Newsletter
Email:
Home | सप्तरंग | योजना आयोग खारेज गरिदिए हुन्छ

योजना आयोग खारेज गरिदिए हुन्छ

Font size: Decrease font Enlarge font
image

जीवन कहिल्यै योजनाबद्ध तरिकाले नबाँचेका डा. पीताम्बर शर्मा योजना आयोगको उपाध्यक्ष भए, ठ्याक्कै एक सय नौ दिन । उनी आफूलाई त्यतिविधि महात्त्वाकांक्षा नभएको, स-साना कुरामा खुसी हुने र कुनै जटिल ग्रन्थी नभएको मान्छे हुँ, भन्छन् । उनलाई चिन्नेहरू पनि त्यसै भन्छन् ।

बीस वर्षमै भूगोलमा एमए गरेका हुन् पीताम्बरले । यति कम उमेरमा एमए पास गर्ने उनको योजना भने पनि लक्ष्य भने पनि महत्त्वाकांक्षा भने पनि पढाइ, पढाइ र मात्र पढाइ हुनुपर्छ । किनभने, लथालिंगे खालको मान्छेले यति राम्रोसित पढ्न सक्दैन । कि सक्छ ? 'विद्यार्थी जीवनमा त पढिने नै भइयो नि !' उनी भन्छन्, 'यसमा योजना/नयोजना भन्ने हुन्छ र ?'

पढ्ने क्रममै उनले वामपन्थी साहित्य पढे । घनघोर पढे । उनकै भाषामा 'भाम' पढे । मान्छेका निकृष्टतम् गुणबाट पँुजीवादको उत्पत्ति हुन्छ भने असल गुणबाट समाजवादको- वामपन्थी साहित्यको 'भाम' अध्ययनबाट उनले जानेबुझेकोे कुरो हो, यो । मानिस स्वभावैले लोभी-पापी छ, स्वार्थी छ भन्ने धारणालाई बजारमार्फत पँुजीवादले स्थापित गर्छ- उनले जानेबुझेको अर्काे कुरो । समाजवाद नयाँ-नयाँ जीवनमूल्य निर्माणका लागि अधिकांश समय संघर्ष गरिरहेको हुन्छ- उनले जानेबुझेको अर्काे एउटा कुरो । उनले जानेबुझेका कुरालाई यहाँ सूचीबद्ध गर्न खोज्नु मूर्खता हो । 'भाम' मूर्खता । किनभने, उनले धेरै जानेका छन्, धेरै बुझेका छन् ।

पहिलोपटक 'योजना'सँग उनको जम्काभेट भएको सन् १९६७मा हो । एमए पढ्दा रिजनल प्लानिङ -प्रादेशिक विकास) ऐच्छिक विषय लिएका थिए, उनले । चौथो योजनामा डा. हर्क गुरुङले ल्याएको अवधारणा हो- प्रादेशिक विकास । नेपालको आर्थिक र राजनीतिक विकासका लागि पूर्व-पश्चिम र उत्तर-दक्षिण प्रादेशिक आयामलाई मध्यनजर गरेर विकासको खाका कोरिनुपर्छ- यो अवधारणाको मूलमन्त्र यही थियो । विकासका निम्ति सबभन्दा पहिले चाहिने कुरा हो- सडक । सडकको अवधारणा डा. हर्क गुरुङकै हो । प्रादेशिक विकासमार्फत पूर्व-पश्चिम र उत्तर-दक्षिण जोड्ने सडकको परिकल्पना गरियो । योजनामा सडकले किन यति महत्त्व राख्छ ? 'किनभने, उनी भन्छन्, 'सडकले मान्छे र स्थानलाई जोड्छ । सडकका माध्यमले पहाडले तराईलाई दिन सक्छ, तराईले पहाडलाई दिन सक्छ । बन्दव्यापार, उद्योगधन्दाको विस्तार हुन्छ, जनसंख्याको नयाँ प्रकारको धु्रवीकरण हुन्छ । एक-अर्काको भौगोलिक प्रदेशको फाइदा एक-अर्काले लिन सक्छन् ।' प्रादेशिक विकासको सोचले आफूलाई गजबको ऊर्जा दिएको बताउँछन् उनी, 'आई वाज रिएल्ली एक्साइटेड -म एकदमै उत्साहित थिएँ) ।

