Naya Patrika: नगरवधूसँग एक साँझ नगरवधूसँग एक साँझ ================================================================================ विनोदविक्रम केसी on 23/11/2009 04:47:00 'पैसा फेँको, तमासा देखो' कर्नरमा आज एकछिन यसो हल्लिनुपर्छ है, संगीत ?' अफिसबाट घर फर्किने तरखर गर्दै गर्दा सिटी सेन्टरको झलमल्ल प्रांगणमा उभिएर एक साँझ मैले संगीतश्रोतालाई प्रस्ताव राखेँ । 'मिडपेजका लागि एउटा राराम्रो स्टोरी पाउन सकिन्छ,' मैले प्रयोजन खुलाएँ । 'मिडपेजका लागि कि मिडनाइटका लागि ? आशय या दूराशय खुलस्त गर त कमरेड !,' शाब्दिक क्वाँटी पकाउन चम्मु छ संगीत । नेपाली साहित्यमा एमए जो गरेको छ । मैले आशय खुलस्त गरेँ । उसले 'ओके' भन्यो । ** बागबजार मिनीबसपार्क कटेपछि हामी पुग्यौँ 'पैसा फेँको, तमासा देखो' कर्नरमा । बडेमानको पर्खालमा जोडिएको सिमेन्टको बेन्च भएको यस कुनौटोमा आकाशेपुलमुनिका पसलका बिजुलीको प्रकाश आइपुग्छ । कर्नरअगाडि घुर्मैलो उज्यालोमा कनकर्ना, भाँडा मस्काउने जाली, मोबाइलको खोललगायत खिचि्रङमिचि्रङको फुटपाथे पसल छ एउटा । यसको नजिकै पाँच-पाँचवटा कागतीको भाग लगाएर बसेकी छिन् एउटी मोटी दिदी । 'म यसो कागती हेर्दै गर्छु, तिमी उनीहरूसँग कुरा गर,' सिमेन्टको बेन्चमा बसिरहेका चार युवतीतिर देखाउँदै संगीतले भन्यो । 'कामकुरो मिलाउने होइन नि, कुरो गर्ने मेसो मात्रै मिलाऊ,' थप दनक दियो उसले । म हाँसेँ । ** कुरा मिलाइयो बल्लबल्ल । अर्थात्, कुरा गर्ने मेसो मिलाइयो जास्मिन कार्कीसँग । उनको डेरा नजिकै रहेछ । हामी दुई उनको पछिपछि लाग्यौँ । उनी बस्ने घरको मूलगेट छिर्न नपाउँदै उनका घरधनीसँग हाम्रो भेट भयो । उनले हामी पत्रकार भएको जानकारी गराइन् घरधनीलाई । 'कार्ड देखाउनुस्,' घरधनी बूढाले च्याँठ्ठएिर भने । हामीले देखाइदियौँ । 'नयाँ पत्रिकाको त म ग्राहक नै हुँ नि,' हाम्रा कार्डको जाँचपरख गरेपछि उनी अलिक नरम भए । अझ हामीले 'तपाईं पनि हाम्रो कुराकानीमा साथ दिन सक्नुहुन्छ' भनेपछि उनी 'होइन, म चुरोट किन्न जान लागेको' भनेर बाहिरिए । उनको कोठाको ढोकामा मुखभरि दही दलेर हाँसिरहेका बालक कृष्णको पोस्टर टाँसिएको थियो । उनले ढोका ढकढक गरिन् । ढोका खुल्यो । तीन वर्षजतिको खाइलाग्दो बाबु बोकेकी सत्र-अठार वर्षकी एक युवती देखा परिन् । 'यो मेरो छोरो, जाकिर,' उनले बाबु बोक्दै भनिन्, 'सरहरूलाई नमस्कार गर, बाबु !' केटोले नमस्कार गरेन । बरु लजायो र आमाको छातीमा मुन्टो लुकायो । 'ऊ बहिनीचाहिँ को नि ?' संगीतले सोध्यो । 'जो भए पनि तपाईंलाई किन चाहियो ?' उनी अलि रिसाएझैँ देखिइन्, 'मसँग कुरा गर्न आ'को कि ऊसँग ?' 'तैपनि....' संगीतले भन्यो । 'ऊ मसँगै बस्छे । धन्दा पनि गर्छे । मकवानपुरकी हो,' जास्मिनले भनिन् । ** संगीतले रेकर्डर निकाल्यो । 'मैले बोलेको कुरा भर्ने भए तपाईंहरूसित कुरै गर्दिनँ !' उनले खोचे थापिन् । 'अनि दिदी, तपाईंसँग कुरा गरेको प्रमाण त चाहियो नि हामीलाई !' संगीतले सम्झाउने प्रयत्न गरे । 