Naya Patrika: सबै नसाले झ्याप सबै नसाले झ्याप ================================================================================ विनोदविक्रम केसी on 16/11/2009 05:06:00 gkcbinodbikram@gmail.com दुव्र्यसन-संवाद कृष्ण थापासँग बाह्र वर्षसम्म ड्रग्ससको दलदलमा फसे उनी । घर, परिवार र समाजबाट एक्लिएर बाँचे- आफ्नै दुनियाँमा मस्तराम ! आफैँले खनेको बर्बादीको बाटोमा हिँडिरहे । तर, भयानक मृत्युमा पुगेर टुगिने यस बाटोको बीचतिर पुगेपछि एकदिन उनी झल्याँस्स ब्युँझिए । धन्न, आफू कता हिँड्दै छु भन्ने बोध भएछ उनलाई । त्यसपछि, उनले अठोट गरे- अब ड्रग्स छोड्छु । बाह्र वर्षदेखि उनी जुन पोखरीमा चुर्लुम्म डुबेका थिए, त्यसबाट बाहिर निक्लिन सितिमिति अठोटले पुग्दैनथ्यो । 'सबभन्दा ठूलो कुरो अठोट नै रहेछ,' उनी भन्छन्, 'म छोड्छु भनेर अठोट नगरेसम्म र त्यहीअनुसार प्रयत्न नगरेसम्म दुव्र्यसनबाट बाहिर आउन सकिँदैन ।' चोभारमा रहेको दुव्र्यसनीहरूको पुनस्र्थापना केन्द्र -रिचमन्ड फेलोसिप नेपाल)को दुबोको चिटिक्क परेको स-सानो चौरमा बसेर कृष्ण थापा सुनाउँदै थिए आफ्नो कथा । उनी यस केन्द्रका कार्यक्रम संयोजक हुन् । रिचमन्ड फेलोसिप नेपाल उनी र उनीजस्तै ६/७ जना एक्स-युजर (पूर्वदुव्र्यसनी) हरू मिलेर सन् १९९७ मा स्थापना गरिएको संस्था हो । त, उनी आफ्नो दुव्र्यसन-मुक्तिको कथा भन्दै जान्छन्, 'परिवारको पीडाले सायद मेरो घैँटोमा घाम लाग्यो । ड्रग्स एडिक्टको परिवारप्रति हाम्राे समाज असाध्यै नकारात्मक छ । सामान्य रुघाखोकी लागेकालाई सहानुभूति व्यक्त गर्ने हाम्रो समाज ड्रग्स एडिक्सनजस्तो भयावह रोग लागेकालाई भने खाउँलाजस्तो गरेर हेर्छ । म ड्रग्सको नसामा फसेकाले मेरो परिवारलाई समाजले नितान्त एक्लो बनाइदिएको थियो । एकप्रकारले पानी बाराबारै गरेको थियो भनूँ न ।' अल्कोहल र लागूपदार्थको नसा भनेको एक बिमारी हो, जसको उचित उपचार गरिनुपर्छ भन्ने चेतना समाजमा नआइसकेको बताउने कृष्ण दुव्र्यसनीलाई घृणाको दृष्टिले हेर्नु भनेको कुनै रोगीलाई 'अब तेरो मिति पुग्यो, तैँले मरे हुन्छ' भनेबराबर ठान्छन् । पूर्वदुव्र्यसनी भएका नाताले दुव्र्यसनीका पीडा र पीरमर्का अरूले भन्दा बढी बुझ्ने हुनाले आफू उनीहरूलाई सुधार्न लागिपरेको बताउँछन् उनी । भन्छन्, 'त्यतिबेला मलाई सल्लाह, सुझाब दिने या बाटो देखाउने कोही थिएन । झन्झन् विकराल बन्दै