Naya Patrika: 'सरकार परिवर्तनको कुरै भएको छैन’ 'सरकार परिवर्तनको कुरै भएको छैन’ ================================================================================ Naya Patrika on 23/11/2009 04:42:00 कोइराला फर्के नयाँ पत्रिका काठमाडौं, ७ मंसिर कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला स्वास्थ्य उपचार गराएर आइतबार स्वदेश फर्केका छन् । सिल्क एयरको विमानबाट कोइराला बिहान ११:४५ मा काठमाडौं आइपुगेका हुन् । २८ कात्तिकमा उपचारका लागि कोइराला सिंगापुर गएका थिए । फोक्सोमा लाग्ने क्रोनिक ब्रोन्काइटिसबाट पीडित कोइराला दाहिने फोक्सोको तल्लो भागमा देखिएको निमोनियाको इन्फेक्सनमा कमी नआएपछि चिकित्सकको सल्लाहमा त्यसतर्फ गएका थिए । ६ घन्टा लामो हवाइयात्रापछि कोइराला काठमाडौं आइपुगेका हुन् । अक्सिजन लिएर स्वदेश फर्केका कोइराला क्रोनिक अब्सट्रयाटिक पल्मोनरी डिजिज नामक रोगबाट पीडित छन् । कोइराला सिंगापुरबाट झिकाइएको एयर एम्बुलेन्सबाट उपचारका लागि त्यसतर्फ गएका थिए । कांग्रेस सभापति कोइरालाको सिंगापुरको टि्रपलवन समरसेटस्थित ग्लेनिगल्स अस्पतालमा एक साता लामो उपचार गराइएको थियो । कोइरालाको त्यहाँ निमोनिया र छातीको इन्फेक्सनका साथै एड्भान्स टेक्नोलोजीबाट शरीरका सबै अंगको परीक्षण गरिएको थियो । कोइरालाको साथमा चिकित्सकद्वय मनबहादुर केसी र गेजु पोखरेलका साथै छोरी सुजाता, उनको सुरक्षा सहयोगी महेन्द्र मरासिनी, भतिजा डा. शेखर र निजी सचिव शेखर थापा पनि सिंगापुर गएका थिए । उनलाई लिन सिंगापुरबाट दुई चिकित्सक र एक नर्स आएका थिए । उपचारका क्रममा सिंगापुर रहेकै बेलामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटी छिट्टै राजनीतिक निकास निकाल्ने आश्वासन दिएका कोइरालाले स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा केही बोलेनन् । त्रिभुवन विमानस्थलको आन्तरिक उडानको बाटो प्रयोग गरेर बाहिरिएका कोइरालाले उपस्थित नेता तथा कार्यकर्तालाई हात मात्र हल्लाए । उनको स्वागतका लागि कांगे्रस नेता तथा कार्यकर्ता विमानस्थलमा ठूलो संख्यामा उपस्थित थिए । विमानस्थलबाट कोइरालालाई निवास छोड्न केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, पूर्णकुमार शेर्मा, दिलबहादुर घर्ती गए पनि अन्य नेता गएनन् । कोइरालासँगै आएकी सुजाता पनि महाराजगन्ज गएर मात्र आफ्नो निवास गएकी थिइन् । उनको उपचारका क्रममा सँगै रहेकी सुजाताले कोइरालाको स्वास्थ्य पूर्ण रूपमा ठीक भएको जानकारी दिइन् । उनले भनिन्, 'गिरिजाबाबु गंगालाल भर्ना हुनुअघि जस्तै स्वस्थ हुनुभएको छ ।' चिकित्सकहरूले एक महिनामा पुनः परीक्षणका लागि सिंगापुर आउन भनको सुजाताले जानकारी दिइन् । ' सरकार परिवर्तनको कुरै भएको छैन’ काठमाडौं/ कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी अध्यक्ष प्रचण्डसँग सिंगापुरमा भएको भेटमा सरकार परिवर्तनको विषयमा कुनै कुरा नभएको स्पष्ट पारेका छन् । कोइरालाको स्वास्थ्य अवस्था बुझ्न आइतबार साँझ उनकै निवास महाराजगन्ज पुगेका प्रधानमन्त्री माधवकुमार नेपालसँग कोइरालाले यस्तो बताएका हुन् । एक साता लामो उपचारपछि आइतबार स्वदेश र्फकेका कोइरालाले सिंगापुरमा प्रचण्डसँग बजेट पारित गर्ने र उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने विषयमा मात्र कुरा भएको जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले बताए । 