नेपाली गाउँमा जापानी जाँगर
'ओहायो गोजाइमासु !' पातिचौर बजारमा उनी गाडीबाट जब ओर्लंदै थिइन्, स्थानीय बासिन्दा सडकमै आएर स्वागत गरे, 'ओकासान, ओहायो गोजाइमासु !' जापानको नागासाकी सहरबाट पर्वतको बाजुङ गाउँमा आइपुगेकी सचिको मितो बाजुङेहरूको न्यानो स्वागत पाएर खुसीले गद्गद् भइन् । आउँदा-जाँदा उनले पनि फाट्टफुट्ट नेपाली बोल्न सिकिसकेकी छिन्, 'नमस्ते, नमस्ते ! खुसी लाग्यो !' पातिचौर बजारमा उनको यो तेस्रो पाइला हो । पहिलोपटक सन् २००५ मा स्थानीय खड्ग केसीसँग साइनो जोड्दै उनी बाजुङ आइपुगेकी थिइन् । सहयोगी हातहरू फैलाउँदै सन् २००७ मा दोस्रोपटक उनले त्यहीँको सरस्वती निम्नमाध्यमिक विद्यालयको प्रांगण टेकिन् । र, आफ्नो सहयोग-अभियानलाई निरन्तरता दिन यसपालि फेरि उनी बाजुङ आइपुगिन् । बाजुङको आँगन टेक्न आइपुग्दा उनी उस्तै हँसिली, उस्तै फुर्तिली र उस्तै उत्साही देखिइन् । उमेरले चार बीस नाघ्न अब चार हिउँद मात्रै पर्खेर बसेको छ, तर बाजुङका स्कुले विद्यार्थीलाई सहयोग गर्ने उनको जाँगर भने झन्भन्दा झन् बैँसालु हुँदै छ । ** िमतो जापानको नागासाकी सहरमा बस्छिन् । बाल्यकाल त उनको जापानी उपनिवेशअन्तर्गतको कोरियामा बितेको थियो, त्यहाँ उनका पिता जापानको सरकारी कर्मचारी थिए । उनले त्यहीँ पढिन् । पछि जापानमै उनले डिपार्टमेन्टल स्टोरमा काम गरिन्, लामो समय । 'जापानमा पनि त्यतिवेला महिलाले घर-व्यवहारकै काम गर्नुपर्छ भन्ने चलन बलियो थियो,' मितोले आफ्नो विगत सम्झँदै भनिन्, 'मैले भने त्यसवेलादेखि नै घरबाहिरको काम गर्न थालेँ ।' जापानमा 'केही न केही काम त गर्नैपर्छ' भन्ने संस्कृति छ । नेपालमा जस्तो बसिखानेलाई त्यहाँ सम्मान गरिँदैन । मितोले पनि जीवन-गुजाराका लागि लामो समय काम गरिन् । केही न केही काम गरिरहने उनको त्यो चाहना र प्यास अझै पनि उस्तै छ । 'नेपालमा मेरो उमेरका बूढाबूढीहरू काम गर्न सक्नुहुन्न,' उनले अझ उत्साही स्वरमा भनिन्, 'म त उमेर ढल्कँदै गए पनि यहाँका विद्यार्थीलाई सहयोग गर्ने काममा खटिइरहन चाहन्छु । यसरी सहयोग गरिरहँदा नै मलाई खुसी लाग्छ ।' साढे ६ दशकअघि अणुबमले ध्वस्त पारेको नागासाकी सहर मितोजस्तै जाँगरिला मान्छेको सीपले अहिले सुन्दर र समृद्ध बनेको छ । कहाँको त्यो सुविधासम्पन्न देश जापान, कहाँ यो नेपालको पहाडी गाउँ बाजुङ ! पौने शतक जीवन काटिसकेकी यी जापानी बूढीआमा बाजुङे विद्यार्थीलाई सहयोग गरिरहन अहिले पनि उस्तै उत्सुक छिन् । पहिलोपटक बाजुङ आउँदा उनी स्थानीय सरस्वती प्राथमिक विद्यालय पुगेकी थिइन्, जसको भौतिक र शैक्षिक अवस्था दयनीय भन्न मिल्ने खालको थियो । जापान पुगेर उनले सोही विद्यालयमा