Naya Patrika: सञ्जिता एक्सन रोलको खोजीमा सञ्जिता एक्सन रोलको खोजीमा ================================================================================ परवीण बुढाथोकी on 07/12/2009 17:26:00 गायक दिपेशकिशोर भट्टराईको आँखा जुधाएर गीतको म्युजिक भिडियोबाट 'हटमोडल' को छवि बनाएकी सञ्जिता गुरुङ नेपाली सिनेमाकी चल्तीका नायिकाको सूचीमा पर्छिन् । अनागरिक डकुमेन्ट्रीबाट फिल्मक्षेत्र प्रवेश गरेकी गुरुङ अहिले विजय केरुङको निर्देशनमा बनिरहेको फिल्म बन्दीको सुटिङमा व्यस्त छिन् । चार वर्षअघि र्‍याम्पबाट आफ्नो करिअर सुरु गरेकी उनी केही समययता फिल्ममा व्यस्त छिन् । उनले अभिनय गरेको धुम, हाम्रो मिलन कहिले हुन्छ, बाटुली, धर्तीपुत्र, तिरस्कार, हत्याकाण्ड फिल्म प्रदर्शन भइसकेको छ भने लभस्टोरी-२०६६ बीएस प्रदर्शनको तयारीमा छ । आधादर्जनभन्दा बढी फिल्म खेलिसकेकी उनले हाम्रो मिलन कहिले हुन्छबाहेक अन्य सोलो नायिकाको भूमिकामा अभिनय गर्न पाएकी छैनन् । तर, उनले जुन-जुन फिल्म गरेकी छिन्, ती सबैमा आफ्नो अन्य नायिकाको दाँजोमा आफूले पनि भूमिका पाएको दाबी उनको छ । अनागरिकदेखि बन्दीसम्म आइपुग्दा उनले धेरै प्रकारका भूमिकामा अभिनय गरिन् । 'मैले गाउँले, मोडर्न, कमेडी सबै किसिमको भूमिकामा अभिनय गरिसकेकी छु,' उनले भनिन्, 'एक्सन रोलचाहिँ अहिलेसम्म गर्न पाएकी छैन ।' अबचाहिँ उनको एक्सन भूमिकामा देखिने इच्छा रहेछ । उनको नजरमा चाहिँ उनलाई कुन रोल फिट होला ? 'धेरै फिल्ममा मोडर्न नायिकाको रोल गरेकैले होला मोडर्न नै सुहाउँछजस्तो लाग्छ,' उनले भनिन्, 'तर, यो त मैलेभन्दा पनि दर्शकले छुट्टयाउने कुरा हो ।' उनको पनि राय अन्य नायिकासँग मिल्दोरहेछ- कलाकार भएपछि जस्तोसुकै भूमिकामा पनि अभिनय गर्नुपर्छ । तर, फिल्म साइनचाहिँ स्त्रिmप्ट सुनेपछि मात्र गर्दिरहिछन् । भनिन्, 'म स्त्रिmप्ट नसुनी फिल्म साइन नै गर्दिनँ ।' टेलिभिजनका थुप्रै विज्ञापनमा समेत देखिने यी नायिका दिपेशकिशोरको सोही गीतबाट रजतपट प्रवेश गरेकी हुन् । 'पहिलोचोटि म्युजिक भिडियोको अफर आयो, दिपेशकिशोरजस्ता चर्चित गायकको,' उनले क्यामेरा फेस गर्दाको अनुभव सुनाइन्, 'कसरी गर्छु होला भन्ने मनमा उत्सुकताचाहिँ थियो, सबैले सहयोग गर्नुभयो, खासै अप्ठ्यारो महसुस भएन ।' उनी फिल्ममा व्यस्त छिन्, साथसाथै विज्ञापन र म्युजिक भिडियोमा पनि छाइरहेकै छिन् । पछिल्लो समय उदित/दीपा झा, दीप श्रेष्ठ, राजेशपायल राई, आनन्द कार्कीजस्ता चर्चित गायकको म्युजिक भिडियोमा समेत मोडलिङ गरिसकेकी छिन् । उनलाई विज्ञापन, म्युजिक भिडियो र फिल्म कुन क्षेत्रबाट बढी सन्तुष्टि मिल्छ त ? 'मलाई विज्ञापन, म्युजिक भिडियो होस् या फिल्म सबै-सबै उस्तै लाग्छ,' उनले भनिन्, 'यतिमात्र फरक हो, म्युजिक भिडियो एक दिनमै सिध्याइन्छ भने फिल्म सिध्याउन महिना दिन लाग्छ ।'