गएको दुव्र्यसनको समस्यामा केही नगरी भएन भन्ने चेतनाले नै हामी छ/सातजना यस्तो सुधार केन्द्र खोल्न प्रेरित भएका थियौँ ।' लागूपदार्थको दुव्र्यसनलाई हुनेखाने वर्गको मात्रै समस्याका रूपमा लिइने गरेको छ । विगत बीस/बाइस वर्षदेखि दुव्र्यसनीहरूलाई कुलत छाड्न सहयोग पुर्‍याउँदै आएका कृष्ण भन्छन्, 'यो कसरी हुनेखाने वर्गको मात्रै समस्या हुन सक्छ ? समाज भनेको डुंगा हो । डुंगामा प्वाल पर्‍यो भने यसमा सवार सबैजना डुब्छन् ।' रिचमन्ड फेलोसिपका नेपालमा १२ वटा शाखा छन् । रिचमन्ड लन्डनको प्रसिद्ध स्थान हो, काठमाडौंको न्युरोड भनेझैँ । यस ठाउँकी एक महिला एली एल्सनले मानसिक रोगका कारण मृत्यु भएका आफ्ना श्रीमान्को स्मृतिमा रिचमन्ड फेलोसिप भन्ने संस्था खोलिन् । यस संस्थाले संसारका थुप्रै देशमा मानसिक स्वास्थ्य, सडक-बालबालिकासम्बन्धी काम गर्छ । 'जमैका, पेरु र नेपालमा मात्रै यसले दुव्र्यसनसम्बन्धी काम गरिरहेको छ,' आफू आबद्ध संस्थाबारे जानकारी गराउँछन् उनी । नेपालमा सुरुका दुई वर्ष रिचमन्ड फेलोसिपले आर्थिक तथा प्राविधिक सहयोग गरेपछि 'अब तिमीहरू आफ्नो खुट्टामा उभिनुपर्छ' भन्दै सहयोग दिन बन्द गरेछ । 'रिचमन्ड फेलोसिपले सहयोग गरुन्जेल हामीले नाम मात्रको शुल्क लिएर दुव्र्यसनीहरूलाई सर्भिस दियौँ, तर अहिले समुचित शुल्क लिनै पर्ने भएको छ । तर, हामी जे गरिरहेका छौँ, त्यसलाई समाजसेवा भन्दा कसैलाई आपत्ति नहुनुपर्ने हो,' कृष्ण भन्छन् । अल्कोहोलिक तथा ड्रग्स युजर गरेर करिब दुई हजार जतिलाई नवजीवन प्रदान गरिसकेको रिचमन्ड फेलोसिप नेपालले हाल एकजना दुव्र्यसनीको उपचार शुल्क बाह्र हजार प्रतिमहिना लिने गरेको छ । शुल्क अलिक महँगो भएन र ? 'जीवनभन्दा ठूलो पैसा हो र ?' उनको प्रतिप्रश्न । 'दुव्र्यसनको उपचारमा प्रयोग हुने,' शुल्क महँगो हुनुको भेद खोल्छन् उनी, 'मेडिकेसन -ओखतीमूलो) तथा केही प्रविधिका कारण अलिकति महँगोजस्तो लागेको हो ।' हाल रिचमन्ड फेलोसिप, चोभारमा ३० जना अल्कोहोलिक र ७० जना ड्रग्स युजरहरूको उपचार भइरहेको छ । सामान्यतः उपचारको तीनमहिने प्याकेज हुन्छ । 'खासमा, हामी यहाँ जीवनलाई माया गर्न सिकाउँछौँ,' चोभार डि-एडिक्सन सेन्टरको कार्यसूची बताउँछन् कृष्ण, 'लाइफ इज ब्युटिफुल- जीवन सुन्दर छ, दुव्र्यसनीहरूलाई यही बोध गराउनु नै हाम्राे एक मात्र उद्देश्य हो ।' यस केन्द्रमा उपचार गराइरहेकाहरूले निश्चित रुटिनमा चल्नुपर्छ । खाने, बस्ने, सुत्ने, उठ्ने, व्यायाम गर्ने, काम गर्ने आदि सबैको यौटा टाइमटेबल हुन्छ । सैनिक ब्यारेकजस्तो पो हुँदो रहेछ त पुनस्र्थापना केन्द्र त ? 