Naya Patrika: जिन्दगीको खोजी जिन्दगीको खोजी ================================================================================ दीपक सापकोटा on 30/11/2009 07:38:00 जीवन—संवाद भक्त गिरीसँग मैले देखिरहेको टाढाका पहाडबाट हुस्सु ओर्लिन सुरु भइसक्यो । तलका फाँटहरू शीतले मनग्गे भिज्न सुरु भइसके । तनहुँको यतिमाथिको देवघाट आउँदै गर्दा कुकुरहरू तल सडकछेउ ल्याम्पपोस्टमुनि गुँडुल्किएर बसिरहेका थिए । वृद्धाश्रमछेउछाउमा चराहरू पनि एकाबिहानै गुँडबाट निस्कन अल्छी गर्दै छन् । उता काठमाडौं दिनप्रतिदिन शीतांग हुन थालेको छ । मानिसहरू न्याना लुगा लगाएर हिँड्न थालिसके बजारतिर । यता देवघाटमा मृत्यु कुरेर वर्षौंदेखि टोलाइरहेका न्याना भुवादार कपडा नहुने बूढाबूढी खोकिलामा हात लुकाएर जाडो छल्ने कोसिसमा छन् । वृद्धाश्रमसँगैको चौतारीमा एकजना बूढामान्छे लडेका छन् । लोटामा पानी लिएर वरिपरि उभिएकाहरू 'नारायण-नारायण' भन्दै छन् । दस दिन भयो रे बूढा बिरामी भएको । 'अब सास जानै लाग्यो बूढाको,' सँगै उभिएका गेरुवस्त्रधारी बूढा बोल्दै थिए, 'बूढाले यो देवघाटमा काल कुरेको आठ वर्ष भएछ । मर्ने भनेर आएका, बल्ल आज पो पालो आयोजस्तो छ ।' वरिपरि झुम्मिएका सेतै कपाल फुलेका बूढाबूढी एकनासले तिनै चौतारीमा लडाइएका बूढालाई हेर्दै थिए । 'लौ बूढाको सास गएछ, पानी हालिदेऊ,' अघिका बूढा फेरि बोले । एकैछिनमा बूढाको लास बोकेर तलको खोलाकिनार पुर्‍याइयो । र, हेर्दाहेर्दै चितामा आगो लाग्यो । एकाबिहानै सारा आकाश कालै भएर धुँवा उडिरहेछ । वरिपरिका बूढा तिनको चिता हेरेर एकनासले टोलाइरहेछन् । अघि मर्ने बूढा काठमाडौंका रे । छोराबुहारीले माया नगरेर यहाँ आएका रे । देवघाट बसुन्जेल उनका आँखाले आश्रमसँगैको बाटो हेरेर छोराको आश गरे । 'तर, छोराको अनुहार एकचोटि पनि नदेखी तिनले संसार छोडे,' निकैबेरको करकापले बल्ल मसँग गफ गर्न तम्सिएका भक्त गिरी फुस्फुसाए, 'यहाँ त दिन बिराएर बूढाहरू मर्छन् । जाडोमा त अरूवेलाभन्दा धेरै मर्छन् ।' पहिलेका दिनमा झगडा गर्दै, कुस्ती खेल्दै रात बिताउने सडकबालक अचेल बथानै एकैठाउँमा गुटमुटिएर सुत्छन् । घामलाई आलस्यले छोएझैं भान हुन्छ आजभोलि । हुनेखानेहरू सहरका भव्य डिपार्टमेन्टल स्टोरमा न्याना कपडा किन्दै छन् । साथमा मनग्गे पैसा नहुनेहरू सडककिनारका सस्ता पसलमा मोलमा चर्काचर्की गर्दै छन् । यता देवघाटमा मृत्यु कुर्ने बूढाबूढीछेउ न भव्य डिपार्टमेन्टल स्टोर छ न त साथमै छ मनग्गे पैसा । जाडोले उनीहरूलाई गिज्याउँदै छ । देवघाटमा बढ्दै गएको जाडोले