Naya Patrika: दिल दुख्दाको त्यो दिन... दिल दुख्दाको त्यो दिन... ================================================================================ प्रस्तुति : राजेश राई on 08/01/2010 19:00:00 मेरो जीवनको सबभन्दा दुःखद घटना ०६४ को पुसमा घटेको थियो । त्यस दिन पाटन अस्पतालमा मेरी हजुरआमाको निधन भयो । त्यो दिन मेरो जिन्दगीको सबभन्दा पीडादायी दिन थियो । मलाई सबथोक गुमाएजस्तो लागेको थियो । त्यस दिनजति जिन्दगीमा म कहिल्यै रोएको थिइनँ । त्यसअघि कसैको निधनको दुःखको सामना नगरेकाले पनि हुनसक्छ, मलाई त्यति धेरै पीडा भएको । हुन त सुरुको पीडाले पछिका पीडालाई कम गर्दै जान्छ भन्छन् । हजुरआमाको मृत्युपछि केही समय घरभित्रै बसेँ । साथीभाइलाई भेटिनँ । मृत्यु शाश्वत सत्य हो भनेर चित्त बुझाउने काम गर्थेँ । पछि साथीभाइसँग भेटघाट हँुदै गएपछि हजुरआमाको शोकको पीडा कम भएर गयो । मैले आफ्नो बिहेखर्च हजुरआमाको सम्झनामा पाटन अस्पतालको आइसियुको सुविधा वृद्धिका लागि अनुदान दिएको थिएँ । गगन थापा, युवा नेता प्रचण्डसँग नाचेपछि मेरा बारेमा गरिएका टीका-टिपप्णीले मेरो दिल साह्रै दुखायो । एउटा कलाकार जुनसुकै पार्टी वा समूहको कार्यक्रममा गएर नाच्न, गाउन सक्छ । तर, मलाई माओवादीको कार्यक्रममा नाच्दा रेखा थापा माओवादी भई भनेर टिप्पणी गरियो । यस्तो टिप्पणीले मेरो मन यति दुख्यो कि म धेरै रोएँ । राजनीतिक दलका नेता र मेरै कलाकार साथीहरूले मेरा बारेमा नराम्रा टिप्पणी गरे । भोलि के हुन्छ थाहा छैन, तर आज रेखा थापा माओवादी होइन, कलाकारमात्रै हुन् । त्यसवेला मलाई पत्रकार साथीहरूले सहयोग गर्नुभयो । उहाँहरूको सहयोगले मेरो पीडालाई कम गर्ने काम गर्‍यो । रेखा थापा, नायिका मेरा पिताजी टीकाराम भट्टराईको निधन भएको दिन मेरो जीवनको सबभन्दा पीडादायी दिन थियो । २ कात्तिक ०३२ मा उहाँको निधन भयो । आर्थिक रूपमा हामी अत्यन्त कमजोर थियाँै । हाम्रो संस्कारमा मरेपछि मृतकको छातीमा चामल राख्ने र बाटोमा भुटेको धान छर्ने चलन छ । तर, घरमा मृत्युसंस्कारमा चाहिने अलिकति धान र चामल थिएन । अलिकति चामल र धान साहुकहाँबाट मागरे ल्याउनु पर्दा साह्रै दुखेको थियो मेरो दिल । पिताजीको लासछेउमा रुँदै बसिरहेको वेला मलाई मेरा एकजना आफन्तले 'क-कसको ऋण छ, तिमीलाई थाहा छ ?' भनेर सोध्नुभयो । उहाँले त्यसो भन्नासाथ गाउँको एकजना धनीमान्छेले 'मलाई तिम्रा बाले दुई सय तिर्नु छ, कहिले दिने ?' भन्यो । त्यसले त्यसोभन्दा मलाई धेरै पीडा भएको थियो । कृष्ण धराबासी, साहित्यकार तत्कालीन राजा वीरेन्द्रको वंशै नष्ट हुनेगरी २९ जेठ ०५८ मा भएको दरबार हत्याकाण्डले