Naya Patrika: हार्वार्ड सर्बोत्कृष्ट विश्वविद्यालय हार्वार्ड सर्बोत्कृष्ट विश्वविद्यालय ================================================================================ नवीन तिमिल्सिना on 12/10/2009 01:36:00 विश्वका सर्वोत्कृष्ट विश्वविद्यालयको सूचीमा यस वर्ष पनि अमेरिकाको हार्वार्ड विश्वविद्याल शीर्षस्थानमा रहन सफल भएको छ । चर्चित अखबार टाइम्सले प्रकाशित गर्ने टाइम्स हाइयर एजुकेसन-क्युएस वल्र्ड युनिभर्सिटी र्‍याङकिङमा हार्वार्ड २००४ देखि लगातार पहिलो स्थानमा रहँदै आएको छ । टाइम्सले बिहीबार सार्वजनिक गरेको सो सूचीमा बेलायतको क्याम्बि्रज विश्वविद्यालय दोस्रो स्थानमा छ भने अमेरिकाकै याले विश्वविद्यालय तेस्रो स्थानमा रहेको छ । क्याम्बि्रज २००८ मा दोस्रो स्थानमा रहेको याले विश्वविद्यालयलाई उछिन्दै दोस्रो स्थानमा आएको हो । याले भने तेस्रो स्थानमा झरेको छ । सूचीका उत्कृष्ट दसमा ६ अमेरिकी र चार बेलायती विश्वविद्यालय रहेका छन् । गत वर्ष सातौ स्थानमा रहेको युनिभर्सिटी कलेज अफ लन्डन तीन स्थान माथि उक्लँदै चौथो स्थानमा आएको छ भने अक्सफोर्ड विश्वविद्यालय चौथो स्थानबाट झरेर पाँचौँ स्थानमा झरेको छ । अक्सफोर्डसँगै पाँचाै स्थानमा एक स्थानमाथि उक्लिन सफल संयुक्तअधिराज्यको इम्पेरियल कलेज लन्डन रहेको छ । अमेरिकाको सिकागो विश्वविद्यालय अघिल्लो वर्षको तुलनामा एक स्थानमाथि उक्लँदै सातौं स्थानमा आउन सफल भएको छ भने अमेरिकाकै पि्रन्स्टन विश्वविद्यालय चार स्थानमाथि उक्लँदै उत्कृष्ट १२ बाट आठौँ नम्बरमा आइपुग्न सफल भएको छ । टप टेनमा रहेका विश्वविद्यालयमा अमेरिकाको क्लालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी उच्च पाँच स्थान तल झर्दै दसौँ नम्बरमा आइपुगेको छ भने कोलम्बिया विश्वविद्यालय टप टेनबाट तल र्झदै एघारौँ स्थानमा आइपुगेको छ । २००४ देखि बर्सेनि प्रकाशन हुँदै आएको सो सूचीमा विश्वविद्यालयलाई विभिन्न कसीमा राखेर मूल्यांकन गर्ने गरिन्छ, जसमा अग्रजहरूको मूल्यांकनबाट ४० प्रतिशत, अन्तर्राष्ट्रिय विद्यार्थीको मतबाट ५ प्रतिशत फ्याकल्टी तथा विद्यार्थीको मतबाट २० प्रतिशत, कर्मचारी छनोटकर्ताहरूबाट १० प्रतिशत, अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूको मूल्यांकनबाट ५ प्रतिशत र कलेजको फ्याकल्टी तथा शिक्षकको सिफारिसबाट २० प्रतिशत अंक गणना गर्ने गरिन्छ । विश्वभरिका उत्कृष्ट दुई सय विश्वविद्यालय समावेश गरिने सो सूचीमा अमेरिकी विश्वविद्यालयकै बाहुल्य छ । उच्च सयमा ५४ अमेरिकी विश्वविद्यालय सो सूचीमा समावेश छन् । तर, अघिल्ला वर्षको तुलनामा यस वर्ष अमेरिकाको प्रभाव केही न्यून हुँदै गएको छ भने एसियाली विश्वविद्यालय सूचीमा प्रवेश गरेका छन् । उच्च सयको सूचीबाट अमेरिकाका ५ विश्वविद्यालय झरेका छन् भने चार विश्वविद्यालय सूचीबाट नै बाहिरिएका छन् । अमेरिकी विश्वविद्यालयलाई प्रतिस्थापन गर्दै एसियाली मुलुक जापान, हङकङ, दक्षिण कोरिया तथा मलेसियाका विश्वविद्यालयहरू सो सूचीमा प्रवेश गरेका छन् । एसियाली मुलुकहरू उच्च शिक्षामा उल्लेख्य लगानी गर्दै स्तर सुधारेकाले प्रगति गर्न सफल भएको बोस्टन कलेजको उच्च शिक्षा केन्द्रका निर्देशक फिलिप अल्टबाचले बताए । 'अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट समेत प्राध्यापकहरू भित्र्याएका कारण उनीहरूको शिक्षा गुणस्तर बढेको छ,' उनले भने । सो सूचीमा जापानका ११ विश्वविद्यालय समावेश छन् । गत वर्ष उच्च सयमा चार विश्वविद्यालय रहेकोमा यस वर्ष दुई थपिएका छन् । सूचीमा समावेश हुने नयाँ विश्वविद्यालयमा तुसुकावा विश्वविद्यालय एक सय ७४औं, केेइयो विश्वविद्यालय एक सय ४२औं रहेका छन् । एसियाली विश्वविद्यालयमा जापानको टोकियो विश्वविद्यालय अघिल्लो वर्षको तुलनामा ३ स्थान तल र्झदै २२औं स्थानमा छ । यसैगरी, छिमकी मुलुक चीनका ६ तथा भारतका दुई विश्वविद्यालय सो सूचीमा पर्न सफल भएका छन् । एजेन्सीको सहयोगमा