Naya Patrika: 'नेपालसुन्दरी’को सौन्दर्यशास्त्र 'नेपालसुन्दरी’को सौन्दर्यशास्त्र ================================================================================ दीपक सापकोटा on 14/10/2009 20:38:00 कुनैबेला नेपाली साैन्दर्यको परिभाषाभित्र नपर्ने थेप्चा नाक, चिम्सा आँखा र मंगोलियन अनुहार अहिले सौन्दर्यको मापक हुन थालेको छ । पछिल्लो समयमा भएका सौन्दर्य प्रतियोगितामा देखिएको मंगोलियनहरूको बाहुल्यले यो पुष्टि गर्छ । यस वर्ष पनि मिस नेपाल प्रतियोगितामा मंगोलियन अनुहारको बाहुल्य देखियो । र, मिस नेपाल अर्थात 'नेपाल सुन्दरी' घोषित भइन्— जेनिशा मोक्तान । सधैँझैँ यस वर्ष पनि प्रतियोगिताको विरोध भयो । वामपन्थमा लागेकाहरूले पहिलेझैँ सडकमा टायर बालेर प्रदर्शन गरे । तर, प्रतियोगिता सम्पन्न भएरै छाड्यो । 'सबैलाई यो प्रतियोगिता मनपर्छ भन्ने छैन,' गत शनिबार कुपन्डोलस्थित 'लुकेको खजाना' अर्थ बुझाउने इभेन्ट म्यानेजर 'हिडन ट्रेजर'को कार्यालयबाट यस वर्षकी मिस नेपाल जेनिशा मोक्तानले भनिन्, 'हामी कसैबाट प्रयोग भएका छैनौँ, विरोध गर्नु उनीहरूको अधिकार हो, देशै परिवर्तनको संघारमा छ । सबैको सोच्ने क्षमता फरक-फरक हुन्छ । मिस नेपालको विरोध गर्नेहरूले पनि त्यस्तै फरक विचार राख्ने वर्गलाई प्रतिनिधित्व गर्छ । कसैका लागि त्यो विरोध जायज पनि हुन सक्छ ।' *** कसैले सुन्दर छ भनिदिएपछि त्यस व्यक्तिमा सौन्दर्यको बोध अभिव्यक्ति विनयशीलता र आत्मगौरवमा देखिनुभन्दा प्रायः घमण्डमा विम्बित भएको देखिन्छ । संसारको सबैभन्दा सुन्दर वस्तु के हो भन्नेबारे मतैक्य हुनु सम्भव छैन । सुन्दरतासम्बन्धी विभिन्न जाति र जातीय संस्कृतिका आ-आफ्नै दृष्टि र मान्यता हुन्छन् । कोही सर्वाधिक सुन्दर हो कि होइन भन्नेमा धेरै मतमतान्तर हुन सक्छ । कोहीले शिरमाथि टलल्ल टल्केको हिमाललाई सुन्दर भन्न सक्छन् । कसैले सलल्ल बगेको नदीको प्रवाहलाई सुन्दर भन्न सक्छन् । तर, यस वर्ष मिस नेपालको श्रीपेच पहिरिएकी तामाङ कन्या जेनिशाको विचारमा संसारको सबैभन्दा सुन्दर सिर्जना नारी हो । 'नारी संसारकै सबैभन्दा सुन्दर सिर्जना हो,' उनको उत्तर थियो । नारीवादको दबदबामा यो सहज र स्वाभाविक उत्तर हुन जाला । तर, के जेनिशाजस्ता सुकन्याका लागि पुरुष सौन्दर्यको कुनै अर्थ छैन ? के उनीहरू सुन्दर हुँदैनन् ? 'अहँ, पुरुषहरू सुन्दर हुँदैनन् । फूलजस्ता सुन्दर त नारी नै हुन् । पुरुष त सुन्दर कुरालाई हेर्छन् मात्र !' यस्तो थियो नयाँ नेपाल सुन्दरीको पुरुषप्रतिको धारणा । आफ्नो धारणा बताइरहँदा यी सुकन्याको अनुहारमा एक प्रकारको दम्भ देखिएको थियो । मेरा प्रश्नका प्रत्येक उत्तरमा उनी क्रुद्ध देखिन्थिन् । क्रोध सौन्दर्यको एक गुण हो कि होइन ? यस्तो लाग्थ्यो, मसँगको अन्तर्वार्ता उनका लागि पि्रय थिएन, समयले उनीसामु ल्याइपुर्‍याएको बाध्यता मात्र थियो । यद्यपि, यस र्वार्ताको आयोजना बाध्यकारी छँदै थिएन । पुरुषबारे प्रश्नहरू तेस्र्याइँदा उनी अझै रिसाएकी थिइन् । 