मलाई साह्रै रुवाएको थियो । वीरेन्द्रको स-परिवारको हत्या भएको समाचार सुनेपछि मैले मन थाम्न सकिनँ । त्यस दिन म धेरै रोएँ । अकल्पनीय त्यस घटनामा दुखेको दिललाई शान्त पार्न रुनुबाहेक विकल्प थिएन । मेरो मात्रै होइन, दुई करोड नेपालीको मन दुखेको थियो भन्ने मलाई लाग्छ । तर, के गर्नु ? जति पीडा भए पनि त्यस्ता पीडालाई भुल्नुपर्ने रहेछ । मैले पनि बिस्तारै भुल्दै गएँ । त्यो दिन सम्भिmँदा अहिले पनि मन भारी भएर आउँछ । भुवन केसी, नायक तेह्रथुममा जन्मिए पनि बाल्यकाल पाँचथरमा बित्यो । ०२७ मा एसएलसी पास गरे पनि आर्थिक कारणले म क्याम्पस जान नपाउने भएँ । क्याम्पस जान नपाएपछि भुटानतिर पैसा कमाउन जाने निणर्य गरँे । एसएलसी पास गरेका सँगैका साथीहरू क्याम्पस जान थाले, तर आफूचाहिँ पैसा कमाउन भुटानतिर लागेँ । त्यसवेला मलाई साह्रै नमिठो अनुभूति भयो । अब पढ्न पाउँछु कि पाउँदिन भन्ने कुरालेे मलाई साह्रै पिरोल्थ्यो । जति नमिठो अनुभूति भए पनि भुटानबाट पैसा कमाएर ल्याएपछि पढ्छु भन्ने अठोट गरेँ । संघर्ष गरेपछि सफलता हात लाग्छ भन्ने विश्वास थियो । भुटानमा दुई वर्ष काम गरेपछि नेपाल फर्किएँ र पढ्न सुरु गरेँ । मैले मुग्लान उपन्यास भुटानमा संघर्ष गर्दाको अनुभवबाटै लेखेको हुँ । डा. गोविन्दराज भट्टराई, प्राध्यापक दिल दुखाउने धेरै घटना घटेका हुन्छन् मान्छेका जिन्दगीमा । मेरो जिन्दगीमा पनि धेरै घटना घटेका छन् । ठ्याक्कै तिथिमिति त अहिले सम्झना छैन । सायद ०३५ सालको कुरा हो- हामी भोजपुरबाट झरेर उदयपुरको श्रीवानीझोडामा झिक्राले सानो झुप्रा बनाएर बसेका थियाँै । मैले कुपी -बत्ती) बाल्दा हाम्रो झुप्रोमा आगो लागेर भएभरका सरसामान जले । कुखुराका चल्ला पनि जले । ठूला कुखुराहरू उड्दै जंगलतिर जाँदा साह्रै नमिठो अनुभूति भयो । मेरो जिन्दगीको सबभन्दा बढी मन दुखाउने घटना त्यही थियो । झुप्रो र भएको 'श्रीसम्पत्ति' जलेपछि हामी उदयपुर छोडेर भोजपुर फर्कियौँ । त्यसवेला म धेरै रोएको थिएँ । मैले रोएर नै मनलाई शान्त पार्ने काम गरँे । श्रवण मुकारुङ, कवि २ कात्तिक ०३२ को घटना हो । त्यतिवेला म १० कक्षामा पढ्थेँ । त्यस दिन म साथीहरूसँग जुलुसमा गएको थिएँ । मैतीदेवी पुगेपछि हामीलाई प्रहरीले लखेट्न थाल्यो । हामी भाग्दै थियौँ । खुट्टाबाट रगत बग्न थाल्योे । पहिले त ढुंगाले लागेर खुट्टामा घाउ भएजस्तो लागेको थियो । तर, हामी चारजनालाई गोली लागेको रहेछ । गोली लागेको थाहा पाउनसाथ म त बेहोस भएर ढलेछु । पछि अस्पतालमा मात्रै मेरो होस खुल्यो । त्यो घटना सम्भिmँदा अझै पनि आङ जिरिंग हुन्छ । र, नमिठो पीडाबोध हुन्छ । मनोज गजुरेल, हास्यकलाकार