजी पो मलाई लिन आउनुभएछ । हामी दुईजना मात्रै केही समयका लागि प्रकृतिसँगै हराएका थियौँ । र्फकंदा पनि हामी सँगै भयौँ । त्यो क्षण म कहिल्यै बिर्सन सक्दिनँ । त्यस्तो रमाइलो फेरि जीवनमा दोहोरिएन पनि ।

ससुरा पढेकी बुहारी भनेर मप्रति गर्व गर्नुहुन्थ्यो । साह्रै माया पनि गर्नुहुन्थ्यो । कहिलेकाहीँ उहाँ 'सहाना मलाई अंग्रेजी अलिअलि सिकाइदेऊन' भन्नुहुन्थ्यो । म पनि सिकाइदिन्थेँ ।

हामी छुट्टिएर बस्न थालेपछि पनि म ससुरालाई भेट्न हप्ताको एकपटक पुग्थेँ । जाँदा ससुरा हुक्का तान्दै बस्नुभएको हुन्थ्यो । म पुग्नासाथ सासूलाई बोलाउँदै 'ल यहाँ सहाना आइन्, लौ-लौ चकटी हालिदेऊ' भन्नुहुन्थ्यो । उहाँ मलाई एकदमै सम्मान गर्नुहुन्थ्यो ।

मेरी जेठानी हसिना भाउजू (सहिद गंगालालकी पत्नी) मलाई असाध्यै माया गर्नुहुन्थ्यो । मलाई सधैं पढ्न हौस्याउनुहुन्थ्यो ।

शिथिल पार्टी र पुष्पलाल

मैले त पार्टीको काम गर्न छोडिसकेकी थिएँ । पार्टीमाथिको बन्देज हटेको हुनाले ०१३ सालमा अर्धसरकारी जागिर खाएँ । आर्थिक कठिनाइका कारण घर चलाउन निकै गाह्रो थियो । ०१५ सालको चुनावमा पुष्पलालजी कम्युनिस्ट पार्टीबाट, गणेशमानजी कांग्रेस पार्टीबाट उठ्नुभएको थियो । पुष्पलालले चुनाव हार्नुभयो । ललितपुरबाट तुल्सीलाल अमात्यले कम्युनिस्ट पार्टीबाट चुनाव जित्नुभयो । ०१७ सालमा राजा महेन्द्रले गरेको फौजी काण्डपछि सबै पार्टीमाथि प्रतिबन्ध लाग्यो । त्यसपछि पार्टीको काम खुला रूपमा गर्न सम्भव थिएन । पुष्पलालजीसँग ०१७ सालपछि एक वर्षको दौरानमा ४/५ पटक मात्र भेट भएको थियो । पार्टीमाथि प्रतिबन्ध लागेपछि सबैतिर अस्तव्यस्त भयो ।

०१७ साल पुस १ गते बिहान । काठमाडौंको गणेशथान पुग्दा केही मान्छे आएर पुष्पलाललाई खासखुस कुरा गर्दै लिएर गए । मैले केही थाहा पाइनँ । पुष्पलालजीलाई साथीहरूले प्रशासनबाट लुकाउन लिएर गएका रहेछन् । त्यसपछि फेरि उहाँ भूमिगत बस्नुभयो । यसबीच २/३ पटक घरमा पनि आउनुभयो । घर आउनुभएको वेला एकपटक झन्डै पक्राउ पनि पर्नुभएको थियो ।

०१८ माघमा उहाँ भारत जानुभयो । म यतै व्यस्त भएँ । म महिनाको एकपटक पुष्पलालजीलाई भेट्न भारत पुग्थेँ । महिनामा ५/६ दिनमात्र सँगै बस्न पाइन्थ्यो । पुष्पलाललाई भेट्न जान्छे भनेर सरकारतर्फका मानिसमा चर्चा हुन्थ्यो । गुप्तचरहरू अघिपछि लाग्थे । यो क्रियाकलाप १५/१६ वर्ष रह्यो । भारतमा जाँदा अनेकौँ मान्छे भेट्न पनि आउँथे । बिपीलगायत अरू नेताहरूलाई पनि म भेट्न जान्थेँ । ०३३ सालमा जब राष्ट्रिय मेलमिलापको नीति लिएर बिपी नेपाल फर्के, त्यसवेला पुष्पलाललाई पनि नेपाल आउन दबाब दिइएको थियो । तर, उहाँ आउनुभएन ।

