Naya Patrika: झरना नै सबैभन्दा मायालु झरना नै सबैभन्दा मायालु ================================================================================ प्रमिला देवकोटा on 09/02/2010 08:34:00 प्रेम र बिहे भनेपछि नाक खुम्च्याउने आलोक नेम्वाङ रोमान्समा भने विश्वास गर्छन् । प्रेम-संवादको सुरुमै उनले भने, 'म त्यसका लागि सायद सही मान्छे होइन ।' चार सयभन्दा बढी म्युजिक भिडियोमा प्रेम र रोमान्सको दृश्य देखाएका आलोकले अझै प्रेम गरेका छैनन् त ? 'रोमान्स र प्रेम फरक-फरक कुरा हुन् । प्रेममा एट्याचमेन्ट हुन्छ । मलाई त्यो मन पर्दैन । रोमान्स त समझदारीमा जोसँग पनि हुनसक्ने भयो । म रोमान्सको पक्षपाती हुँ । *** आलोकले प्रेम गरेको पहिलो महिला को होलिन् ? 'मेरी आमा,' उनले झ्वाट्टै भने, 'सबैको आमासँगै त हुन्छ, होइन र ?' उनी मामाज ब्वाई -आमाको प्यारो छोरा) हुन् रे । आमासँग बढी नै नजिक थिए । 'म त आमाको साडी नै समातेर बस्थँे !' उनले मुसुक्क हाँस्दै भने । उनकी आमाको नाम कान्छीे । त्यसैले कान्छी शब्द भएका सबै गीत उनलाई मन पर्दैनथ्यो । रेडियोबाट यस्ता गीत बज्दा उनलाई असाध्यै रिस उठ्थ्यो । 'अरूले मेरी आमाको नाम लिँदा मबाट मेरी आमा खोसिएजस्तो लाग्थ्यो,' उनले सुनाए । यता रेडियोमा राम थापाको कान्छीलाई भगाई लग्यो झिल्केेले... बज्थ्यो, उता आलोक रेडियो नै फुटाउने गरी जोसिन्थे, 'के गीत गाको यस्तो ? कान्छीलाई भगाउने रे ! मेरी आमूलाई भगाउने ? त्यसलाई म...' आलोकलाई अहिले पनि परिवारका सदस्यले यही कुरा झिकेर जिस्काउने गर्छन् । दस/एघार वर्षको उमेरसम्म उनी आमालाई एकछिन छोड्दैनथे । कक्षाकोठामा सर पढाइरहेका हुन्थे भने आलोकचाहिँ आमाको यादमा हुन्थे । 'त्यतिवेला मलाई म यता छु, आमू के गर्दै होलिन् जस्तो लाग्थ्यो,' उनले बाल्यकाल सम्भिmए । तर, आजकल आलोक भाटभटेनी फ्ल्याटमा बस्छन् भने उनकी 'आमू' धोबीघाटमा । त्यो फ्ल्याट उनकी आमाले नै किनिदिएकी हुन् । त्यस्तो माया गर्नेे आमूलाई छाडेर कसरी बस्न सकेका उनी ? 'मानिस अरू कुरासित जोडिँदै जाँदा एउटा निश्चित उमेरमा 'डियर'हरूबाट टाढिँदो रहेछ,' उनले भावुक हुँदै भने, 'आमाले मलाई यो लैजा त्यो लैजा भन्दा उहाँको कति निःसर्त प्रेम छ । म त छोराका रूपमा नालायक नै हुँ नि ! मेरो स्वभाव र कामले पनि सँगै बस्न सक्दिनँ ।' आमापछि आलोकलाई बुझ्ने उनकी दिदी हुन् । अमेरिकामा पढ्दा आलोकको गोजी रित्तिँदा सबैभन्दा पहिला दिदीलाई पीर पथ्र्याे रे । आफ्नी दिदीको प्रेम गर्ने शैली गजबको लाग्छ उनलाई । 