भक्त गिरीको मुटुको घड्कन बढाउँदै छ । भर्खरै मरेका बूढाको चिताको ज्वालाले माथि चौतारीमा बसेर हेरिरहेका भक्तको छातीमा बेजोडको हुटहुटी चल्दै छ । दिनानुदिन बढ्दै गएको जाडो र यही जाडोले कक्रिएर मर्ने बूढाबूढी देख्दा भक्तको हृदयमा हजार सोचाइ तँछाडमडाड गर्दै छन् । अहिले आफ्नै घर लमजुङमा भइदिएको भए सायद जाडोले यसरी कक्रक्क पार्दैनथ्यो कि ? उनको मनमा यस्तो पनि खेल्छ अचेल । 'हुन त उता लमजुङमा पनि यस्तै त हो नि जाडो,' भक्तले सुनाए, 'तर, अगेनाछेउ बस्न पाइन्थ्यो, तातो दूध पिउन पाइन्थ्यो ।' उनी गिरी परिवारका । आजभन्दा ७० वर्षअघि लमजुङको भोटेओढारको एक कुनामा उनले संसार चियाउँदा पनि घरमा खानेकुराको दुःखै थियो रे । 'आमा त दुःखैदुःखमा मरिन्,' उनले सुनाए । भक्तका बुबा पनि पछि घरगृहस्थी छोडेर टाढा कतै लागे रे । अब घरमा भक्त र उनका दाजु मात्रै बाँकी रहे । दाजुले त माया गर्थेे । 'तर, के गर्नु घरमा खाने दुःख थियो, ज्याला गरेको दिन पेटभरि खान पाइन्थ्यो, अरू दिन त उस्तै हो,' दुःखका दिन सम्भिmए उनले । यसैगरी उनको पनि जिन्दगी बित्यो । जुन दुःखमा बाबुबाजे बितेका थिए, उनको पनि त्यही दुःख त हो नि । दाजुले घर गरेनन् रे । 'मैले कति भनेँ दाजु अब बिहे गर भनेर,' भक्तले बिस्तारै बोले, 'तर, मानेका होइनन् । उनी पनि घर छोडेर पो हिँडे, जोगी बनेर ।' आफ्नो जीवनमा जुरेका यी सबै संयोग उनलाई 'कर्मको लेखा' लाग्दोरहेछ । 'कर्मले यस्तै पारिल्यायो के गर्नु ?' उनले भने, 'मलाई त घरगृहस्थी गर्न मन थियो । तर कसरी गर्नु ? हामीजस्तो गरिबलाई कसले दिन्थ्यो छोरी ? एक-दुई ठाउँमा बिहेको कुरा चलाइयो । पछि 'हुन्न' भन्ने खबर आयो । मलाई पनि मेरो कर्ममा बिहे गर्न, परिवार पाल्न लेखेकै रहेनछ भन्ने भयो र म पनि जोगी बनी घर छोडेर हिँडेँ ।' यसरी आफ्ना सारा कुरा सुनाउँदा भक्त निकै भावुक बनेका थिए । आफ्ना पुराना दिन, एक्लै-एक्लै हिँडेर बिताएका सत्तरी हिउँद आँखामा एक-एक गरी आए, गए । कसरी बिते होलान् जीवनका यत्तिका दिनहरू ? कसरी हिँडेको एक्लै-एक्लै दुःखका अग्ला पहाडहरू ? 'घर छोडेर हिँडेको केही वर्ष मैले जोगी बनेर मन्दिरहरूमा बिताएँ,' उनले सुनाए, 'मभन्दा पहिलेका बूढाहरूको संगतमा मैले गाँजा खान पनि सिकेँ, चिलिम तान्न पनि सिकेँ ।' ती दिनहरूमा उनी एक्लै-एक्लै कमन्डलु बोकेर टाढा-टाढाका सहरहरू चहार्थे रे । 