Naya Patrika: '१२ बुँदे सहमति पुनरावलोकन हुनै पर्छ’ '१२ बुँदे सहमति पुनरावलोकन हुनै पर्छ’ ================================================================================ Naya Patrika on 07/11/2009 05:25:00 नयाँ पत्रिका झापा, २० कात्तिक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे सहमति पुनरावलोकन गर्नुपर्ने बताएका छन् । उनले नयाँ सहमति कायम नभए शान्तिप्रक्रिया निष्कर्षमा पुग्न नसक्ने दाबीसमेत गरेका छन् । 'पुनरावलोकन गरेर नयाँ सहमति कायम भयो भने मात्र शान्तिप्रक्रिया निष्कर्षमा पुग्नसक्छ,' झापाको बिर्तामोडमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, 'नयाँ सहमतिकै आधारमा संविधान पनि लेखिने हो ।' उनले १२ बुँदे सहमति पुनरावलोकनका लागि तयार हुन कांग्रेस र एमालेलाई आग्रहसमेत गरे । आफू प्रधानमन्त्री हुँदा पनि सो सहमति पुनरावलोकन गर्न प्रस्ताव गरेको बताउँदै उनले पुरानो सहमतिका आधारमा निर्णयमा पुग्न नसकिने दोहोर्‍याए । 'त्यतिवेला एमाले र कांग्रेसले मेरो कुरालाई गम्भीरतापूर्वक लिएनन्,' उनले भने, 'तर अहिले उनीहरूलाई पछुतो भइरहेको छ ।' नेपालमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ भन्ने राष्ट्रसंघको धारणालाई हस्तक्षेप भन्नु मूर्खता भएको बताउँदै अध्यक्ष प्रचण्डले दलहरू लोकतन्त्र मास्ने षड्यन्त्रमा लागेको आरोप लगाए । बिहीबार बसेको सत्तारुढ दलको बैठकले नेपालको आन्तरिक मामिलामा राष्ट्रसंघले हस्तक्षेप गरेको निष्कर्ष निकालेको थियो । 'दलहरूको यो भनाइ लोकतन्त्र मास्ने, शान्तिप्रक्रिया अवरुद्ध पार्ने र संविधान नबनाउने चालबाजी हो,' अध्यक्ष प्रचण्डले भने, 'यसले कांग्रेस-एमालेलगायत दलहरू रिमोट कन्ट्रोलबाट चलेको स्पष्ट हुन्छ ।' राष्ट्रपतिले चालेको असंवैधानिक कदम नसच्चिएसम्म कुनै पनि सहमति हुन नसक्ने दोहोर्‍याउँदै माओवादी अध्यक्ष प्रचण्डले सिंहदरबारमा लाखौँलाख जनता उतारेर सहमतिका लागि सरकारलाई बाध्य पार्ने चेतावनी दिए । उनले सहमतिका लागि तीनवटा विकल्प औँल्याए । प्रचण्डले राष्ट्रपतिको असंवैधानिक कदमका विषयमा संसद्मा छलफल हुन दिए पनि सहमति हुन सक्ने बताए । 'राष्ट्रपतिले गल्ती स्विकार्दै सार्वजनिक सम्बोधन गरे पनि सहमतिको वातावरण बन्न सक्छ,' उनले भने, 'साझा संकल्प प्रस्तावमा राष्ट्रपतिको कदम गल्ती थियो भनेर स्पष्ट किटान नभएसम्म सहमति हुँदैन ।' सत्तारुढ दलले सरकारमा सहभागी हुन गरेको आह्वानले आफूहरूलाई लज्जाबोध गराएको भन्दै प्रचण्डले विदेशी शक्तिको इशारामा सरकार चलेको दाबी गरे । उनले संविधान मिचेर बनेको सरकारमा जाने सम्भावना नरहेको बताए । सरकारमा २२ दलको सहभागिता प्रचारबाजी मात्र भएको बताउँदै अध्यक्ष प्रचण्डले त्यहाँ १० वटा दलमात्र रहेको जिकिर पनि गरे । 'ती दस दल पनि दुई/चार दिनमा कहाँ पुग्छन्,' उनले भने । 'फिर्ता होइन, स्थगित ’ यसैबीच माओवादी अध्यक्ष प्रचण्डले २३ कात्तिकमा गर्ने भनिएको स्वायत्त गणराज्य घोषणा कार्यक्रम फिर्ता नभई स्थगित मात्र गरिएको बताएका छन् । क्रान्तिकारी पत्रकार संघ इलामले शुक्रबार गरेको पत्रकार सम्मेलनमा प्रचण्डले सबै पक्षसँगको सल्लाहमा कार्यक्रम स्थगित गरिएको जानकारी दिए । उनले भने, 'कार्यक्रमलाई प्रचारात्मक मात्र बनाउन नहुने सुझाब धेरैतिरबाट आएपछि स्थगित गरेका हौँ, फिर्ता लिएका होइनौँ ।' माओवादीको नेतृत्वमा राष्ट्रिय सरकारको गठन र राष्ट्रपतिको कदम सच्चिए मात्र राजनीतिक निकास निस्कने प्रचण्डले दोहोर्‍याए । अहिलेको माओवादी आन्दोलनले सरकारलाई सही बाटोमा हिँडाउन सहयोग गरिरहेको बताउँदै उनले आन्दोलनकै कारण सरकार लचिलो हुँदै गएको दाबीसमेत गरे । 'सरकार हाम्रो आन्दोलनकै कारण लचिलो हुँदै छ, हामी वार्ता र आन्दोलनलाई एकैसाथ अघि बढाउँदै जानेछौँ,' उनले भने । निर्धारित समयमा नयाँ संविधान नबने के हुन्छ ? भन्ने प्रश्नको जवाफमा उनले भने, 'संविधान नबने के हुन्छ भन्नेमा हामी पुगेका छैनौँ, आन्दोलनलाई कसरी सशक्त बनाउन सकिन्छ भन्नेमा अहिले माओवादी केन्द्रीत छ ।'