'एफएम र टिभीबाट बजाइदिनुभयो भने नि ! तपाईं पत्रकारहरूको के विश्वास र ?' उनले रेकर्डर प्रयोग गर्न दिइनन् । अब हामी कापीकलम निकालेर बस्यौँ । ** 'म नौ कक्षामा पढ्दै थिएँ, सत्र वर्षकी थिएँ,' उनले कथा हाल्न थालिन्, 'अन्ठाउन्न कि उनान्साठी सालतिर हो । काठमाडौंमा मैले फाइनान्स कम्पनी खोल्या छु, फाइनान्समा काम गर्न धेरै पढ्नुपर्दैन, बहिनीलाई म काठमाडौं लैजान्छु भनेर मेरा बाउसित कुरा मिलायो एकजना दाइ नाता पर्नेले । मलाई बाउ देखिसहँदैनथे । ममुनिको एउटा भाइ बितेपछि बाउले मलाई भाइ खाने यही हो भनेर देखिसहन्नथे । मलाई बाउले कहिल्यै मीठो वचन गरेनन् । सधैं राँडी र भाँडी गर्थे । असाध्यै कुट्थे । हँसियाको झटारो हान्थे । मेरो कुर्कुच्चामा हँसियाले काटेको खत अझै पनि छ ।' नभन्दै ठूलै खत रहेछ । काठमाडौंमा उसको के खाएर फाइनान्स कम्पनी होस् ? काठमाडौं ल्याएको दुई/तीन हप्तापछि उनको दाजु पर्नेले एक रात एक मारवाडी व्यापारीकहाँ जागिरको कुरा गर्ने भन्दै पुर्‍याएछ । 'माडेसित चार हजार रुपैयाँ लिएर मलाई बेचिदिएछ । ऊ त यस्तै दलाली पो गर्दारहेछ,' उनले त्यस धोकेवाज दाइ पर्नेको कर्तुत सुनाइन् । त्यस दिनदेखि सुरु भएको देहव्यापारमा उनी अहिलेसम्म छिन् । कुराकानी गर्दा जास्मिन टाठी नै लाग्छिन् । यस दलदलबाट उम्किने प्रयत्न उनले किन गरिनन् त ? 'यो लाइन नै अचम्मको छ,' उनले भनिन्, 'कोही आउँछु भनेर आउँदैन, तर आएपछि यसरी भासिन्छ कि उत्रिनै सक्दैन । फेरि पहिला म यति बाठी कहाँ थिएँ र ? पहिले त गोज्यांग्री थिएँ, गोज्यांग्री !' अनि, उनलाई बर्बाद गर्ने त्यो दाइ पर्नेचाहिँ अचेल कहाँ छ नि ? 'तीन वर्ष भयो,' उनले सुनाइन्, 'नाकमुख देख्या छैन । राजस्थान जान्छु भन्थ्यो । उतै गयो होला ।' ** 'अहिलेसम्म तपाईंका कति ग्राहक भए होलान्,' मेरा मुखबाट एउटा मूर्खतापूर्ण प्रश्न खसिहाल्यो । 'मैले हाजिरकापी राख्ने गर्‍या छु र ?' बिजुलीवेगमा उनले मलाई मुखभरिको जवाफ दिइन् । उनको छोरो जाकिरले संगीतले लगाएको ज्याकेटमा टाँसिएको धातुको स्टिकर हेरेर भन्यो, 'ऊ चाचा !' हामी हाँस्यौँ । 'छोराको नाम जाकिर राख्नु भा'को रहेछ । छोराको असली नाम पनि तपाईंको जस्तै अर्कै छ कि क्या हो ?' मैले सोधेँ । 'होइन, होइन,' उनले हाँस्दै भनिन्, 'यसको नाम जाकिर नै हो । नपत्याए यसैलाई सोध्नुस् न !' हामीले सोधेनौँ । बरु, छोराको नाम जाकिर किन राखिन्, त्यो सोध्यौँ । 'यसको बाबु मुसलमान हो क्या,' उनले भनिन् । चार वर्षअगाडि काठमाडौंमा घर बनाउने ठेक्कापट्टाको काम गर्न आएको दिल्लीको एकजना ठेकेदारसँग उनले बिहे गरेकी रहिछिन् । नाम उस्मान रे । दक्षिणकालीमा बिहे गरेका रे । 'यो काम छोड्, तँलाई बिहे गर्छु भन्यो,' उनले सुनाइन्, 'मान्छे भलाद्मी थियो । चार महिना सँगै बस्यौँ । निकै माया गर्थ्यो । मायाभन्दा पनि माया गरेको नाटक गरेको रहेछ । मैले पेट बोकेको थाहा पाएपछि बज्या भागिहाल्यो नि !' ** उनका ग्राहकहरूका बारेमा कुरा गरियो । 'भेराइटी-भेराइटीका छन्,' उनले भनिन् । एउटा अचम्मको ग्राहक छ रे उनको । 