'केही पाए खान्थेँ नत्र त भोकै पनि सुतिन्थ्यो,' उनी भन्दै गए, 'धेरैले जोगीलाई छीःछीः र दूरदूर पनि गर्थे । कति ठाउँमा त चोर भनेर लखेटे पनि ।' यता-उता दगुरेरै जीवनका दुःखलाग्दा कहर काटेको उनको अनुभव बोल्छ । यो जाडोमा दिन बिराएर देवघाटका बूढाबूढी मर्छन् । अघिल्लो दिन आफैँसँग गफ गरेर सुतेका बूढाबूढीले भोलिपल्ट यो संसार छाड्दा उनी चिता हेरेर निकैबेर टोलाउँछन् । उनी देवघाट आएको सात वर्ष पुग्न लागेछ । यसबीच उनले चिनेजानेका धेरै बूढाबूढीले यहाँ आएर प्राण छोडिसके । उनले पनि मृत्यु कुरेको रे । 'केही गरौँ भन्ने जोस जवानीमा पनि थिएन,' उनी भन्छन्, 'अहिले पनि केही जोस छैन ।' शरीरमा भएका केही चेतनाले काम गर्न छोडिसकेको उनलाई थाहा छ । उनलाई आफ्नो जन्ममिति पनि सम्झना छैन । तर, उमेरका रेखाहरूले उनलाई घेरिरहन्छन् । ती सम्झनामा आइरहन्छन् । उनीसँग दुःखको लामो फेहरिस्त छ । भनिनसक्नुका अग्ला दुःखका पहाड छन् । समय बित्यो । तर, मृत्युले चियाएन । बरु त्यो निष्ठुर कालले आफूसँगैका साथीहरू चुँडेर लग्यो । तर, उनलाई टिप्न आएन । उनले फेरि भने, 'मैले काल कुरेको धेरै भयो ।' सपनामा कालले लिन आएको उनले देखेका छन् रे । तर, विपनामा खै आएको ? लुलो शरीरले आत्मबल फुस्केको अनुभव गरेको धेरै भयो । जाडो सुरु भएपछि उनलाई दमले सताउँछ । खुब खोकी लाग्छ । जवानीको समय टक्क अडिएजस्तो लागेको छ उनलाई । न पछाडि फर्केर हेर्न मन लाग्छ न अगाडिको समयको कुनै ख्याल छ । केही चालचुल नगरी उनी आश्रम तलको सङ्लो खोला हेर्छन् । तर, धमिलो लाग्छ । 'यो आँखाले केही पनि प्रस्ट देख्न छोडेजस्तो छ,' उनले सुनाए । भक्त गिरीलाई पहिले पनि जिन्दगी बुढेसकालको समयजस्तै गह्रुँगो लाग्थ्यो । मर्न नसकेर बाँचेकाहरूको विवशता झर्कोलाग्दो, अनिद्राका रित्ता आँखाजस्तो, न देखेर निदाउन सक्छ न ब्युँझेर । जवानीमा एउटी तरुनीले उनलाई खुबै आँखा लगाइन् रे । तर, गरिबीले पछ्याएको भक्तको जिन्दगीमा ती तरुनी लेखेको रहेनछ । 'म गरिब र खान पनि धौ-धौ हुने देखेपछि उनले मलाई छोडिहालिन् नि,' उनले सुनाए, 'तर, ठीकै गरिन् । मसँग बिहे गरेको भए पनि जिन्दगी दुःखमै बित्नेरहेछ । बिचरीले कहिल्यै सुख पाउने रहिनछिन् । बरु जोगी बनेरै ठीक गरिएछ । आफ्नै पाराले बाँचियो ।' समय बाँचेर भक्तजस्ता बूढा बाँचिदिएका हुन् । हामी बाँचेर समय बाँच्दोरहेनछ । इतिहास भइसक्छन् मानिस त । समय जहिले हेर जवान । कहिल्यै बूढो नहुनेरहेछ । जिन्दगीको खोजीमा जोगी बनेका यिनले मात्र शून्य भेटेका छन् । के पाइयो जोगी बनेर ? 