पुस्तकालय स्थापना गर्नका लागि एक लाख जापानी येन पठाइदिइन् । २१ अपि्रल २००७ मा विद्यालयले 'नेपाल-जापान मैत्री पुस्तकालय' स्थापना गर्यो । सोही वर्ष डिसेम्बरमा उनी आफैं विद्यालयमा आइन् र थप एक लाख येन रकम हस्तान्तरण गरिन् । त्यही वेलादेखि उनले प्रत्येक दुई वर्षमा बाजुङ आइरहने र सक्दो सहयोग गरिरहने वचन दिइन् । यसपालि उनी एक लाख रुपैयाँ नगदसहित तीन थान कम्युटर, एक थान पि्रन्टर, खेलकुद सामग्री, स्टेसनरी सामग्री लिएर बाजुङ आइपुगेकी हुन् । यस्तो सहयोगका लागि मितो आमालाई केले उत्प्रेरित गरिरहेको छ ? 'म त्यति धनी मान्छे त होइन,' उनले भनिन्, 'खड्ग केसीसँगको चिनजान र भेटघाटपछि नेपाल आउने-जाने मेसो मिल्यो । यसमा उहाँकै मुख्य योगदान छ । पछि आउँदै-जाँदै गर्दा सहयोग गर्न मन लाग्यो । अब त सहयोगीभन्दा पनि सहयात्री भएर सहयोग र सम्बन्ध राखिराख्न मन छ ।' नागासाकी विश्वविद्यालयमा पिएचडी अध्ययनका लागि पुगेका स्थानीय खड्ग केसीसँगको उनको सम्बन्ध अब भने पारिवारिकजस्तै भएको छ । मितो र केसी आमा-छोराजस्तै छन् । मितोलाई बाजुङका विद्यार्थी, अभिभावक र शिक्षकले पनि ओकासान -जापानी भाषामा आमा) भनेरै बोलाउँछन् । ओकासान पनि बाजुङवासीको आत्मीय स्वागत र सहृदयी व्यवहारले झन्झन् सम्बन्ध बलियो हुँदै गएको ठान्छिन् । बुढ्यौलीले गर्दा आई-जाई गर्न गाह्रो हुन्छ कि भन्ने खसखस त मितोको मनमा छ नै, तैपनि दुई-दुई वर्षमा बाजुङ अझै आइरहनेमा उनी ढुक्क नै छिन् । कतिन्जेल आइरहने हो त नेपाल ? '८० वर्षकी हुन्जेल त सजिलै आउन सक्छु भन्ने लागेको छ,' मुसुक्क हाँस्दै उनले भनिन् । 'ओकासान, कम्तीमा पनि अझै बाह्रचोटि नेपाल आउनुहुन्छ,' बूढीआमैलाई बाजुङ पुर्याएर उनीसँगै फर्केका डा. केसीले हाँस्दै भने, 'सय वर्ष पुग्न अझै २४ वर्ष त बाँकी नै छ ।' केसीले आमैको शतायुको कामना गरेको सुनेर उनले कृतज्ञतापूर्वक शिर निहुराइन्, 'आरिगातो गोजाइमासु, खादुका सर !' ** भट्ट हेर्दा मितो असीवरिपरिको उमेरकी जस्ती छैनन् । बुढेसकाल त बढ्दो नै छ । अमेरिकाले खसालेको अणुबमले कुनैवेला खरानी-खरानी बनेको थियो नागासाकी । नागासाकीवासीका ती दिन कति कहालीलाग्दा थिए । उनी अहिले त्यही सहरमा एक्लै बस्छिन् । सामाजिक सेवामा क्रियाशील स्वयंसेवी संस्थामा अहिले पनि उनी सदस्य छिन् । यत्तिकै बस्ने उनको आदत नै छैन । खसम बितेको पूरै दुई दशक नाघिसक्यो । एक मात्र छोरी छिन्- रिए मितो । छोरी रिए ज्वाइँ मात्सुसिता हिरोयुकीसित बस्छिन् । छोरी-ज्वाइँ दुवै शिक्षक छन् नागासाकीमै । उनीहरू फरक-फरक सरकारी विद्यालयमा पढाउँछन् । दुई वर्षको फरकमा उनीहरू पनि ओकासानसँगै नेपाल आइरहेका छन् । ओकासानको साथी भएर मात्रै होइन, प्राथमिकबाट क्रमशः माध्यमिक बनिसकेको सरस्वती विद्यालयलाई सहयोग गर्ने अभियानमा उनीहरू पनि लामबद्ध छन् । नेतृत्व मात्रै आमैको छ, छोरी-ज्वाइँ र उनीहरूका अरू शिक्षक साथीहरू पनि सहयोग आदान-प्रदानमा इच्छुक छन् र सक्रिय पनि । 