'मैले केही नभनीकनै मेरो आवश्यकता थाहा पाउँछिन् उनी । मेरी दिदी चुपचाप माया गर्छिन्, हल्ल्ाा गरेर माया गर्दिनन् । मेरो शैली भने ठीक उल्टो छ,' अनुहार चम्किलो बनाउँदै भने उनले । आलोक निकै अन्तर्मुखी स्वभावका छन् । आफूलाई व्यक्त गर्न नजान्ने, आफूलाई देखाउन नजान्ने । जान्न पनि नखोज्ने । त्यसमा उनी आफ्नो राशिलाई पनि जिम्मेवार ठान्छन् । 'मेरो राशि क्यान्सर -कर्कट) हो । मेरो आफ्नै दुनियाँ छ । आफ्नो सर्कलभन्दा बाहिर म जाँदै जान्नँ । जतिसुकै ठूलो पीर परे पनि म कसैलाई भन्दिनँ,' उनले भने । सानोमा यतिसम्म एकलकाटे स्वभावका थिए कि एउटा कुनामा रोएर बस्थे । भोक लाग्दा भोक लाग्यो भन्दैनथे । कसैले उनको कुरा बुझेर सोध्थे— के भयो भोक लाग्यो ? बल्ल उनी टाउको हल्लाएर भन्थे रे— अँ लाग्यो । *** ७ कक्षा पछि स्कुल गएनन् आलोक । एसएलसी पनि प्राइभेट दिएर पास गरे । त्यसैले 'टिनएज'मा सिकिने राम्रा-नराम्रा बानी उनले सिक्न पाएनन् । अर्काे बेन्चमा बस्ने केटीलाई आफ्नी प्रेमिका बनाएर कल्पिन पनि पाएनन् । कसलाई हेरेर कल्पे त ? 'माधुरी दीक्षितलाई,' उनी हाँसे, 'उनको नृत्य र हिँडाइले भुतुक्कै पाथ्र्याे । 'मलाई त अझै पनि माधुरीजस्तो कोही छैन जस्तो लाग्छ ।' माधुरीपछि चौध-पन्ध्र वर्षे ठिटो आलोकलाई नीलमको निर्दाेष अनुहारले खुब आकषिर्त गथ्र्याे । आजकल हलिउडको न्याथोली पोर्टमेनले पनि उनलाई भुतुक्कै पार्छिन् । माधुरीको अल्लारे प्रेमी आलोक कुरुवाको काम पनि गर्थे । उनका दुई साथी प्रेम गर्थे, उनी तिनको प्रेमलाई सुरक्षा दिने काम गर्थे । चौरतिर डेटिङ फिक्स हुन्थ्यो । उनीहरूलाई डेटिङमा पठाएर पछि उनी लता मंगेसकरका गीत गुन्गुनाउँथे । *** आलोकले धेरैलाई ब्रेक दिएर मोडेल बनाए । उनका लागि मोडेल मापदण्ड के हो त ? अग्ली र बान्की परेकी केटी उनको प्राथमिकतामा पर्छन् । उनलाई नेपाली टप फाइभ मोडलको नाम भन्न लगाइयो । 'झरना बज्राचार्य,' उनले सुरु गरे, 'त्यसपछि मेलिना मानन्धर, अनि प्रसिद्धिका रायमाझी, माल्भिका सुब्बा र नम्रता श्रेष्ठ ।' यीमध्ये मेलिना वान पिस लाग्छिन् उनलाई । 'उनलाई त विश्वकै राम्रीमा राख्छु म । जे लगायो त्यस्तै देखिन्छ । भोटे ड्रेसमा भोटिनी देखिन्छिन्, नेवारीमा नेवार ! अचम्मको अनुहार छ उनको,' उनले दिल खोलेर मेलिनाको तारिफ गरे । मानिसहरू आलोकलाई सोध्छन्, 'बिहे नगर्ने ? ढिला भएन ?' उनी सहजै उत्तर दिन्छन्, 'नगर्ने ।' बिहे नगर्नुका 'बलिया' कारण छन् उनीसँग । पहिलो— उनलाई एट्याचमेन्ट -आसक्ति) देखि डर लाग्छ । उनी वियोग सहन सक्दैनन् । 