योजना आयोग खारेज गरिदिए हुन्छ
जीवन कहिल्यै योजनाबद्ध तरिकाले नबाँचेका डा. पीताम्बर शर्मा योजना आयोगको उपाध्यक्ष भए, ठ्याक्कै एक सय नौ दिन । उनी आफूलाई त्यतिविधि महात्त्वाकांक्षा नभएको, स-साना कुरामा खुसी हुने र कुनै जटिल ग्रन्थी नभएको मान्छे हुँ, भन्छन् । उनलाई चिन्नेहरू पनि त्यसै भन्छन् । बीस वर्षमै भूगोलमा एमए गरेका हुन् पीताम्बरले । यति कम उमेरमा एमए पास गर्ने उनको योजना भने पनि लक्ष्य भने पनि महत्त्वाकांक्षा भने पनि पढाइ, पढाइ र मात्र पढाइ हुनुपर्छ । किनभने, लथालिंगे खालको मान्छेले यति राम्रोसित पढ्न सक्दैन । कि सक्छ ? 'विद्यार्थी जीवनमा त पढिने नै भइयो नि !' उनी भन्छन्, 'यसमा योजना/नयोजना भन्ने हुन्छ र ?' पढ्ने क्रममै उनले वामपन्थी साहित्य पढे । घनघोर पढे । उनकै भाषामा 'भाम' पढे । मान्छेका निकृष्टतम् गुणबाट पँुजीवादको उत्पत्ति हुन्छ भने असल गुणबाट समाजवादको- वामपन्थी साहित्यको 'भाम' अध्ययनबाट उनले जानेबुझेकोे कुरो हो, यो । मानिस स्वभावैले लोभी-पापी छ, स्वार्थी छ भन्ने धारणालाई बजारमार्फत पँुजीवादले स्थापित गर्छ- उनले जानेबुझेको अर्काे कुरो । समाजवाद नयाँ-नयाँ जीवनमूल्य निर्माणका लागि अधिकांश समय संघर्ष गरिरहेको हुन्छ- उनले जानेबुझेको अर्काे एउटा कुरो । उनले जानेबुझेका कुरालाई यहाँ सूचीबद्ध गर्न खोज्नु मूर्खता हो । 'भाम' मूर्खता । किनभने, उनले धेरै जानेका छन्, धेरै बुझेका छन् । पहिलोपटक 'योजना'सँग उनको जम्काभेट भएको सन् १९६७मा हो । एमए पढ्दा रिजनल प्लानिङ -प्रादेशिक विकास) ऐच्छिक विषय लिएका थिए, उनले । चौथो योजनामा डा. हर्क गुरुङले ल्याएको अवधारणा हो- प्रादेशिक विकास । नेपालको आर्थिक र राजनीतिक विकासका लागि पूर्व-पश्चिम र उत्तर-दक्षिण प्रादेशिक आयामलाई मध्यनजर गरेर विकासको खाका कोरिनुपर्छ- यो अवधारणाको मूलमन्त्र यही थियो । विकासका निम्ति सबभन्दा पहिले चाहिने कुरा हो- सडक । सडकको अवधारणा डा. हर्क गुरुङकै हो । प्रादेशिक विकासमार्फत पूर्व-पश्चिम र उत्तर-दक्षिण जोड्ने सडकको परिकल्पना गरियो । योजनामा सडकले किन यति महत्त्व राख्छ ? 'किनभने, उनी भन्छन्, 'सडकले मान्छे र स्थानलाई जोड्छ । सडकका माध्यमले पहाडले तराईलाई दिन सक्छ, तराईले पहाडलाई दिन सक्छ । बन्दव्यापार, उद्योगधन्दाको विस्तार हुन्छ, जनसंख्याको नयाँ प्रकारको धु्रवीकरण हुन्छ । एक-अर्काको भौगोलिक प्रदेशको फाइदा एक-अर्काले लिन सक्छन् ।' प्रादेशिक विकासको सोचले आफूलाई गजबको ऊर्जा दिएको बताउँछन् उनी, 'आई वाज रिएल्ली एक्साइटेड -म एकदमै उत्साहित थिएँ) । एमए गरेपछि आफ्नै गृहजिल्ला पर्वतमा निर्मल लामाले खोलेको स्कुलमा हेडमास्टर भएर गए उनी- विनायोजना । तर, यी हेडसरले स्कुल पूर्णतः योजनाबद्ध तरिकाले सञ्चालन गरे । प्रादेशिक विकासका स्कोलर -विज्ञ) जो थिए । एक वर्षजति पढाएर त्यस स्कुललाई पछि नामी बन्नका लागि एउटा आधारभूमि प्रदान गरिदिए । जुँगाको रेखी पनि राम्ररी नबसेको हेडसरले त्यस स्कुलमा व्यवस्था भने राम्रो बसाइदिए । त्यसपछि बि्रटिस काउन्सिलको छात्रवृत्ति पाएर उनी स्कटल्यान्डको एडिनबरा विश्वविद्यालयमा पढ्न पुगे । डा. हर्क गुरुङको प्रादेशिक विकासको अवधारणले उनलाई यस्तो मोहनी लगाएको थियो कि एडिनबरामा उनले लेखेको थेसिस थियो- 'नेपालका सन्दर्भमा प्रादेशिक विकास र बहुउद्देश्यीय योजनाहरू ।' विनायोजना यसरी योजनासित फेरि जोडिए उनी । 'त्यस थेसिसमा,' उनी भन्छन्, 'मेक्सिको, टर्की र भारतका योजनाको अध्ययन गरेर नेपालको सन्दर्भमा बहुउद्देश्यीय योजना किन औचित्यपूर्ण हुन्छन्, त्यसबारे लेखेको छु ।' स्कटल्यान्डबाट नेपाल र्फकेपछि तुरुन्तै काम पाएनन्, उनले । केही समय गाउँ गएर बसे । दुई/तीन महिनापछि सेडा, भवन विभाग -उनी मूलतः टाउनप्लानर थिए) र त्रिभुवन विश्वविद्यालयले बोलाए । कहिले मातैमात, कहिले पुर्पुरोमा हात भनेझैँ उनलाई जागिर दिनेहरूको लर्काे नै लाग्यो । डा. हर्क गुरुङले त्रिविमा पढाऊ भनेपछि आफ्ना गुरुको सल्लाह शिरोपर गर्दै उनी त्रिविमा पढाउन थाले । डा. गुरुङ योजना आयोगमा गएपछि त्रिविमा रिक्त भएको सो ठाउँमा नियुक्त भए उनी । सन् १९७२ देखि ७५ सम्म त्रिविमा पढाएपछि फुलब्राइटको छात्रवृत्ति पाएर उनी पिएचडी गर्न अमेरिका गए । यतिखेर भने उनले अमेरिकामा लामो समयसम्म बस्ने योजना बनाएका रहेछन् । तर, ५/६ महिनापछि नै उनलाई अमेरिका त्यति ठीक लागेन रे ! 'अब पढेर जाने काम छ भन्ने सोचेँ,' उनी सुनाउँछन् । सायद समाजवादी सोच ठीक ठान्ने पीताम्बरलाई पँुजीवादको उत्कर्षमा पुगेको देश अमेरिका ठीक लागेन । सहरी र प्रादेशिक सिद्धान्त मूल विषय लिएर पिएचडी गरेका उनले थेसिस भने ऊर्जामा लेखे । छात्रवृत्ति दिने संस्था आइआइई-इन्स्िटच्युट अफ इन्टरनेसनल एजुकेसन)लाई 'मेरो पिएचडी सकियो, नेपाल जान चाहन्छु, टिकट मिलाइदेऊ' भनेछन् । आइआइई छक्क पर्यो । अवसरहरूको खानीमा पुगेको एक गरिब देशको 'निमुखो' मान्छे आफ्नै देश र्फकन्छु भन्छ ! यो उनीहरूले कल्पनै गर्न सक्ने कुरो थिएन । यसले पिएचडी सकेको हो कि होइन, जाँच्न आएकी एक महिला अधिकारी उनलाई भेट्न आइछन् । पीताम्बरले थेसिस बुझाइसकेको थाहा पाएपछि उनले भनिछन्, 'तिमी अविकसित देशबाट आएको पहिलो मान्छे हौ, जो पिएचडी सकेपछि आफ्नै देश र्फकन चाहन्छ ।' अमेरिकाका दुई चिज साह्रै मिस गर्छन् रे ! उनी । लाइब्रेरी र लेक्चर प्रोग्राम । नोम चम्स्की र मिल्टन पि|mडम्यानका लेक्चर सुनेका पीताम्बर भन्छन्, 'अमेरिकी विश्वविद्यालयमा गजबको बौद्धिक वातावरण हुन्छ ।' तीन वर्षपछि अमेरिकाबाट र्फकेपछि उनले फेरि त्रिविमा पढाउन थाले । त्यसपछि, सन् १९८१ मा राष्ट्रिय जनसंख्या आयोगमा प्रमुख सल्लाहकार भएर गए । 