'म त मानवअधिकारको क्षेत्रमा पनि काम गर्ने मान्छे,' मितोका ज्वाइँ मात्सुसिताले भने, 'बालबालिकाको शिक्षा र बालअधिकारका अरू विषय पनि मेरो चासोका क्षेत्र हुन् । खड्ग सरसँग भेट र कुराकानीपछि उहाँको र मेरो रुचि र चासो मिलेको पाएँ । अनि त्यहाँको स्कुलमा सहयोग गर्नुपर्छ भन्ने लाग्यो ।' सरस्वती माध्यमिक विद्यालय प्राथमिक तहको हुँदा त्यसको भौतिक संरचना, शैक्षिक अवस्था, विद्यार्थीका लागि आवश्यक सुविधा- सबै हिसाबले 'कमजोर' थियो । जापानकै लायन्स क्लबहरूसहितको सहयोग र स्थानीय ऊर्जाले अहिले स्कुल माध्यमिक मात्रै भएको छैन, कम्प्युटर शिक्षा र सुविधासम्पन्न पुस्तकालयको पनि व्यवस्था छ । 'जापानमा पनि सरकारी र निजी विद्यालयबीच विभेद छ,' उनले भने, 'नेपालकै जस्तो अवस्था नभए पनि मैले सरकारी विद्यालयका समस्याहरू बुझेको छु ।' मात्सुसिता नागासाकीमा सामाजिक शिक्षा पढाउँछन् । 'जुन देशमा रहे पनि,' उनले भने, 'भूगोल, राजनीति, रहनसहन, भाषा-संस्कृति र सभ्यता फरक भए पनि हामी आपसमा सहयोग आदान-प्रदान गरेर सभ्य, शान्त र समृद्ध संसार निर्माण गर्न सक्छौँ ।' आफूहरूको सहयोगलाई स्थानीय अभिभावक, शिक्षक र विद्यार्थीले राम्रो उपयोग गरून् भन्ने इच्छा पनि उनले व्यक्त गरे । मात्सुसिता र रिए दुवै शिक्षक । दुई वर्षको अन्तरालमा दुवै नेपाल आइरहेका छन् । 'सूर्योदयको देश'बाट 'सगरमाथाको देश'मा घुम्न आउने पर्यटकहरू त कति छन् कति ! अरू सरकारी-गैरसरकारी योजनासहित आउनेहरूको संख्या पनि उत्तिकै होला । तर, उनीहरू भने आफ्नै खर्चमा काठमाडौं र्झछन् र झर्नेबित्तिकै सीधै पहाडी गाउँ बाजुङ पुग्छन् । आउने-जाने गर्दागर्दै बाजुङसितको उनीहरूको 'मायापिरती' गहिरो भइसक्यो । 'म त आठ वर्षपछि रिटायर्ड हुँदै छु नि,' मात्सुसिताले हौसिँदै भने, 'त्यसपछि नेपाल अलि छिटोछिटो आउने मन छ ।' उनले आफू सेवानिवृत्त भएपछि प्रत्येक वर्ष बाजुङ जाने गरी योजना बनाउने बताए । 'रिटायर्ड लाइफ' बिताउने अरू कुनै योजना छैन ? 'दुवै -रिए र मात्सुसिता) रिटायर्ड भएपछि तीन/चार महिनै बस्ने गरी आउँछौँ,' उनले भने । त्यति मात्रै ? 