'हैन, हैन,' हाँस्दै भन्छन् उनी, 'त्यस्तो कडिकडाउ हुँदैन । अनुशासनमा रहनका लागि केही नियमको पालना गरिने मात्रै हो ।' यहाँ विभिन्न पेसाका मानिस उपचार गराइरहेका छन् । 'अल्कोहोलको उपचार गराइरहेकाहरूमा डाक्टर, इन्जिनियर, प्राध्यापक, सबै पेसाका छन् भने ड्रग्स युजरहरूमा लगभग सबै विद्यार्थी छन्,' कृष्ण भन्छन् । जीवनको नयाँ सूर्याेदय खोज्दै यहाँ उपचार गराउन आइपुगेकाहरू के कारणले दुव्र्यसनमा फसे, सबभन्दा पहिले त्यो जान्ने कोसिस गरिँदो रहेछ । 'समस्याको जरोमै पुग्नुपर्छ,' उनी भन्छन्, 'उनीहरूको हिस्ट्री थाहा पाएपछि उपचार गर्न सजिलो हुन्छ । कति समय पुनस्र्थापना केन्द्रमा राख्नुपर्ने हो, उपचारमा कुन प्रविधि लगाउनुपर्ने, निक्र्यौल गर्न सजिलो हुन्छ ।' यहाँ उनीहरू बारी खन्छन्, फूल रोप्छन्, संगीत सुन्छन्, कविता भन्छन्, रिचमन्डको युनिर्फम लगाएर ट्रेकिङ जान्छन् । 'यस्ता क्रियाकलाप जीवनको मूल्यबोध गराउने टुल (औजार) हुन्,' कृष्ण भन्छन्, 'तर, प्रमुख कुरोचाहिँ व्यक्तिगत प्रयत्न नै हो । कसैले कसैलाई घोटेर पिलाउन सक्दैन । हामी त सहजकर्ता मात्रै हौँ, हाम्रा काम यसो गरे तिमीलाई राम्राे हुन्छ भन्ने हो । तर, गर्ने त आखिर उनीहरूले नै हो ।' चोभार केन्द्रको परिसरका स-साना घरका भित्तामा ठुल्ठूला अक्षरमा प्रेरक भनाइहरू लेखिएका छन् । जस्तोः 'पूर्णता होइन, प्रगति !' 'रक्सीको पहिलो घुट्कोदेखि नै सुरु हुन्छ बर्बादी !' 'विभेद तपाईंले गरेपछि मात्रै सुरु हुन्छ !' 'सोच्नुहोस् ! सोच्नुहोस् !! सोच्नुहोस् !!!' कसैले किन सुरु गर्छ होला ड्रग्स खान ? किन कसैले रोज्छ होला बेहोसीको दुनियाँ ? 'मान्छे लागूपदार्थको दुव्र्यसनमा फस्ने कारणहरू,' आफैँ पूर्वदुव्र्यसनी भएको र दुव्र्यसनीहरूका उपचारमा बीस/बाइस वर्षदेखि संलग्न भएको अनुभवका आधारमा उनी भन्छन्, 'यति धेरै छन् कि भनिसाध्यै छैन । अभिभावकको पर्याप्त ध्यान नपाएर, बढी पुल्पुलिएर, बेरोजगारीका कारण, गलत पारिवारिक वातावरण, पश्चिमी संस्कृति र फेसनको प्रभाव, दुव्र्यसनमा पर्ने कारण कति छन्, कति ! देखासिकी र एड्भेन्चर गर्ने नाममा ड्रग्स सुरु गर्ने पनि छन् । त्यति मात्रै हो र ? 