'गतिलो टिम भएको चुस्त अफिस थियो जनसंख्या आयोग,' उनी सुनाउँछन् । -सरकारी कार्यालय चुस्त हुन्छ भन्ने कुरा पत्याउन नपाउने अधिकार सर्वसाधारणलाई छ- भोगाइका आधारमा ।) त, गतिलो टिम भएको चुस्त जनसंख्या आयोगले के-के तीर मारेछ त ? 'त्यहाँ आठ/नौ महिनामा धेरै काम गरियो,' उनी भन्छन्, 'नेपालको जनसंख्याको रणनीति बनाइयो । परिवार नियोजन, सहरीकरण, महिला सहभागिता, एनजिओमाथि धेरै अध्ययन गरियो ।' तर, उनको गतिलो टिमले नागरिकतालगायत विभिन्न विषयमा दिएका सुझाबलाई चाहिँ सरकारले लोप्पा खुवाइदिएछ । 'त्यसपछि फेरि विश्वविद्यालय फर्किएँ,' उनी सम्झिन्छन् । विश्वविद्यालयले उनीमाथि कति सहृदयता देखाएको ? पटक-पटक स्वागतसहित आउन दिएको छ, अनि पटक-पटक भनेको वेलामा जान दिएको छ ! उनका लागि विश्वविद्यालय त मामाघरजस्तो पो भएको रहेछ त गाँठे ! 'त्रिविलाई धेरैले गाली गर्छन्,' उनी भन्छन्,' तर म त्रिविसँग सदा अनुगृहित छु । यसले मलाई दियो मात्रै, तर मसँग केही मागेन ।' सन् १९८९मा इसिमोडमा गए उनी । एक वर्ष काम गर्ने योजना बनाएका उनी त्यहाँ १२ वर्षसम्म रहे । 'गैरकृषि रोजगारी र सामुदायिक विकासका लागि पर्वतीय पर्यटनमाथि थुप्रै अध्ययन/अनुसन्धान गरियो त्यहाँ,' उनी भन्छन् । सरकारबाट तेस्रो खेप बोलावट आएपछि योजना आयोग पुगेका हुन्, उनी । यसअघि दुईपटकसम्म फरक-फरक सरकारका अनुरोधलाई उनले टारिदिएका थिए । १०९ दिनसम्म योजना आयोगको उपाध्यक्ष भएर काम गरे । आफ्ना अनुभवका आधारमा योजना आयोगको काम गर्ने तौर-तरिकामाथि केही प्रकाश पार्न अनुरोध गर्दा यी भूपू उपाध्यक्षका मुखबाट निक्लन्छ यस्तो कटु अभिव्यक्ति- 'योजना आयोग जुन रूपमा छ, त्यसको कुनै औचित्य छैन । खारेज गरिदिए हुन्छ ।' त्यसो त, योजना आयोगको खारेजीको माग धेरै पहिलेदेखि नै गरिँदै आएको हो । उनी आफूले बीचैमा योजना आयोग छाड्नुका कारण यसरी बताउँछन्, 'धेरै उत्साहित भएर गएको थिएँ, म । यसलाई यौटा थिंक ट्यांक बनाउने भनेर गएको थिएँ । तर, योजनाले राजनीति डोर्याउने होइन, राजनीतिले योजना डोर्याउँदोरहेछ ।' गतिलो टिम नभएको र राजनीतिले साथ नदिएका कारण योजना आयोग छाडेका उनी भन्छन्, 'धेरै अपेक्षा लिएर जानु नै मेरो दोष थियो । पीताम्बर मूर्ख हो पनि भने साथीहरूले ।' योजना आयोग विज्ञहरू बस्ने ठाउँ हुनुपर्ने हो । तथ्यमा आधारित योजना बनाउने र सरकारलाई सल्लाह दिने यसको काम हुनुपर्ने हो । तर, डाक्टरसा'पका अनुसार त्यहाँ बौद्धिक जनशक्ति नै छैनन् । 'नेपालमा योजना कसैलाई चाहिएकै रहेनछ,' उनी भन्छन् । अनि कसलाई चाहिएको रहेछ त योजना ? 