'मैले अहिलेसम्म बिछोड सहेको छैन । ठूलीआमा बित्दा बिछोड कस्तो हुन्छ, अलिकति जानेँ । म कसैलाई गुमाएर बस्न सक्दिनँ,' उनले भने । दोस्रो— उनलाई प्रश्न मन पर्दैनन् । खाजा खायौ ? किन ढिला आको ? फोन किन अफ ? किन भँुडी लाग्यो ? किन दुब्लाको ? रक्सी धेरै किन खायौ ? यी सबका जवाफ दिने तागत उनीसँग छैन रे । तेस्रो— उनी वैवाहिक सम्बन्धमा नाटक बढी देख्छन् । भन्छन्, 'एउटै बेडमा सुत्दा पनि पोल खुल्ने डरमा लोग्ने स्वास्नीसँग डराइरहेको हुन्छ, स्वास्नी लोग्नेसँग । धेरैका सम्बन्ध एक-अर्कालाई धोका दिएर चलेका हुन्छन् ।' *** उनलाई प्रेममा त्यति विश्वास नहुनुका पछाडि केही त होला नि ? 'प्रेम नै त नभनौँ, दुईजनासित आकषिर्त थिएँ म । दुईजनालाई विश्वास पनि गरेको थिएँ । पछि धोका भयो । अब कान समातेको छु । कसैलाई विश्वास गर्दिनँ,' उनी आफ्नो किस्सा टुंग्याउन आतुर देखिन्थे । हेर्दा चट्ट परेका छन् आलोक । मीठो बोल्छन् । आफ्नो पेसामा पनि सफल छन् । उनलाई पछ्याउने कति भेटिए त ? 'कति, कति !' उनी गमक्क परे । नेपाल टेलिभिजनमा इमेज च्यानलको कार्यक्रम चलाउँदा उनलाई बोराका बोरा चिठी आउँथे रे । कति त रगतले लेखेर आउँथे रे ! रगतले लेखेको चिठी देखाएर उनले टेलिभिजनमै सोधेका थिए, 'यो चिठी केको रगतले लेख्नुभयो ? खसीको कि राँगाको ?' उनको नाममा सिन्दुर लगाउने फ्यान पनि थिए । उनैले चिनेको साथीले सोध्थ्यो 'तेरो नामको सिन्दुर लगाउने केटी भेटाइदिऊँ ?' पूर्वतिरकी एउटी केटीले टिभीमा देखिने आलोकको नामको सिन्दुर लगाएकी थिइन् रे ! त्यस्तो प्रेम गर्ने केटीलाई भेट्नुपर्दैन त ? 'ए बाबा, उनले मलाई हो त ? कार्यक्रम प्रस्तोतालाई पो प्रेम गरेकी हुन् त ।' *** अहिले उनको परिवारले पनि उनलाई बुझिसकेको छन् । आमू र भिनाजु दुवै उनलाई भन्छन्, 'आफ्नो जिन्दगी बाँच बाबु, बिहे नगर ।' बिहे गरे अर्काको जिन्दगी बाँचिन्छ र ? संसारका सबै विवाहित अर्काको जीवन बाँचेका छन् ? 'हो त, उत्तर दिँदादिँदै जिन्दगी बित्छ,' उनले भने, 'सुरुमा प्रेम देखिन्छ, पछि प्रश्नैप्रश्नले हैरान । मलाई त सन्न्यासी हुन्छु कि जस्तो लाग्छ ।' आलोकसँग बिहे गर्न चाहने केटीहरूको लाइनै थियो । तर, उनलाई चिनेपछि सबै पाखा लागे । आफूलाई 'वान पिस' भन्न रुचाउने आलोकलाई जिद्दी गर्ने कुरामा कसैले जित्न सक्दैन । झरनासँग उनको नाम जोडेर धेरै हल्ल्ाा गरियो । कतिले बिहे पनि भइसक्यो भन्न भ्याए । यसमा आफ्नै गल्ती भएको मान्छन् आलोक । 'जति वेला पनि सँगै हुन्थ्यौँ । हामीले मानिसलाई भन्ने ठाउँ दियौँ । हाम्रो सम्बन्ध के थियो, हामी दुईजनालाई मात्र थाहा छ, र त्यो पर्याप्त छ,' उनले भने । कस्तो हो त ? दुईजनालाई मात्रै थाहा भएको सम्बन्ध ? 