'फलानो हिरोले, फलानो गायकले यस्तो खान्थ्यो रे यार' भन्दै ड्रग्स सुरु गर्ने पनि छन् ।' कृष्णका अनुसार ड्रग्स सुरु गर्ने उमेर चौध/पन्ध्र वर्ष हो । भन्छन्, 'राम्राे/नराम्रो छुट्याउन नसक्ने भएकाले धेरैजसोको ड्रग्स सुरु गर्ने उमेर यही हुन्छ ।' ड्रग्सको बानी लागेपछि (केमिकल्ली डिपेन्डेन्ट भएपछि) यसका लागि मानिस जे पनि गर्न तयार हुन्छ । ड्रग्स किन्न पैसा चाहियो । जतिसुकै हुनेखाने भए पनि कसैले यो मेरो छोराको ड्रग्स खर्च भनेर बजेट छुट्याउने गर्दैनन् । 'घरबाट पैसा नपाएपछि ड्रग्सको आवश्यकता पूरा गर्न एडिक्टले अरू विकल्प खोज्न थाल्छ,' कृष्ण बताउँछन्, 'चोरी, डकैतीतिर पनि उन्मूख हुन सक्छ एडिक्ट । र, पत्तै नपाई अपराधी बन्न पुग्छ ।' दुव्र्यसनीलाई दुव्र्यसनबाट मुक्त गर्न परिवारको सबभन्दा ठूलो भूमिका हुने बताउँछन् उनी । भन्छन्, 'यौटा दुव्र्यसनीलाई झन्झन् नर्कमा भास्ने या मुक्त गराउने उसका बाउआमा, दाजुभाइका व्यवहारमा भर पर्छ । त्यसो त उसलाई मुक्त गराउनु उनीहरूको कर्तव्य पनि हो ।' रक्सीका सन्दर्भमा कति खाने सोसिएल डि्रंकर र कति खाने अल्कोहोलिक -जँड्याहा) हुन्छ, त्यसमा धेरैको धेरैथरी मत छ । उनको मतचाहिँ के छ नि ? कसलाई जँड्याहा भन्ने ? कसलाई ठिक्क पिउने मान्छे ? 'एकदम सिम्पल छ,' उनी भन्छन्, 'तपाईं लिमिटमा खानुहुन्छ, कुनै असामान्य शारीरिक र मानसिक परिवर्तन अनुभव गर्नुहुँदैन भने तपाईं सोसियल डि्रंकर । तर, एकदिन रक्सी खानुभएन भने तपाईंलाई छटपटी हुन्छ, निद्रा लाग्दैन, हातखुट्टा काम्छन् भने तपाईं अल्कोहोलिक ।' लागूपदार्थ बेचबिखनबारे कुरा उप्काउन नपाउँदै कुनै प्रहरी अधिकृतझैँ उनी भनिहाल्छन्, 'लागूपदार्थको कारोबारमा यहाँ धेरै गिरोह संलग्न छन् । यिनीहरूको सञ्जाल विशाल छ । कहिलेकाहीँ कोही पक्राउ परेको समाचार सुनेर दंग पर्नु बेकार छ । त्यो त बल्छीमा फसेको सानो माछा मात्रै हो । यहाँ ठूला माछाहरू सँधै उम्किरहेका हुन्छन् ।' अन्त्यमा उनले दार्शनिक पारामा भने, 'यहाँ कोही पनि नसा र दुव्र्यसनबाट मुक्त छैन । वास्तवमा भन्ने हो भने मानव समाज एडिक्टहरूको समाज हो । कोही पैसाको नसाले चुर छन्, कोही यौनको नसाले, कोही सत्ताको नसाले ।' कथंकदाचित सत्ताका दुव्र्यसनीहरूका लागि पनि कुनै सुधार या पुनस्र्थापना केन्द्र खोलिए हाम्रा नेताहरूमध्ये कतिलाई उपचारको खाँचो हुँदो हो ? सायद सबैलाई ।