'मलाई यसरी कुनै वर्ग छुट्टयाएर कुरा गरेको मन पर्दैन,' उनले भनेकी थिइन्, 'सबै पुरुष फरक हुन्छन् । सबैलाई फरक नजरले हेर्छु । कसरी छुट्टयाउनु ? मलाई यस्ता प्रश्न मन पदर्ैैनन् ।' ओके, यी कुरा जेनिशालाई मन नपर्ने रहेछन् । आश्चर्य त त्यसबेला लाग्यो जब एउटी घोषित सुन्दरीका समाजमा सँगै बस्नुपर्ने अनिवार्य वर्गबारे कुनै सकारात्मक धारणा छैन । उनी पुरुषबारे बोल्न डराउँछिन् । अन्तर्वार्ताको सुरुमै उनले भनेकी थिइन्, 'मलाई मेरा व्यक्तिगत लाग्ने प्रश्नहरू नसोध्नुहोला ।' तर, मेरो मुखबाट निस्किहाल्यो प्रश्न— कसैलाई प्रेम गर्नुभयो ? 'यो सामान्य कुरा हो, सबैको जीवनमा हुन्छ । अब मलाई मेरा व्यक्तिगत कुरा नसोध्नुस् ।' अब के सोध्ने ? जे सोध्छु भनेर हिडेन ट्रेजरनजिकैको नाकै फुटाउलाझैँ फोहोर बाग्मती नाघेर त्यहाँ पुगेको थिएँ त्यो पूरा नहुने भो । हुनत, सबै अन्तर्वार्ता कहाँ आफूले भनेजस्ता हुन्छन् र ? मन बुझाएँ । *** मधुर प्रकाशमा केहीछिनमै मिस नेपाल घोषणा हुँदै थियो । अहिलेसम्म कसैलाई नभनेको आफ्नो जीवनको अविस्मरणीय क्षणका बारेमा जेनिशा भन्दै थिइन्, 'म नौ कक्षा पढ्दै थिएँ, मलाई फेयर लेडी शीर्षकको नाटकको मुख्य भूमिका निर्वाह गर्न छनोट भइसकेपछि पनि अन्तिम अवस्थामा उक्त भूमिका खोसिँदाको दुःखद अनुभव जुन अहिलेसम्म मैले कसैलाई भनेकी थिइनँ' त्यही दुःखद अनुभवबाट हारपछि पनि जीवन फेरि प्रारम्भ गर्न सकिन्छ भन्ने सिकाइबाट यहाँसम्म आइपुगेको बताएकी थिइन् जेनिशाले । उनले दिएको यही जवाफले आगामी डिसेम्बर महिनामा दक्षिण अपि|mकाको जोहानेसवर्गमा आयोजना हुने 'मिस वल्र्ड— २००९' मा नेपालको प्रतिनिधित्व गर्ने अवसर दिएको छ । के सपना पालेर हुर्केकी थिइन् जेनिशा ? 'म दार्जिलिङमा पढ्दैताका मिस नेपाल हुने सपना देख्थेँ । हुन्छु जस्तो नलागे पनि हुनुपर्‍यो जस्तो लाग्थ्यो । त्यही सपनाले डोर्‍याएर यहाँसम्म ल्याएको हो,' उनले भनिन् । यिनी सानैमा पढ्न दार्जिलिङ पुगिन् । पाँच फिट दुई इन्च अग्ली यिनले सुनाइन्, 'मैले पढ्ने स्कुल राम्रो थियो । तर, मलाई खुब नोस्टाल्जियाले सताउँथ्यो । तर, स्कुलभन्दा बाहिरको वातावरणसँग मतलब हुन्थेन । दार्जिलिङको फेसनले भने केही प्रभाव पारेको थियो नै,' उनले सुनाइन् । उनी उता छँदा आमाले माया गरेर बोलाएको, काखमा राखेको र म्वाइँ खाएको खुब सम्भिmन्छिन् । 'आमाको मायाले बढी सताउँथ्यो,' उनले भनिन् । तर, समयले यिनलाई दार्जिलिङको हरमोन स्कुलमै भुलायो । यिनी नेपाल फर्केर मल्पी इन्टरनेसनल कलेजमा 'ए' लेभलमा भर्ना भइन् । अहिले डब्लुएलसी कलेजमा पढ्दै गरेकी जेनिशाले सुनाइन् । 