Naya Patrika: दैनिक ५० लाख राजस्व घाटा दैनिक ५० लाख राजस्व घाटा ================================================================================ ठाकुरसिंह थारु on 02/08/2009 03:08:00 नयाँ पत्रिका बाँके, १७ साउन शुक्रबारदेखि नेपालगन्ज भन्सार कार्यालय बन्द भएपछि दैनिक ५० लाख रुपैयाँ राजस्व घाटा भएको छ । नेपालगन्जमा विश्वविद्यालय स्थापनाको माग गर्दै संघर्ष समितिले अनिश्चितकालीन भन्सार बन्द गरेपछि दुई दिनमा एक करोड रुपैयाँभन्दा बढी राजस्व घाटा भएको हो । भन्सार कार्यालयका निमित्त प्रमुख श्यामप्रसाद पाण्डेले प्रत्येक दिन ५० लाख राजस्व उठ्ने नेपालगन्ज नाकामा दुई दिनयता भन्सार महसुल पूर्णरुपमा ठप्प रहेको बताए । संघर्ष समितिले सरकारलाई दबाब दिन भन्सार ठप्प पारेको हो । सरकारले विश्वविद्यालयका लागि प्रतिबद्वता नजनाएसम्म भन्सार ठप्प पारिने संघर्ष समितिका अध्यक्ष अच्युत प्रसाईंले बताएका छन् । संघर्षपछि भारतबाट आउने सबै सामान नेपालगन्ज भन्सारमा थन्किएका छन् । सयौं मालवाहक ट्रक भन्सार कार्यालयमा रोकिएका छन् । आन्दोलनकारीले भन्सार कार्यालयको कुनै पनि काम हुन दिएका छैनन् । भारतबाट आउने खाद्यान्न र पेट्रोलियम पदार्थ भन्सार कार्यालय नजिकै थन्किएका कारण मध्यपश्चिममा खाद्य र पेट्रोलियम पदार्थ अभाव हुनसक्ने अवस्था देखिएको छ । साइकल र रिक्सामा ल्याइने गरिएको सामानमा भने रोक लगाइएको छैन । तर, भन्सार कार्यालय ठप्प पारिएका कारण त्यसको महसुल उठ्न सकेको छैन । प्रधानमन्त्रीले नेपालगन्जमा विश्वविद्यालय स्थापनाका लागि सम्बोधन नगरेसम्म भन्सार ठप्प पारिने संघर्ष समितिले जनाएको छ । स्थानीय प्रशासनले भन्सार खुलाउन प्रयास गरिरहेको बताएको छ । तर, विश्वविद्यालय स्थापनाका लागि स्थानीय प्रशासनले सरकारसँग आग्रह मात्र गर्न सक्ने भन्दै स्थानीय निकायमा गरिने वार्ताको कुनै अर्थ नरहने आन्दोलनकारीले बताएका छन् । संघर्ष समितिका संयोजक पशुपति दयाल मिश्रले भने, 'भन्सार कार्यालय खुलाउने सहमति भनेकै प्रधानमन्त्रीले विश्वविद्यालय स्थापनाका लागि सम्बोधन गर्नुपर्‍यो ।' सो क्षेत्रका संविधानसभाका सभासद्ले विश्वविद्यालय स्थापनामा ऐक्यबद्वता जनाएका कारण आन्दोलनकारी थप उत्साही छन् । भन्सार कार्यालयले यसअघि १ अर्ब ६२ करोड राजस्व असुली गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा १ सय ३६ प्रतिशत राजस्व उठाएको थियो ।