'ठमेलमा बस्ने एउटा बूढो छ,' उनले सुनाइन्, 'महिनामा मलाई एकचोटि लिएर जान्छ । स्वास्नी, छोराछोरी अमेरिकामा छन्, यहाँ एक्लै बस्छ । धनी बूढो हो । राम्रो होटेलमा लिएर जान्छ । नयाँ-नयाँ पेन्टी र ब्रा बोकेर गएको हुन्छ । तीन-चार जोर । मलाई छुँदासमेत छुँदैन । पेन्टी र ब्रा लगाउन लाउँछ । सोफामा बस्न लगाएर यता फर्की, उता फर्की भन्छ । आफू बियर खाँदै पलङमा बसेर हेरिरहन्छ । दुई-तीन घन्टासम्म विभिन्न पोजमा बस्न लगाउँछ । दिलदार छ । जे खाए पनि खुवाउँछ । दुई-तीन घन्टाको तीन/चार हजार दिन्छ ।' एक रातको कम्तीमा पाँच सय लिने उनलाई एक नवोदित पपगायकले पारिश्रमिकस्वरूप आफ्नो एउटा सिडी थमाएर गएछ । 'ठीकै छ भनेर लिएँ,' उनले सुनाइन्, 'भरे, गीत सुन्छु त रेट्दाखेरि बोको कराएजस्तो गरेर गाएको रहेछ । त्यो पनि आधा अंग्रेजी र आधा नेपालीमा ।' उनले नराम्ररी ठगिएको महसुस गरिछिन् । अचेल उनका विद्यार्थी ग्राहकले तेत्तीस प्रतिशत छुट मागेर हैरान पार्छन् रे । 'तिमी पनि सार्वजनिक यातायात त हौ नि भन्छन्, मोराहरू !' उनले हाँस्दै भनिन् । उनका केही नियमित ग्राहक कन्डोम लाउन झिँजो मान्ने खालका छन् रे । 'बोक्रैसित चकलेट खाने ? टोपी लाएर नुहाउने ? प्लास्टिकमा चिनी राखेर चुस्ने ? भन्छन् । तर, म बिनाकन्डोम सम्पर्क गर्न दिन्नँ,' उनी भन्छिन् । टि-टेबलमा रेपिडेक्स इंग्लिस स्पिकिङ कोर्स नामको किताब छ । 'अलि-अलि अंग्रेजी सिक्दै छु,' उनले भनिन्, 'अचेल गरिब टाइपका कुहिरेहरू खुव आउन थालेका छन् । अंग्रेजी जान्यो भने काम लाग्छ भनेर यसो पढ्दै छु ।' ** रामकृष्ण ढकालका दुईवटा गीत उनलाई असाध्यै मन पर्छन् । ओराली लागेको हरिणको चाल भो र मलाई यो जिन्दगीले कहाँ पुर्‍यायो । रामकृष्ण ढकालले उनकै बारेमा गाएजस्तो लाग्छ रे उनलाई । 'यी दुईवटा गीत जति सुने पनि म कहिल्यै अघाउँदिन,' उनले भनिन् । जास्मिन राजनीतिमा पनि अलि-अलि चाख राख्दिरहिछिन् । तर, राष्ट्रपतिको नाम सोध्दाचाहिँ 'रामशरण यादव' भनिन् । 'रामशरण होइन, रामवरण,' संगीतले सच्याइदिए । 'हो र ?' उनी चकित परिन्, 'मैले त आजसम्म रामशरण पो भन्ठानेकी !' कुरैकुरामा, नेता र जनताबीचको भिन्नतालाई उनले यसरी पहिल्याइदिइन्- नेता खान जन्मेका हुन् भने जनता नेताले खाएको हेर्न जन्मेका हुन् । भनिन्, 'हिजो जंगलमा सुत्ने प्रचण्डले दुई लाखको पलङ किने रे । सब उस्तै हुन्, उही ड्याङका मुला !' गिरिजाप्रसाद उनलाई गज्जबका नेता लाग्छन् रे । 'सबलाई च्याम्पटी घुमाएझैँ घुमाइदिन सक्छन्,' गिरिजाप्रसाद कोइरालाको खुव प्रशंसा गरिन् उनले । गिरिजाप्रसादले आफ्नी छोरी सुजातालाई उपप्रधानमन्त्री बनाएको कुरालाई उनले कसरी हेरेकी रहिछिन् त ? 'छोरीको त के कुरा,' उनले भनिन्, 'ती बूढाले उस्तै परे उनको घरमा काम गर्नेलाई पनि मन्त्री बनाइदिन सक्छन् ।' ** अन्त्यमा उनले हाम्रो भिजिटिङ कार्ड मागिन् र चेतावनी दिँदै भनिन्, 'तलमाथि लेख्नुभयो भने तपाईंहरूको अफिसमा आएर जात्रा गर्दिन्छु ।' हामी हाँस्दै फर्कियौँ । फेरि 'पैसा फेँको, तमासा देखो' कर्नर हुँदै हामी घर जाँदै थियौँ । कर्नरमा थिए- अरू-अरू जास्मिनहरू । थुप्रै जास्मिनहरू । gkcbinodbikram@gmail.com