'आफ्नो घरै प्यारो हुँदोरै'छ । आफ्नाको माया नै प्यारो लाग्दोरहेछ ।' सन् २००५ मा मिस तामाङको उपाधि जितेर मिडिया क्षेत्रमा प्रवेश गरेकी थिइन् जेनिशा । यति छिट्टै आफूलाई उत्कृष्ट मोडलका रूपमा उनले उभ्याइसकिन् । सन् २००८ मा उनले ब्युटी अफ वल्र्डमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । कान्तिपुर टेलिभिजनको घरबेटी बा टेलिशृंखलादेखि पछिल्लो फिल्म मेरो एउटा साथी छसम्मको यात्रा उनले छिचोलिसकिन् । मिस नेपाल भइसक्दासम्म उनी केही विज्ञापनमा पनि अटाइसकेकी छिन् । हुनत, पछिल्लो समय रेश्मा सुनुवारको मै ठूली भैछु रे ! म्युजिक भिडियोबाट उनी चर्चाको शिखरमै पुगिन् । 'अँ, त्यो म्युजिक भिडियोले मलाई चर्चाको माथि पुर्‍यायो,' उनले सुनाइन् । अहिलेकी सबैभन्दा माथिल्लो सेलिबि्रटी जेनिशालाई के गर्न मन पर्छ होला ? 'मलाई भलिबल र टेनिस खेल्न मन पर्छ । पौडी खेल्न पनि मन पर्छ । पुराना सिक्का पनि संकलन गर्छु ।' उनले मेरो अन्तर्वार्तामा मिस नेपालसँग सम्बन्धित विषयबारे मात्र कुरा गर्न चाहिन् । ***** हुनत, मिस नेपाल उपाधिसँगै थुप्रै अवसरका मार्ग पनि प्रशस्त हुन्छन् । साधारण युवतीबाट सेलिबि्रटीसम्मको यात्रा मिस नेपालको उपाधिसँगै तय हुन्छ । तर, जेनिशा पहिल्यैकी सेलिबि्रटी हुन् । उनलाई धेरैले चिन्थे पनि । मोडल र अभिनेत्रीको रूपमा उनको छुट्टै छाप बसिसकेको थियो । सेलिबि्रटी मोडल मिस नेपालका रूपमा छनोट भएको यो पहिलोपटक हो । एउटी सेलिबि्रटीलाई के खरखाँचो पर्‍यो मिस नेपाल बन्न ? 'मिस नेपाल आफ्नो फेम बनाउन हो, सेलिबि्रटी बन्न होइन । मेरो सानैदेखिको सपना थियो । यो नाम मात्रै होइन, मान्छेको पर्सनालिटी पनि हो । त्यसैले म आपmनो पर्सनालिटी राम्रो बनाउन चाहन्थेँ,' उनले मिस नेपालको अवसर र सम्भावनाबारे भन्न थालिन्, 'मिस नेपाललाई अवसर धेरै हुन्छन् । यसअघिका मिस नेपालको उदाहरण हेर्ने हो भने पनि समाजमा उनीहरू सम्मानित जीवन बाँचेका छन् । मिस नेपाल भएपछि देशको प्रतिनिधित्व गर्दै विदेशसम्म पुग्ने अवसर जुर्छ । ग्ल्यामर क्षेत्रका धेरै सम्भावना हुन्छन् ।' विगतका वर्षहरूमा जस्तो यसपालि मिस नेपालमा भएन । मिस नेपाल प्रतियोगिताको यसपटकको संस्करणमा पुरस्कार राशि कटौती भयो । यसअघि विजेताले स्कुटरसहित एक लाख नगद पुरस्कार पाउने गरेकोमा यसपटक भने विजेताले ५० हजार मात्र नगद पुरस्कार प्राप्त गरिन् । यसैगरी फस्र्ट रनर अप र सेकेन्ड रनर अपले क्रमशः ६० हजार र ४० हजार पाउने गरेकोमा यसपटक २५ हजार र १५ हजार मात्र पाए । कस्तो लाग्यो यो निर्णय ? 'त्यो त आयोजकले आफ्नो अवस्था हेरेर निर्धारण गर्ने हो । यसमा हाम्रो भन्नु केही छैन,' जेनिशाको उत्तर थियो । ***** यसपालि मिस नेपालका लागि १६ जना छानिएका थिए । तर, अन्तिम समयमा लिंका शाक्यले व्यक्तिगत कारण देखाउँदै आफ्नो सहभागिता फिर्ता लिएपछि अन्तिम प्रतिस्पर्धा १५ जना सहभागीबीच भएको थियो । जम्मा १५ जनाबीच कसरी नेपालभरिकै सुन्दरी छुट्टयाउन सकिन्छ ? 