Naya Patrika: सिंगापुर जानुअघि नै गिरिजाबाबुलाई क्यान्सरको शंका थियो : सुजाता सिंगापुर जानुअघि नै गिरिजाबाबुलाई क्यान्सरको शंका थियो : सुजाता ================================================================================ Naya Patrika on 30/11/2009 07:35:00 नयाँ पत्रिका काठमाडौं, १४ मंसिर उपप्रधानमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई क्यान्सरको शंका रहेको बताएकी छिन् । उपचारका लागि सिंगापुर जानुअघि सभापति कोइरालालाई क्यान्सरको शंका आफूहरूले गरेको बताइन् । तर, उनले सभापति कोइरालालाई क्यान्सर भएको हो वा होइन भन्ने केही खुलाएकी छैनन् । कोइरालाको छोरीसमेत रहेकी सुजातासँग सञ्चारकर्मीहरूले कांग्रेस सभापति कोइरालाई क्यान्सर भएको हो ? भनेर प्रश्न गरेका थिए । उनले भनिन्, 'डाइनोसिस गर्न जानुभन्दा अघि हामीलाई क्यान्सरको शंका भएको थियो ।' सुजाताले थप केही भन्नुअघि आयोजक रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला भने, 'दिदी यो त वाहियात कुरा हो, होइन दिदी ?' धमलाको यो टिप्पणीपछि सुजाता पत्रकार सम्मेलनबाट उठेर हिँडिन् । त्यसअघि सुजाताले पार्टी उपसभापति रामचन्द्र पौडेलसहितका केही वरिष्ठ नेता शान्तिप्रक्रिया भाँड्न लागिपरेको आरोप लगाएकी छिन् । आइतबार होटल माउन्टेनमा आयोजित कार्यक्रममा सुजाताले केही दिनअघि पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँगको भेटमा ती नेताले उच्चस्तरीय राजनीतिक संयन्त्रको विरोध गर्दै संयन्त्र बन्नै नदिने बताएको जानकारी दिइन् । संयन्त्र गठनका लागि छलफल गर्न कोइरालानिवास बेलाइएको भेटमा संसदीय दलका नेतासमेत रहेका पौडेल, उपसभापति प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. रामशरण महतलगायत नेताहरूले संयन्त्रको विरोध गरेको बताइन् । 'उहाँहरू संयन्त्र बन्दैन, बन्न दिँदैनौ, द्वन्द्व भए होस् भनेर हिँड्नुभयो,' उनले भनिन्, पदमा बसेर यस्तो कुरा गर्ने ? शान्तिप्रक्रिया बिथोलेर मुलुकलाई कहाँ पुर्‍याउन लागिरहनुभएको छ उहाँहरू ।' मुलुक ठूलो द्वन्द्वमा फस्न लागेको भन्दै उच्चस्तरीय संयन्त्र नबने शान्तिप्रक्रिया अवरुद्ध हुने भन्दै सभापति कोइरालाले चिन्ता व्यक्त गरेको उनले बताइन् । सुजाताले पार्टीभित्रको विरोधको बाबजुत पनि उच्चस्तरीय राजनीतिक संयन्त्र छिट्टै गठन हुने बताइन् । 'उच्चस्तरीय राजनीतिक संयन्त्रले शान्तिप्रक्रिया, नयाँ संविधान र मुलुकका विद्यमान समस्याको समाधान गर्ने छ,' उनले भनिन् । कांग्रेस सभापति कोइरालालाई राष्ट्रपतिको लोभ नभएको बताउँदै सुजाताले भनिन्, 'उहाँ -गिरिजाप्रसाद) ले डा. रामवरण यादवलाई राष्ट्रपति बनाउनुभएको हो, उहाँलाई हटाएर आफू किन बन्नुपर्‍यो ।' एकीकृत माओवादीलाई साथमा नलिई शान्तिप्रक्रिया निष्कर्षमा नपुग्ने दाबी गर्दै सुजाताले भनिन्, 'संविधान निर्माण र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन माओवादीलाई साथ लिनै पर्दछ । 'उहाँहरू उच्चस्तरीय राजनीतिक संयन्त्रमा बस्नुभयो भने मुलुकलाई राम्रो हुन्छ,' सुजाताले भनिन् ।'