एमए गरेपछि आफ्नै गृहजिल्ला पर्वतमा निर्मल लामाले खोलेको स्कुलमा हेडमास्टर भएर गए उनी- विनायोजना । तर, यी हेडसरले स्कुल पूर्णतः योजनाबद्ध तरिकाले सञ्चालन गरे । प्रादेशिक विकासका स्कोलर -विज्ञ) जो थिए । एक वर्षजति पढाएर त्यस स्कुललाई पछि नामी बन्नका लागि एउटा आधारभूमि प्रदान गरिदिए । जुँगाको रेखी पनि राम्ररी नबसेको हेडसरले त्यस स्कुलमा व्यवस्था भने राम्रो बसाइदिए ।

त्यसपछि बि्रटिस काउन्सिलको छात्रवृत्ति पाएर उनी स्कटल्यान्डको एडिनबरा विश्वविद्यालयमा पढ्न पुगे । डा. हर्क गुरुङको प्रादेशिक विकासको अवधारणले उनलाई यस्तो मोहनी लगाएको थियो कि एडिनबरामा उनले लेखेको थेसिस थियो- 'नेपालका सन्दर्भमा प्रादेशिक विकास र बहुउद्देश्यीय योजनाहरू ।' विनायोजना यसरी योजनासित फेरि जोडिए उनी । 'त्यस थेसिसमा,' उनी भन्छन्, 'मेक्सिको, टर्की र भारतका योजनाको अध्ययन गरेर नेपालको सन्दर्भमा बहुउद्देश्यीय योजना किन औचित्यपूर्ण हुन्छन्, त्यसबारे लेखेको छु ।'

स्कटल्यान्डबाट नेपाल र्फकेपछि तुरुन्तै काम पाएनन्, उनले । केही समय गाउँ गएर बसे । दुई/तीन महिनापछि सेडा, भवन विभाग -उनी मूलतः टाउनप्लानर थिए) र त्रिभुवन विश्वविद्यालयले बोलाए । कहिले मातैमात, कहिले पुर्पुरोमा हात भनेझैँ उनलाई जागिर दिनेहरूको लर्काे नै लाग्यो । डा. हर्क गुरुङले त्रिविमा पढाऊ भनेपछि आफ्ना गुरुको सल्लाह शिरोपर गर्दै उनी त्रिविमा पढाउन थाले । डा. गुरुङ योजना आयोगमा गएपछि त्रिविमा रिक्त भएको सो ठाउँमा नियुक्त भए उनी ।

सन् १९७२ देखि ७५ सम्म त्रिविमा पढाएपछि फुलब्राइटको छात्रवृत्ति पाएर उनी पिएचडी गर्न अमेरिका गए । यतिखेर भने उनले अमेरिकामा लामो समयसम्म बस्ने योजना बनाएका रहेछन् । तर, ५/६ महिनापछि नै उनलाई अमेरिका त्यति ठीक लागेन रे ! 'अब पढेर जाने काम छ भन्ने सोचेँ,' उनी सुनाउँछन् । सायद समाजवादी सोच ठीक ठान्ने पीताम्बरलाई पँुजीवादको उत्कर्षमा पुगेको देश अमेरिका ठीक लागेन । सहरी र प्रादेशिक सिद्धान्त मूल विषय लिएर पिएचडी गरेका उनले थेसिस भने ऊर्जामा लेखे । छात्रवृत्ति दिने संस्था आइआइई-इन्स्िटच्युट अफ इन्टरनेसनल एजुकेसन)लाई 'मेरो पिएचडी सकियो, नेपाल जान चाहन्छु, टिकट मिलाइदेऊ' भनेछन् । आइआइई छक्क पर्‍यो । अवसरहरूको खानीमा पुगेको एक गरिब देशको 'निमुखो' मान्छे आफ्नै देश र्फकन्छु भन्छ ! यो उनीहरूले कल्पनै गर्न सक्ने कुरो थिएन । यसले पिएचडी सकेको हो कि होइन, जाँच्न आएकी एक महिला अधिकारी उनलाई भेट्न आइछन् । पीताम्बरले थेसिस बुझाइसकेको थाहा पाएपछि उनले भनिछन्, 'तिमी अविकसित देशबाट आएको पहिलो मान्छे हौ, जो पिएचडी सकेपछि आफ्नै देश र्फकन चाहन्छ ।'