'के पाउनु ? यताउता डुलियो, आफूले चाहेअनुसार बाँच्न पाइयो,' उनले सुनाए, 'सुख त पाइएन । तर, खानै नपाएर दुःख पनि भएन । मैले बिहे गरेको भए बरु यत्तिको सुखी हुन्नथेँ कि ?' तर, फेरि यस्तो पनि लाग्छ, 'बरु बिहे गरेको भए पो सुखी भइन्थ्यो कि ?' तर, फेरि सोच्छन्, 'आ.. बिहे गर्ने धेरैलाई देखिएको छ । कति दुःखले बाँचेका छन् ।' बिहे गर्नेको दुःख देख्दा भने उनलाई बिहे नगरेर 'ठीकै गरिएछ' जस्तो पनि लाग्छ । जोगी जिन्दगीको भारले लादिएका भक्तको कद होचिँदै जाँदै छ । चाउरी परेको त्यो अनुहारमा जिन्दगीको दुःखको मात्रै डायरी लेखिएको छ । त्यहाँ पढ्नै नसकिने रेखाहरू छन् । स्मृति, घात र प्रतिघातका रेखाहरू । दमका रोगी उनी स्वाँ-स्वाँ गर्दै मलाई सोध्दै छन्, 'साँचि, बाबुलाई मेरो सारा कथा किन चाहिएको ?' उनको लामो-लामो सास फेराइबाट उनलाई धम्कीको बिराम छ भन्ने बुझिन्छ । जिन्दगी पनि उनलाई त अब सपनाजस्तै लाग्छ रे । जिन्दगीमा पुग्नुको भन्दा यात्राको महत्त्व रहेछ । यिनको यति लामो जोगी-यात्राले यिनलाई घाउ मात्र दिएको छ । त्यसपछि यिनी जिन्दगीमा थलिनुमा पुगेका छन् । मान्छेलाई जन्माउने पनि समय रहेछ । जियाउने र मार्ने पनि समय । पहिले जवानी थियो । रंग कहिल्यै आएन जीवनमा । तर, यो बुढ्यौलीमा आएर भक्तलाई अरू जोगीहरूसँग बसेर गाँजाको धुँवा तानेको, कहिलेकाहीँ जाँडले मात्तिएर साँझभरि नाचेको र जाडोका दिनमा धुनी जगाउँदै गाँजा र चिलिम तानेका स्मृतिहरू अलि-अलि आउँछन् । यिनले खोजेको जिन्दगी पाए कि पाएनन्, थाहा छैन, सपना पूरा भो कि भएन, जान्दिनँ । खुसी छन् कि छैनन् त्यो पनि भन्न सक्तिनँ । तर, थाहा छ, खोजेको जिन्दगी आफ्नो देशमा पाएनन् । सहर, गाउँ-बेसी, पहाडहरूमा यिनी डुलिरहे । यिनले पनि जिन्दगीमा सुख खोजे हुन् । परिवर्तन खोजे हुन् । यिनले चाहेको सुख उपत्यकाका मन्दिरमा पनि छैन । त्यसैले त यिनी अनेकतिर डुल्दै अन्त्यमा काल कुर्न देवघाट आइपुगे । बरु यहाँ भगवान् भेटिएलान्, तर जिन्दगी फेला पर्दैन । यिनी पनि सपना देख्छन् । देख्ने गरेको सपनामा पनि जिन्दगी छैन रे । विनाजिन्दगीको सपना बोकी मानौं रित्तो जीवनमा यिनी जिन्दगीको खोजीमा यात्रारत छन् । यिनले पशुपतिनाथ मन्दिरमा जिन्दगीको उब्जनी भएको देखे, लोभिए र अरूसँगै गाँजा, जाँड र चिलिम तान्न पुगे । देशका धेरै मठमन्दिरमा जिन्दगी फुल्दोरहेछ, त्यहाँ भिक्षा माग्न पुगे । देशका विभिन्न भागका यात्रामा कालो रातमा पनि जिन्दगी रहेछ । कति अचम्म, यिनी देवघाटको वृद्धाश्रममा मृत्यु कुरेर जिन्दगीको परिदर्शन गर्छन् र धन्य हुन्छन् । जिन्दगीको बजारमा रहर बेचिन्छ र किनिन्छ । फोहोर मिल्काउने रच्छ्यानमा पनि जिन्दगी छ । मुर्दा गाड्ने चिहानमा पनि जिन्दगी । भक्त स्वच्छ हावा खेज्दै शिवपुरी र फर्पिङ पनि हिँडे रे । रुसोले लेखेका छन्, 'हामीसँग गरिएको एउटा उपहास हो जिन्दगी ।' भक्तले ७० वर्षे जीवन काटेर के पाए ? यसको उत्तर यिनीसँग पनि छैन । कति ठूलो षड्यन्त्र भएको रहेछ भक्तसँग, कि जीवन नै उपहासमा परिणत भएछ, अर्थहीन । भविष्य झन् डरलाग्दो । यिनले खोजेजस्तो जिन्दगी भेट्टाएछन् ? उत्खनन्मा लागेको जिन्दगी फेला पर्‍यो ? 