'सरकार परिवर्तनको भ्रमपूर्ण प्रचारको पछि नलाग्नुहोला, सरकार परिवर्तनको विषयमा कुरै भएको छैन, सहमतिबाटै गतिरोध अन्त्य गर्नुपर्छ,' कोइरालाको भनाइ उद्धृत गर्दै रिजालले भने । सिंगापुर भेटबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै कोइरालाले माओवादी अध्यक्ष प्रचण्डलाई तकाल संसद् अवरोध हटाएर बजेट पारित गर्ने वातावरण मिलाउन आफूले भनेको बताएका थिए । त्यस्तै सबै राजनीतिक समस्याको हल गर्ने उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने भन्दै त्यसका लागि सहयोग गर्न आग्रह गरेको कोइरालाले प्रधानमन्त्रीलाई बताएका थिए । कोइरालाले वर्तमान सरकारको विकल्प नभएको भन्दै यसैलाई अझ प्रभावकारी बनाएर अघि बढाउनुपर्ने बताएको रिजालले बताए । कोइरालाले माओवादी अध्यक्ष प्रचण्डले सरकार परिवर्तनका विषयमा दिएको अभिव्यक्ति र प्रेसमा आएको कुराप्रति चासो व्यक्त गरेका थिए । प्रधानमन्त्री नेपालसँग कोइरालाले भने, 'प्रचण्डजीले के-के भन्नुभएछ, प्रेस पनि के के लेख्छन्,' उनको भनाइ उद्धृत गर्दै भेटमा सहभागी कांग्रेस नेता कृष्ण सिटौलाले भने । बजेट पारित गर्न आफूले माओवादी अध्यक्षसँग गरेको आग्रह पूरा भएको भन्दै कोइरालाले प्रधानमन्त्री नेपाललाई उच्चस्तरीय संयन्त्र गठनको पहल गर्न आग्रह गरेको सिटौलाले जानकारी दिए । सिटौलाका अनुसार कोइरालाले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन र समयमा नै संविधान निर्माण गर्न सहमतिको विकल्प नभएको तथा तुरुन्त उच्चस्तरीय संयन्त्र निर्माणका लागि सहयोग गर्न आग्रह गरेको बताए । कोइरालाको भनाइ उद्धृत गर्दै सिटौलाले भने, 'उच्चस्तरीय संयन्त्र तुरुन्त गठन गर्न सके राजनीतिक समस्या समाधान गर्ने शीर्ष नेताहरूको एउटा थलो बन्छ, त्यसबाट नै सबै समस्याको समाधान गर्न सकिन्छ ।' कोइरालाले जारी राजनीतिक गतिरोध अन्त्य र उच्चस्तरीय संयन्त्र गठनका लागि आफूले पनि पहल थाल्ने आश्वासन प्रधानमन्त्रीलाई दिएका छन् । प्रतिउत्तरमा प्रधानमन्त्री नेपालले आफू उच्चस्तरीय संयन्त्र गठनका लागि तयार रहेको भन्दै त्यसका लागि सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए । प्रधानमन्त्री नेपालले सोमबार बिहान सात बजे सत्तारुढ २२ दलको बैठक बालुवाटारमा बोलाएको जानकारी दिँदै कोइरालालाई उपस्थित हुन आग्रह गरेको सिटौलाले बताए । बजेट पारितलगायतका समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री नेपालले सोमबार बिहान सात बजे गठबन्धनका २२ दलको बैठक बालुवाटारमा बोलाएका छन् ।