अमेरिकाका दुई चिज साह्रै मिस गर्छन् रे ! उनी । लाइब्रेरी र लेक्चर प्रोग्राम । नोम चम्स्की र मिल्टन पि|mडम्यानका लेक्चर सुनेका पीताम्बर भन्छन्, 'अमेरिकी विश्वविद्यालयमा गजबको बौद्धिक वातावरण हुन्छ ।'

तीन वर्षपछि अमेरिकाबाट र्फकेपछि उनले फेरि त्रिविमा पढाउन थाले । त्यसपछि, सन् १९८१ मा राष्ट्रिय जनसंख्या आयोगमा प्रमुख सल्लाहकार भएर गए । 'गतिलो टिम भएको चुस्त अफिस थियो जनसंख्या आयोग,' उनी सुनाउँछन् । -सरकारी कार्यालय चुस्त हुन्छ भन्ने कुरा पत्याउन नपाउने अधिकार सर्वसाधारणलाई छ- भोगाइका आधारमा ।) त, गतिलो टिम भएको चुस्त जनसंख्या आयोगले के-के तीर मारेछ त ? 'त्यहाँ आठ/नौ महिनामा धेरै काम गरियो,' उनी भन्छन्, 'नेपालको जनसंख्याको रणनीति बनाइयो । परिवार नियोजन, सहरीकरण, महिला सहभागिता, एनजिओमाथि धेरै अध्ययन गरियो ।' तर, उनको गतिलो टिमले नागरिकतालगायत विभिन्न विषयमा दिएका सुझाबलाई चाहिँ सरकारले लोप्पा खुवाइदिएछ ।

'त्यसपछि फेरि विश्वविद्यालय फर्किएँ,' उनी सम्झिन्छन् । विश्वविद्यालयले उनीमाथि कति सहृदयता देखाएको ? पटक-पटक स्वागतसहित आउन दिएको छ, अनि पटक-पटक भनेको वेलामा जान दिएको छ ! उनका लागि विश्वविद्यालय त मामाघरजस्तो पो भएको रहेछ त गाँठे ! 'त्रिविलाई धेरैले गाली गर्छन्,' उनी भन्छन्,' तर म त्रिविसँग सदा अनुगृहित छु । यसले मलाई दियो मात्रै, तर मसँग केही मागेन ।'

सन् १९८९मा इसिमोडमा गए उनी । एक वर्ष काम गर्ने योजना बनाएका उनी त्यहाँ १२ वर्षसम्म रहे । 'गैरकृषि रोजगारी र सामुदायिक विकासका लागि पर्वतीय पर्यटनमाथि थुप्रै अध्ययन/अनुसन्धान गरियो त्यहाँ,' उनी भन्छन् ।

सरकारबाट तेस्रो खेप बोलावट आएपछि योजना आयोग पुगेका हुन्, उनी । यसअघि दुईपटकसम्म फरक-फरक सरकारका अनुरोधलाई उनले टारिदिएका थिए । १०९ दिनसम्म योजना आयोगको उपाध्यक्ष भएर काम गरे । आफ्ना अनुभवका आधारमा योजना आयोगको काम गर्ने तौर-तरिकामाथि केही प्रकाश पार्न अनुरोध गर्दा यी भूपू उपाध्यक्षका मुखबाट निक्लन्छ यस्तो कटु अभिव्यक्ति- 'योजना आयोग जुन रूपमा छ, त्यसको कुनै औचित्य छैन । खारेज गरिदिए हुन्छ ।' त्यसो त, योजना आयोगको खारेजीको माग धेरै पहिलेदेखि नै गरिँदै आएको हो ।

