Naya Patrika: 'पागल बन्न मन छ’ 'पागल बन्न मन छ’ ================================================================================ लिक्ष्मण सुवेदी on 25/07/2009 18:00:00 'अभिनयका सबै नवरसमा अभिनय गरिसकेँ । पागलको रोल गर्दा कस्तो होला भन्ने लागेको छ,' झरना भन्छिन्, 'एब्नर्मल क्यारेक्टर'मा अभिनय देखाउन पाइन्छ ।' पछिल्लो समय तिमी मात्र तिमीमा लाटी केटीको भूमिका निभाएकी झरनाले उक्त चरित्रमा अभिनय गर्नका लागि एक महिना सांकेतिक भाषाको प्रशिक्षण लिनुका साथै वास्तविक बहिरा तथा लाटासँग उठबस गरेकी थिइन् । 'अपांग चरित्रमा अभिनय गर्न गाह्रो हुँदोरहेछ,' झरना भन्छिन्, 'तर अभिनय गर्नुको वास्वविक मजा यस्तै रोलमा आउँदोरहेछ ।' तिमी मात्र तिमीमा बहिरी हुनुभन्दा पहिला झरनाले ए मेरो हजुरमा अन्धी केटीको भूमिका निभाएकी थिइन् । 'अन्धीको रोल खेल्दा दर्शकबाट जुन माया र सहानुभूति पाएँ, अन्य रोल गर्दा त्यति मार्क भएको पाएकी छैन । त्यसैले लाटीको भूमिका निभाएको तिमी मात्र तिमीबाट म निकै आशावादी छु,' झरना भन्छिन्, 'आमभन्दा बेग्लै चरित्रमा गरेको अभिनय सम्झनायोग्य हुने भएकाले म यस्तै रोलको अपेक्षा गर्दछु ।' नायिका झरनाले पर्दामा अन्धी, बहिरी, गुन्युचोली लगाउने दुई चुल्ठी बाटेकी गाउँले, सहरिया आधुनिक फेसनेबल घमण्डी केटीदेखि लिएर गुण्डा तह लगाउने एक्सन लेडीसम्मको भूमिका निभाइसकेकी छिन् । 'यही हो कलाकारिता,' झरना भन्छिन्, 'कलाकार भएपछि जस्तोसुकै भूमिकामा पनि सहजताका साथ अभिनय गर्न सक्नुपर्छ । म आफूलाई जस्तोसुकै भूमिकामा पनि सहज महसुस गर्छु ।' अधिकांश फिल्ममा झरना आधुनिक युवतीको भूमिकामा देखापरेकी छिन् । दानवीरमा स्टाइलिस डान्सरको भूमिका निभाएकी उनी क्यारेङ ग्याङ २ मा भने आइटम डान्सरको रोलमा छिन् । आमभूमिकाको कुरा गर्दा उनी आफैंलाई भने सहनशील, दुःख पाएकी गाउँले केटीको भूमिका बढी मन पर्छ रे । 'कथाअनुसारको भूमिका गर्नुपरे पनि वास्तवमा मलाई गाउँले, सोझी केटीको भूमिका मन पर्छ,' झरना भन्छिन् । आफूले अभिनय गरेका फिल्ममध्ये कुन-कुन फिल्मको भूमिका औधी मन परेको होला यिनलाई ? उनले ए मेरो हजुर, मुग्लान, म तिमीबिना मरिहाल्छु र तिमी मात्र तिमी फिल्म अग्रपंक्तिमा राखिन् । 'आफूले गरेको काम त सबै उत्तिकै प्यारो हुन्छ । तर, यी चार फिल्ममा पाएको भूमिका भने यादगार छन् मेरा लागि,' उनी भन्छिन् । ए मेरो हजुरमा अन्धी बनेकी झरनाले मुग्लानमा दोहोरो भूमिका निभाएकी थिइन् । जसको एउटा चरित्र सोझी गाउँले केटीको भूमिकामा थिइन् भने उनको अर्काे भूमिका थियो आधुनिक युवती जो नेपाली हुनमा गर्व होइन, हीनता महसुस गर्छे । 'एउटै फिल्ममा दुई बिल्कुलै विपरीत चरित्र निभाउनु मेरा लागि चुनौती मात्र होइन अवसर पनि थियो,' झरना त्यतिवेलाको कुरा सम्झँदै बोलिन्, 'कताकता डर पनि थियो, दर्शकले मन नपराउने हुन् कि भन्ने । तर सफल भइयो ।' उनले म तिमीबिना मरिहाल्छुमा पनि दोहोरो भूमिका निभाइन् । उक्त फिल्ममा माओवादी छापामारको भूमिकामा एक्सन लेडी भई देखापरेकी झरनाको उक्त एक्सनको तारिफ र चर्चा दुवै भयो । 'म तिमीबिना मरिहाल्छुमा पनि चुनौतीपूर्ण भूमिका निभाएँ । त्यो फिल्म हेरेर दर्शकले मेरो एक्सनको तारिफ गरे,' झरनाले बताइन्, 'त्यसपछि त दर्शकले तपाईं रोनाधोनामा मात्र होइन, एक्सनमा पनि उत्तिकै जम्नुहुँदोरहेछ । अरू फिल्ममा पनि देख्न पाइयोस् भने ।' सधैं केही नयाँ गरूँ भन्ने चाहना भइरहन्छ रे उनलाई । रोलअनुसार एक्सपोज गर्न आफूलाई आपत्ति नलाग्ने धारणा उनको छ । 'फिल्मको कथाअनुसार ओपन डे्रस लगाउन मलाई आपत्ति छैन,' आफ्नो डे्रस आफंै डिजाइन गर्ने बताउने झरना फिल्ममा आफूलाई छोटा लुगा लगाउन कसैले दबाब नदिने गरेको बताउँछिन्, 'स्त्रि प्टअनुसार आफैं डे्रस डिजाइन गर्छु । कसैको करकापमा एक्सपोज भएकी छैन । म आफंै कन्सिएस छु ।' झरना आफैंले निर्माण गरेका दुई फिल्म धर्मसंकट र गोर्खालीमा आधुनिक युवतीको भूमिकामा थिइन् । ती फिल्मका गीतमा उनले खुलेरै अंगप्रदर्शन गरेकी थिइन् । 'कथाअनुसार गरेकी हुँ । खुल्न त मलाई पनि कहाँ मन छ र ?,' झरनाले थपिन्, 'अंगप्रदर्शन गरेर चर्चित होइन्छ, दर्शकले मन पराउँछन् भन्ने भ्रममा म छैन । यो सबै सीमित अवधिका लागि हो । लामो रेसको घोडा बन्नका लागि त अभिनय नै चाहिन्छ ।' यी नायिकाको कुरा अरूले पनि सुन्ने हो कि ?