'अँ हँ मैले खोजेजस्तो, चाहेजस्तो कहाँ भयो र ?' भक्तले सुनाए, 'पहिले त मैले आफ्नो घर, परिवार र आमाको माया खोजेको थिएँ । पछि आफ्नै गृहस्थी । तर, न माया पाइयो न गृहस्थी । आफू हिँडेका, डुलेका ठाउँतिर पनि उपहास मात्र पाइयो ।' कुरा निस्क्यो जाडोको । उनीसँग यसपालिको जाडोसँग पौंठेजोरी खेल्नका लागि कुनै पनि बन्दोबस्त छैन रे । हुन त जोगी भएयता कहिले पो बन्दोबस्त गरिएको हो र जाडोको ? 'भक्त आजभोलि उदास देखिन थालेको छ' भन्छन् उनीसँगैका आश्रमका साथीहरू । थाहा छैन के सोचेर बसिरहन्छन् । हुन त एउटा गरिबको जिन्दगीमा दुःखहरूको के दुःख ? 'जन्मँदै दुःखले किचेको मान्छेको ढाड जीवनभरि सोझो हुन नसक्ने रहेछ,' भक्तले मनभित्रको गह्रुँगो बादल बर्साए । भक्तहरूको पनि देश हो यो । वास्तवमा भन्ने हो भने यो भक्तहरूकै देश हो । तर, भक्तहरू कहाँ जन्मिन्छन् र कहाँ मर्छन् त्यसको के लेखाजोखा ? भक्तले न माओवादीको 'नागरिक सर्वोच्चता' बुझेका छन् न कांग्रेसको 'समाजवाद' । कार्लमाक्र्सको साम्यवाद स्थापनाको सूत्रप्रति उसको कहिल्यै ध्यान गएन । न त समाज विकासका विभिन्न चरणका इतिहासबारे बुझ्नु नै उसको बसको कुरा थियो । कहिले साक्षात्कार गर्ने हो जिन्दगीसँग खै ? एउटा बाध्यताविरुद्ध अर्को बाध्यता टिपेर मुक्ति मात्रै खोजे भक्तले । मनभरि गाउँघर, आमा उभ्याए र जिन्दगी दुखेको पीडाले रोइरहे । उनले कसैलाई रिझाउनु छैन । कोही रिसाउला भन्ने पनि छैन । उनी मृत्युको पर्खाइमा छन् । कसैलाई भेट्ने, केही मीठो खाने रहर छैन । मृत्यु उनको छेउछाउमै लर्खरिइरहेछ । कालले नचुँडुन्जेल बाँच्ने हावा मात्र भए पुग्छ । 'आश्रमकाले पकाएर खान दिए खान्छु । अब यही देवघाटमा प्राण छाड्छु,' भर्खरै साथीले सधैंका लागि आँखा चिम्लेको नजिकैको पीपलबोट देखाउँदै भक्तले भने, 'म पनि यही पीपलको चौतारीमै प्राण छोड्न पाए सजिलै स्वर्ग पुग्थेँ ।' जाडोले कक्रिएर दिनैजसो मर्ने भक्तका साथीहरू देख्दा भने उनी आत्तिन्छन् । 'यसैगरी कक्रिएर कसरी मर्नु, सजिलै काल आओस्,' उनी भन्छन् । साँच्चै अगाडि थाप्लामै आइसकेको जाडोसँग कसरी कुस्ती खेल्ने हो भक्तले ? भक्तले के सोचेको होला ? spkt.deepak@gmail.com