भारतमा पुष्पलालजीको बसाइ एकदमै दुःखी थियो । कोठा सुख्खा हुन्थ्यो । फोहोर पनि हुन्थ्यो । खाना पनि पर्याप्त हुँदैनथ्यो । म कहिलेकाहीँ उता पुगेको वेला कोठा सफा गरिदिन्थेँ । यता नेपाल फर्किने वेला १०/१५ दिनका लागि पुग्ने दाल-चामलको जोहो गरिदिएर आउँथेँ । कहिलेकाहीँ भारतका सिआइडी पुष्पलाललाई पैसा र अन्य सुविधा दिएर 'बिपी सानसौकतमा बसेका छन्, तिमी पनि उसैगरी बस' भनेर फकाउँथे । तर, उहाँले कहिल्यै पनि आफ्नो इमानमा सम्झौता गर्नुभएन ।

**

हाम्रो घरको आर्थिक अवस्था कहिल्यै सुधि्रएन । म शिक्षिका न थिएँ । धेरै वर्ष अध्यापन गरेँ । त्रिचन्द्र कलेज, पोखराको पृथ्वीनारायण क्याम्पसहरूमा लगातार पढाएँ । पद्मकन्या कलेजमा पनि १० वर्ष पढाएँ । मलाई त्यहाँबाट उँभो चढ्नुपर्छ भन्ने थिएन । यी सब भइरहेको वेला ०३२ सालको विद्यार्थी आन्दोलनलाई सघाएको आरोपमा त्यही वर्षको भदौमा मलाई जागिरबाट निष्कासित गरियो । मैले त्रिचन्द्र कलेजमा ०१८ सालदेखि पढाउन थालेकी थिएँ । मेरो जागिर पनि गएपछि त हाम्रो घरको अवस्था झनै नाजुक भयो । मैले जागिर छोड्दा त्रिविको आवासगृह पनि छोड्नुपरेको थियो । घर खाली नभएको कारणले छोराको साथीको घरमा गएर पनि बसियो । त्यसवेला आफन्तले पनि सहयोग गरेनन् । त्यसपछि मैले केही समय ट्युसन पढाएर घरको आर्थिक अवस्थाको भरथेग गरेँ ।

अन्तिम अवस्थामा पुष्पलाल

यहाँ बस्न दिक्क लागेर म बनारस लागेँ । पुष्पलालजीसँग पनि भेट्न म उता पुगेकी थिएँ । उहाँसँगै भेटघाटमा हामी आसाम, गुहाटी, लखनउ, दिल्ली आदि ठाउँ घुम्यौँ । त्यसपछि अचानक पुष्पलालजी बिरामी हुनुभयो । त्यसवेला पार्टीको स्थिति पनि राम्रो थिएन । उहाँ बिरामी भएको वेला हेर्न धेरै मानिस आए । भारतीय नेता चन्द्रशेखर पनि उहाँलाई हेर्न आए । बिस्तारै उहाँको अवस्था नाजुक भयो । मेरो जन्मदिन आउँदै थियो । भोलि बिहानै अस्पताल आउँदा पुष्पलालले 'ह्याप्पी बर्थडे सहाना' भन्नुभयो । मैले 'धन्यवाद' भनेँ । त्यसवेला मेरो आँखामा आँसु टिल्पिलाएको थियो । सायद त्यो आँसु गाला हुँदै तलतिर झर्‍यो ।