'अन्डरस्ट्यान्डिङ -समझदारी) को सम्बन्ध !' उनले प्रस्ट पारे, 'मेरो आमू र दिदीपछि मलाई माया गर्ने मान्छे हो झरना । मलाई सानो दुःख परे पनि उसका आँखा रसाउँछन् ।' झरना मात्रै होइन, अरू केही केटीलाई पनि आलोकसँग जोडेर हेरिन्छ । केटी घुमाउने उनको बानी पनि यसका लागि जिम्मेवार होला । 'मेरो काम यस्तो छ कि केटी घुमाउन थालेँ भने तिनीहरूले उल्टै मलाई घुमाइदिन्छन् । काम र रोमान्स फरक हुन् ।' आलोकलाई लजालु केटी मन पर्छन् । आफ्नो स्टयान्डमा बस्ने केटीलाई कसैले हेप्न सक्दैन भन्छन् उनी । छिल्लिने केटीहरू उनलाई कत्ति मन पर्दैनन् । 'आजकल त केटीहरू तीन हात उप|mेर आउँछन् । राम्रो केटा देख्नेबित्तिकै के-के भन्दै नाटक सुरु गर्छन्— कस्स्स्..तो राम्रो फूल.... आबुइ कक्रोच ...! गालामा चड्याम्म हिर्काइदिउ“m जस्तो लाग्छ ।' आलोकले कस्ती केटी पाए भने बिहे गर्लान् त ? कस्ती होलिन् उनकी डि्रम गर्ल ? 'शिल्पा सेट्टीको जस्तो जीउ, मेलिनाको जस्तो अनुहार, माधुरीको जस्तो लचकदार चाल, सोनम कपुरको जस्तो मुस्कान, नीलमको जस्तो कपाल, न्याथली पोर्टमेनको जस्तो निर्दाेषपन भएकी केटी पाइयो भने बिहे गरिन्छ,' उनले भने । संसारमा यस्ती केटी सायद नपाइएला । आलोकलाई टिपिकल देखिने अनुहार मन पर्दैन । दीपिका पादुकोणलाई सबैले राम्री भन्छन् । अभिनेत्रीका रूपमा उनी दीपिकालाई राम्री मान्दैनन् । 'अनुहारले दीपिकालाई भारतीय देखाउँछ । नजिक गयो भने तेल गन्हाउला जस्तो !' दीपिकाको कपाल सुँघेजसरी भने उनले । धर्मशास्त्रका पात्रमध्ये सावित्री आलोकको मन पर्ने पात्र हुन् । भन्छन्, 'उनले महिलाशक्तिको सीमाहीनतालाई देखाएकी छिन् ।' सीता पटक्कै मन पर्दिनन् रे ! किन ? 'नचाहिने सहनशील भएकीले,' उनले भने । द्रौपदी नि ? 'झन् मन पर्दैन । पाँच-पाँचजनासँग बिहे गर्ने हो त ?' द्रौपदीसँग रिसाएजस्तो गरी भने उनले । मीरा संसारकी सर्वाेत्कृष्ट प्रेमिका लाग्छिन् उनलाई । 'मीरामा समर्पणभाव अत्यन्त धेरै छ,' उनले कारण बताए । केटाहरू केटीभन्दा बढी धोकेबाज देखेका छन् उनले । 'केटो एकैपटक पाँचजना घुमाएर हिँडिरहेको हुन्छ, प्रेमिकासँग चाहिँ तेरो पूर्वपे्रमी थियो भनेर निहुँ खोज्न सुरु गर्छ,' उनले भने । आफूले देखेका जोडीमा भास्कर ढुंगाना र रेसु अर्यालको जोडी उनलाई आइडियल लाग्छ । यस जोडीको समझदारी देख्दा उनलाई पनि बिहे गर्न मन लाग्छ रे । मेलिना र मुकेशको जोडी उनलाई मन पर्ने अर्काे जोडी हो ।