'पछि त हामी यतै बस्ने गरी आउने सोच छ नि,' श्रीमती रिएतिर हेर्दै उनी मुस्कुराए, 'नेपालकै गाउँतिर जापानी भाषा सिकाएर बस्ने योजना छ । हेरौँ के हुन्छ !' मात्सुसिताको कुरामा रिए पनि हँसिलो मुद्रामा टाउको हल्लाएर सहमति जनाउँदै थिइन् । सासूआमा सचिकोका आँखा पनि खुसी सल्बलाइरहेका थिए । ** दुई वर्षअघि ओकासानसँग नागासाकीकै शिक्षकहरू जिन र मियुकी पनि आएका थिए, विभिन्न खेलकुद सामग्री लिएर । अघिल्लोपटकको टोलीमा यसपालि नयाँ सदस्य थपिएकी थिइन्, सिमोदा मिगिवा । कार्यव्यस्तताले यसपटक अघिल्लोपटकका जिन भने सहभागी थिएनन् । यसपालि पनि टोली पाँच सदस्यीय नै रह्यो । पुस १३ गते पातिचौर पुगेको टोलीले १४ गते विद्यालयको स्वागत र सम्मान ग्रहण गर्यो । एउटै कार्यक्रममा मितोले सहयोग पनि हस्तान्तरण गरिन् । पुस १५ गतेको ल्होसार र 'पुसे पन्ध्रम्' पनि पाहुनाहरूले अभिभावक र शिक्षकसँगै मोदी किनारमा वनभोज खाएर मनाए । अंग्रेजी नयाँ वर्ष पनि उनीहरूले पातिचौर बजारमै मनाए । १६ र १७ गते विद्यार्थीलाई जापानी खेल सिकाउने, जापानी विद्यार्थीको सन्देश सुनाउने, विद्यार्थीसँग अन्तरक्रिया गरेर बिताए । 'हामीले उताका हाम्रा विद्यार्थीको सन्देश लिएर आएका थियौँ,' श्रीमती रिएले भनिन्, 'अहिले हामी सरस्वती स्कुलका विद्यार्थीको सन्देश लिएर जाँदै छौँ ।' नागासाकीको यागामी प्राथमिक विद्यालय, इसाहाया पूर्वप्राथमिक विद्यालय, ओमुरा निम्नमाध्यमिक विद्यालयका विद्यार्थीले यताका विद्यार्थीका लागि 'कोसिस गरेर पढौँ' 'आऊ, हामी साथी बनौँ' 'हामीले राम्रो-राम्रो काम गर्नुछ' जस्ता पोस्टकार्ड सन्देश लेखेर पठाएका थिए । यता सरस्वती स्कुलका विद्यार्थीले पनि यसपालि आ-आफ्ना भविष्यका 'सपना' र 'योजना' रेकर्ड गरेर पठाएका छन् । उनीहरूले नागासाकीका साथीहरूलाई पोस्टकार्डमा 'आरिगातो' (धन्यवाद) पनि लेखेर पठाएका छन् । जापानमा प्राथमिक तह सक्नासाथै विद्यार्थीलाई उसको 'सपना' तोक्न लगाइन्छ । र, हरेक फेब्रुअरीमा विद्यालयले अभिभावकहरूसँग कुरा गरेर इन्टरनेटबाट विद्यार्थीलाई आफ्नो काम आफैं खोज्न लगाउँछ । 'यहाँ पनि त्यस्तै संस्कृतिको विकास भइदिए हुन्थ्यो भन्ने हाम्राे चाहना हो,' मात्सुसिताले हाँस्दै भने, 'उता सबै काम सम्मानित छन्, तर यहाँका विद्यार्थीले त सबैले डाक्टर, पाइलट, इन्जिनियर बन्ने सपना देख्दा रहेछन् । हामीले नागासाकीका हाम्रा विद्यार्थीलाई बाजुङका विद्यार्थीका सपना लगेर सुनाउने छौँ ।' पोस्टकार्ड र भिडियोमा विद्यार्थीका 'सपना' लिएर पाँच सदस्यीय जापानी टोलीले आगमनको पाँचाँै दिनमा बाजुङबाट बिदा माग्यो । दुई वर्षपछि फेरि आउने वाचासहित पाँच जापानी हात हल्लिए, 'सायोनारा !' पाहुनाहरूले डाँडो नकाटुन्जेल यताबाट पनि कलिला हात हल्लिरहे, 'सायोनारा, आरिगातो गोजाइमासु !'



del.icio.us
Digg
Bhesh, Aichi ken, Toyota city, Japan.
gurungbhesh@hotmail.com
Post your comment