उनी आफूले बीचैमा योजना आयोग छाड्नुका कारण यसरी बताउँछन्, 'धेरै उत्साहित भएर गएको थिएँ, म । यसलाई यौटा थिंक ट्यांक बनाउने भनेर गएको थिएँ । तर, योजनाले राजनीति डोर्‍याउने होइन, राजनीतिले योजना डोर्‍याउँदोरहेछ ।' गतिलो टिम नभएको र राजनीतिले साथ नदिएका कारण योजना आयोग छाडेका उनी भन्छन्, 'धेरै अपेक्षा लिएर जानु नै मेरो दोष थियो । पीताम्बर मूर्ख हो पनि भने साथीहरूले ।'

योजना आयोग विज्ञहरू बस्ने ठाउँ हुनुपर्ने हो । तथ्यमा आधारित योजना बनाउने र सरकारलाई सल्लाह दिने यसको काम हुनुपर्ने हो । तर, डाक्टरसा'पका अनुसार त्यहाँ बौद्धिक जनशक्ति नै छैनन् ।

'नेपालमा योजना कसैलाई चाहिएकै रहेनछ,' उनी भन्छन् । अनि कसलाई चाहिएको रहेछ त योजना ? 'योजना त दातृसंस्थालाई चाहिएको रहेछ,' कुनै सत्य उद्घाटित गरेझैँ भन्छन् उनी, 'दातृसंस्थालाई त काम देखाउनु छ । त्यसैले उनीहरूलाई योजना चाहिन्छ ।'

उनका अनुसार योजना आयोग देखाउने दाँत हो भने अर्थ मन्त्रालय चपाउने दाँत । भन्छन्, 'योजना आयोग बलियो होस् भन्ने चाहँदैन अर्थ मन्त्रालय । माफिया जगतमा एउटा भनाइ प्रचलित छ- आई विल मेक यु ए प्रपोजल हि्वच यु क्यान नट् रिफ्युज -म यौटा प्रस्ताव गर्छु जसलाई तिमी अस्वीकार गर्न सक्दैनौ) । हो, अर्थ मन्त्रालय योजना आयोगलाई यस्तै व्यवहार गरिरहेको छ । योजना आयोगको काम अर्थ मन्त्रालयबाट आएका योजनालाई छाप हान्ने मात्रै भएको छ ।'

योजना आयोग विज्ञ र प्राविधिकका उपस्थितिका दृष्टिले कतिसम्म हरितन्नम छ भने यहाँ एकजना सडक इन्जिनियर छैन, न एकजना जलस्रोत इन्जिनियर नै छ । केहीलाई जागिर खाने थलो मात्रै भएको छ, यो । कुनै पनि सरकारले यसको महत्त्व बुझ्न नसकेको गुनासो गर्छन् उनी । भन्छन्, 'समाजवादी सरकारले समेत यसको महत्त्व बुझ्न सकेन ।'

संक्रमणकाललाई दोष दिएर गर्न सकिने कामहरू नगरिएको उनको बुझाइ छ । भन्छन्, 'संक्रमणकालमा यस्तै हो भनेर टारिने गरेको छ । यसलाई अकर्मण्यताको निहुँ बनाइएको छ । यसलाई दु्रतगतिमा काम गरिने समयका रूपमा हेरिनुपथ्र्याे ।'