त्यसको एक हप्तापछि म बिहानै आइसियूमा पल्टिइरहेका पुष्पलाललाई भेट्न पुगेँ । उहाँको अनुहार फुंग उडेको जस्तो लाग्यो । म बेडनजिक पुग्दा उहाँका आँखा रसाएका थिए । उहाँ पीडाले हुँ-हुँ गरिरहनुभएको थियो । सास बढेको छ । अनुहार फुंग उडेको छ । मैले हेर्न सकिनँ । म पनि निकै रोएँ छु । केहीछिनपछि मलाई मात्र भित्र बोलाइयो । मलाई देख्नासाथ उहाँले अक्सिजनको मास्क झिक्नुभयो । मलाई हेर्दै स्वाँ-स्वाँको आवाजसाथ उहाँले भन्नुभयो, 'सहाना..ति..मीलाई..मैले दुःख मात्र दिएँ, ति..म्रो..निमित्त केही गर्न सकिनँ । अब... अगाडिका कामहरू पक्कै पनि...तिमीले गछ्र्यौ होला ।' सास धेरै बढ्यो, मैले हतारहतार अक्सिजन मास्क लगाइदिएँ । उहाँले बडो कष्टसँग बोलेको मैले हेर्न सकिनँ । त्यहीवेला गिरिजाप्रसादसँग ४/५ जना कांग्रेसका साथी उहाँलाई भेट्न आए । केहीबेरमा डाक्टरले 'हि इज नो मोर' भनेर घोषणा गरे । यो ०३५ साउन ७ गतेको कुरा थियो ।

त्यसै दिनदेखि म विधवा बनेँ । दागबत्ती दिन छो
रा उमेश आएका थिए । पुष्पलालजीको तेह्राँ दिनको काम सकेपछि अरू बनारसबाटै नेपाल फर्किए । म दिल्ली आएँ । दिल्लीको एक रातको बसाइपछि म नेपाल फर्किएँ । त्यसपछि म कहिल्यै फर्केर बनारस गइनँ ।

Subscribe to comments feed Comments (12 posted):

Kalpana Shrees on 03/12/2009 06:57:10
avatar
You sacrificed so much for the well being of nation but your senior leader K. P. Oli and his followers are going behind India to sell Nepal for their benefit.
Regret is this that your leader is Madhav Nepal and K. P. Oli who do have no honesty and feeling of shame.
Thumbs Up Thumbs Down
0
Hira Sharma on 01/12/2009 17:16:45
avatar
We proud with you
Thumbs Up Thumbs Down
0
Prabesh on 01/12/2009 15:14:00
avatar
अत्यन्तै मार्मिक जीवनकथा पढ्न पाइयो...एमाले फुटाएर माले बनाएदेखि मलाई सहाना प्रधान मनै पर्दैन थियो..तर यो उनको जीवनीले मलाई अत्यन्तै प्रभावित बनायो..
Thumbs Up Thumbs Down
0
Max Gurung(sontosh) on 01/12/2009 13:27:37
avatar
he is one of our legend
Thumbs Up Thumbs Down
0
Mohan Gajmer( Netherland,Holland) on 01/12/2009 13:17:08
avatar
Ahahaha this is the Real Life History,I like this History,So if Possible try to Supply other more same Histroy.Ok Thank to Nayapatrika n to Deepak Sapkota too.
Mohangajmer84@gamil.com
mohang084@hotmail.com
Thumbs Up Thumbs Down
0
keshar mani katuwal on 01/12/2009 12:54:32
avatar
mahila hunu ta sahana jasto tyagi hunu.jasle aruko khusiko langi afno sabai thok birse .yas bata nepalka sabai neta ra mahilale siknu parchha.
Thumbs Up Thumbs Down
0
samir shrestha,germany on 01/12/2009 12:20:28
avatar
bichara puspalal and sahana pradhan ji,yeti dukha paunu bhayeako rahichha hai ani je bhaye pani thulo sangharsa garnu bhayeako ma dhanyabad hajur ko family lai ,
Thumbs Up Thumbs Down
0
Balaram Thapa on 01/12/2009 11:28:11
avatar
यो दीपक सापकोटजीको आफ़्नै सिर्जना हो कि कुनै जीवनीबाट सारिएको हो ?
Thumbs Up Thumbs Down
0
kiran on 01/12/2009 10:08:56
avatar
oh she is g8 women no1 now realize ...
Thumbs Up Thumbs Down
0
rajendra on 01/12/2009 08:28:11
avatar
sahana jasthaeai
sabaei mahila bhaya nepal
no 1 huncha
Thumbs Up Thumbs Down
0
sumitrakunwar on 01/12/2009 08:26:18
avatar
no comments
but shana didi ko kurale jindakiko arko nam nai sangarsha rahi6.malai uhako siddhanta man par6.
Thumbs Up Thumbs Down
0
Gobinda on 01/12/2009 08:06:10
avatar
it is sorroful. Now all the leader learn from this.
Thumbs Up Thumbs Down
0
total: 12 | displaying: 1 - 12

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?