'योजना त दातृसंस्थालाई चाहिएको रहेछ,' कुनै सत्य उद्घाटित गरेझैँ भन्छन् उनी, 'दातृसंस्थालाई त काम देखाउनु छ । त्यसैले उनीहरूलाई योजना चाहिन्छ ।' उनका अनुसार योजना आयोग देखाउने दाँत हो भने अर्थ मन्त्रालय चपाउने दाँत । भन्छन्, 'योजना आयोग बलियो होस् भन्ने चाहँदैन अर्थ मन्त्रालय । माफिया जगतमा एउटा भनाइ प्रचलित छ- आई विल मेक यु ए प्रपोजल हि्वच यु क्यान नट् रिफ्युज -म यौटा प्रस्ताव गर्छु जसलाई तिमी अस्वीकार गर्न सक्दैनौ) । हो, अर्थ मन्त्रालय योजना आयोगलाई यस्तै व्यवहार गरिरहेको छ । योजना आयोगको काम अर्थ मन्त्रालयबाट आएका योजनालाई छाप हान्ने मात्रै भएको छ ।' योजना आयोग विज्ञ र प्राविधिकका उपस्थितिका दृष्टिले कतिसम्म हरितन्नम छ भने यहाँ एकजना सडक इन्जिनियर छैन, न एकजना जलस्रोत इन्जिनियर नै छ । केहीलाई जागिर खाने थलो मात्रै भएको छ, यो । कुनै पनि सरकारले यसको महत्त्व बुझ्न नसकेको गुनासो गर्छन् उनी । भन्छन्, 'समाजवादी सरकारले समेत यसको महत्त्व बुझ्न सकेन ।' संक्रमणकाललाई दोष दिएर गर्न सकिने कामहरू नगरिएको उनको बुझाइ छ । भन्छन्, 'संक्रमणकालमा यस्तै हो भनेर टारिने गरेको छ । यसलाई अकर्मण्यताको निहुँ बनाइएको छ । यसलाई दु्रतगतिमा काम गरिने समयका रूपमा हेरिनुपथ्र्याे ।' योजनाले श्रम र पँुजीका हकमा कति काम गर्ने ? सो राम्ररी निक्र्याेल गर्नुपर्ने बताउँछन्, उनी । 'योजना पँुजीको पक्षमा भयो भने श्रम पीडित हुन्छ । श्रमका पक्षमा मात्रै भयो भने पँुजीबाट राज्यले लिनसक्ने चिज लिन सक्दैन । श्रमका पक्षमा पुँजीको अधिकतम प्रयोग गर्न सक्नुपर्छ,' उनी भन्छन् । उनका अनुसार विकासका लागि ठूलो अनुशासन चाहिन्छ । भन्छन्, 'क्रान्ति गर्नुभन्दा यस अनुशासनमा बस्न गाह्रो हुन्छ ।' स्वतन्त्र भएर डा. पीताम्बर शर्माले योजना बनाउन पाए भने के-के गर्दा हुन् या कस्तो-कस्तो योजना बनाउँदा हुन् त ? 'राष्ट्रिय योजना आयोगको पुनर्संरचना गरेर यसलाई यौटा थिंक ट्यांक बनाउने थिएँ,' यसप्रकार छ ः उनको योजनासूची, 'विपन्नलाई दिइने सबभन्दा ठूलो हतियार शिक्षा र स्वास्थ्यमा ध्यान दिने थिएँ । न्यूनतम ऊर्जा योजना ल्याउने थिएँ । नयाँ-नयाँ पर्यटन क्षेत्र खोल्ने, निजी क्षेत्रसँग सरकारको सहकार्य बढाउने, विप्रेसनमा मात्रै आश्रति नभएर देशभित्रै व्यापक रोजगारी प्रदान गर्ने, भौगोलिक क्षेत्रका प्राकृतिक विशेषतालाई प्रतिस्पर्धात्मक र तुलनात्मक लाभ हुनेगरी प्रयोग गर्ने योजना बनाउने थिएँ होला ।' नेपाली जनजीवन योजनामा चल्दैन । कति पढ्ने, कुन उमेरमा विवाह गर्ने, कति र कसरी कमाउने- हामीसँग केही योजना हुँदैन । योजना-संस्कृति नभएकाले त हामी यति लथालिंग भएका होइनौँ ? डाक्टरसा'बका अनुसार सबै गरिब देशको समस्या हो, यो । 'विपन्न देशका बासिन्दा योजनाविहीन त हुने नै भए,' उनी भन्छन्, 'विपन्न देश स्वयंलाई योजना बनाउन गाह्रो हुन्छ । योजनाका लागि भोलिको विश्वास हुनुपर्छ ।'



del.icio.us
Digg
suresh australia
Post your comment