'मिस नेपाल मात्र नेपालभरिकै सुन्दरी होइन । मैले त प्रतिनिधित्व मात्र गर्ने हो सुन्दरीहरूको । म मात्र सबैभन्दा राम्री होइन ।' हातखुट्टा राम्रोसँग नचल्दै पनि आफ्नो सिर्जना तिखारिरहेकी धनकुटाकी झमक घिमिरेलाई 'नेपाल सुन्दरी' भने हुुन्न ? 'मान्छे राम्रो अनुहारले मात्र हुँदैन । उसको सिर्जनाशक्ति पनि राम्रो हुनुको मापक हो । उनीहरू पनि राम्रा हुन्छन् । सुन्दर हुन्छन् । विचार सुन्दर हुन्छ उनीहरूको । बौद्धिक वर्ग झन् सुन्दर हो,' उनले भनिन्, 'मिस नेपाल भनेको नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा प्रतिनिधित्व गर्ने प्रक्रिया मात्र हो । त्यहाँ आफ्ना नियम हुन्छन् ।' त्यसो भए समाज परिवर्तनमा मिस नेपालको भूमिका के हुन सक्छ त ? 'अहिले मेरो कुरा सबैले सुन्छन् । मिस नेपालले सामाजिक सन्देश दिन सक्छे । मिस नेपालको यही प्लेटर्फम प्रयोग गर्दै म पनि समाज सुधार तथा समाजको परिवर्तनका लागि प्रभावकारी भूमिका निर्वाह गर्छु ।' सधैँजसो मिस नेपाल छानिएकाहरू मिस वल्र्डमा जाने प्रयास गर्छन् । कति त्यहाँसम्म पुग्छन्, कति पुग्दैनन् । तर, नेपालबाट पुगेकाले कहिल्यै उपाधि जितेका छैनन् । विश्वभरिबाट आएका मिसहरूसँग हाम्रा मिस सधैँ कमजोर हुन्छन्, किन ? 'हामी सानो देशबाट पुगेका हुन्छौँ । हाम्रो तयारी पनि खासै पुग्दैन,' जेनिशाले सुनाइन्, 'हामी उनीहरूसँग निकै कुराले कमजोर हुन सक्छौँ ।' अब हाम्री 'नेपाल सुन्दरी' जेनिशा पनि मिस वल्र्डमा जाँदै छिन् । मिस वल्र्ड प्रतियोगिताको तयारी कस्तो हुँदै छ ? 'हामी भित्री तयारीमा छौँ । संसारभरिको संस्कृति फरक हुन्छ । म पनि आफ्नो संस्कृति उता पुगेर देखाउने प्रयास गर्ने हो । मिस वल्र्ड प्रतियोगितामा म नेपालबाट प्रतिनिधित्व गर्दै छु ।' मिस नेपाल र ग्ल्यामर सँगै जोडिन आउने विषय हुन् । एकविना अर्को जीवित रहँदैन । के मिस नेपाल ग्ल्यामरस हुनैपर्छ ? 'मिस नेपाल ग्ल्यामर विषय होइन । यहाँ त बोली र विचार प्रस्तुत हुन्छ । सबै कुरा आफूभित्र कसरी अनुभूत गरिन्छ, त्यही ग्ल्यामर हो,' नेपाल सुन्दरीले सुनाइन्, 'ग्ल्यामरको अर्थ हामीले साह्रै परम्परागत रूपमा बुझेका छौँ । यो अंगप्रदर्शन हुँदै होइन । हामी त हाम्रो बोलाइ, हिँडाइ र सम्पूर्ण प्रस्तुतिलाई ग्ल्यामर रूपले हेर्छौं । हामी ग्ल्यामरस होइनौँ ।' अनि ग्ल्यामरस नभए पनि जेनिशाको कोही 'डि्रम डेट' होला नि ? 'मेरो कोही डि्रम डेट छैन । म मान्छेको रूप हरेर डेट जान्नँ । उसको रूपभन्दा पनि विचार ठूलो कुरा हो । डेट गए पनि विचार सुन्दर भएको मान्छेसँग मात्र डेट जान्छु ।' जेनिशाको परिवार बौद्धमार्गी हो । बौद्धधर्मको दर्शन र सुन्दरता कसरी मेल खान सक्छ होला ? 'म केही राम्रो दिनुहोस् भन्छु बुद्धलाई । जीवन सुन्दर छ । आफ्नो मुटुलाई पछ्याउनुपर्छ । सबै धर्म सुन्दर हुन्छन् । र, मान्छेको मुटु पनि सुन्दर,' उनले सुनाइन्, 'सुन्दरताको परिभाषा सबै धर्मसँग छ ।'