योजनाले श्रम र पँुजीका हकमा कति काम गर्ने ? सो राम्ररी निक्र्याेल गर्नुपर्ने बताउँछन्, उनी । 'योजना पँुजीको पक्षमा भयो भने श्रम पीडित हुन्छ । श्रमका पक्षमा मात्रै भयो भने पँुजीबाट राज्यले लिनसक्ने चिज लिन सक्दैन । श्रमका पक्षमा पुँजीको अधिकतम प्रयोग गर्न सक्नुपर्छ,' उनी भन्छन् । उनका अनुसार विकासका लागि ठूलो अनुशासन चाहिन्छ । भन्छन्, 'क्रान्ति गर्नुभन्दा यस अनुशासनमा बस्न गाह्रो हुन्छ ।'

स्वतन्त्र भएर डा. पीताम्बर शर्माले योजना बनाउन पाए भने के-के गर्दा हुन् या कस्तो-कस्तो योजना बनाउँदा हुन् त ? 'राष्ट्रिय योजना आयोगको पुनर्संरचना गरेर यसलाई यौटा थिंक ट्यांक बनाउने थिएँ,' यसप्रकार छ ः उनको योजनासूची, 'विपन्नलाई दिइने सबभन्दा ठूलो हतियार शिक्षा र स्वास्थ्यमा ध्यान दिने थिएँ । न्यूनतम ऊर्जा योजना ल्याउने थिएँ । नयाँ-नयाँ पर्यटन क्षेत्र खोल्ने, निजी क्षेत्रसँग सरकारको सहकार्य बढाउने, विप्रेसनमा मात्रै आश्रति नभएर देशभित्रै व्यापक रोजगारी प्रदान गर्ने, भौगोलिक क्षेत्रका प्राकृतिक विशेषतालाई प्रतिस्पर्धात्मक र तुलनात्मक लाभ हुनेगरी प्रयोग गर्ने योजना बनाउने थिएँ होला ।'

नेपाली जनजीवन योजनामा चल्दैन । कति पढ्ने, कुन उमेरमा विवाह गर्ने, कति र कसरी कमाउने- हामीसँग केही योजना हुँदैन । योजना-संस्कृति नभएकाले त हामी यति लथालिंग भएका होइनौँ ? डाक्टरसा'बका अनुसार सबै गरिब देशको समस्या हो, यो । 'विपन्न देशका बासिन्दा योजनाविहीन त हुने नै भए,' उनी भन्छन्, 'विपन्न देश स्वयंलाई योजना बनाउन गाह्रो हुन्छ । योजनाका लागि भोलिको विश्वास हुनुपर्छ ।'

Subscribe to comments feed Comments (4 posted):

Krishna Bhusal (Flam) on 22/11/2009 12:20:26
avatar
Pitamber kaka yo desh satilae sarapa ko ho . Yanha sansarka kharab, pagal,selfish manche haruko samuha 6 jaslae rajniti garchan but u r different
Thumbs Up Thumbs Down
0
parbat on 21/11/2009 06:40:34
avatar
u r really wise n educated from inner n outer side but our uneducated leader n handicapped government cant recognize like u person our country really needs u government thinking this commission a empty pot which should used to beg with foreign country this is our main biggest unfortunate.so sad ffffff
Thumbs Up Thumbs Down
0
pandey suresh on 21/11/2009 05:27:22
avatar
ramro manchee haru ko kahilai pani nepal ma thauu chaina bhannee yo 1uta udaharan hoooo,esta dr haru lai aggdai bahdera desh banauna lai prerit garnu ko satoo abamulyan garincha.....hamikaha ramramanchee nai chinann bhanee kadapi hoina tara sahayog garidaina.
suresh australia
Thumbs Up Thumbs Down
0
Durga Prasad Sharma on 21/11/2009 03:29:16
avatar
Dr . Pitamabar lai ta kam na kaj ma hasi rahne Hisila namki Jantu ra tesko Baburam le kasari chinna sakera , Samajbadi bataune Maubadi namka Khaubadile Nata gota Yojan aayog ma hale , hisila ki didi , Salam chha Dr saplai jasle Testa bujruklai terenan ra rajinama thokidiye
Thumbs Up Thumbs Down
1
total: 4 | displaying: 1 - 4

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
4.67
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?