सार्वजनिक संस्थान कार्यकर्ता भर्तीकेन्द्र : आयोग
संस्थान सुधार्न कार्यदल बनायो प्रशासन पुनर्संरचना आयोगले
नयाँ पत्रिका
काठमाडौं, २९ कात्तिक प्रशासन पुनर्संरचना आयोगले सार्वजनिक संस्थानमाथि अध्ययन गर्ने भएको छ । सार्वजनिक संस्थान राजनीतिक भर्तीकेन्द्र बनेको भन्दै आयोगले संस्थानमाथि अध्ययन गर्ने भएको हो । सार्वजनिक संस्थानमा कर्मचारी नियुक्ति योग्यता, दक्षता र क्षमताका आधारमा नभई राजनीतिक आस्था, चाकरी र नाताका आधारमा हुने गरेकैले संस्थानका कामकारबाही गतिशील नभएको ठहरसमेत आयोगले गरेको छ । आयोगले सबै सार्वजनिक संस्थानमा कर्मचारी भर्ना प्रक्रियालाई निष्पक्ष एवं पारदर्शी बनाउन आवश्यक सुझाब दिन आयोगकी सदस्य विजया केसीको संयोजकत्वमा एक कार्यदलसमेत गठन गरेको छ । कार्यदलले सबै सार्वजनिक संस्थानको कर्मचारी भर्ना प्रक्रिया तथा कर्मचारीको सेवा-सुविधा र संस्थानको हालको अवस्थाबारे गहन अध्ययन गरी प्रतिवेदन पेस गर्नेछ । सार्वजनिक संस्थानमा 'राम्रा मान्छेभन्दा पनि हाम्रा मान्छे' राख्ने पद्धतिले संस्थानमा विकृति हाबी रहेको संयोजक केसीले बताइन् । आयोगका अनुसार हाल सञ्चालनमा रहेका ३६ मध्ये १९ वटा सार्वजनिक संस्थान घाटामा छन् । घाटामा चलिरहेका अधिकांश संस्थान टाट पल्टने अवस्थामा छन् । 'संस्थान टाट पल्टने अवस्था आउनुको प्रमुख कारण नै दक्ष जनशक्तिको अभाव हो,' संयोजक केसीले नयाँ पत्रिकासँग भनिन्, 'संस्थानमा योग्यता, दक्षता र क्षमताका आधारमा कर्मचारी नराखेसम्म अवस्थामा सुधार आउन सक्दैन ।' तत्कालीन ०४७ को संविधानले नै सार्वजनिक संस्थानमा मनपरी कर्मचारी भर्ना गर्न पाउने उन्मुक्ति दिएको आयोगको आरोप छ । आयोग पदाधिकारीका अनुसार पञ्चायतकालीन संविधानमा कर्मचारी नियुक्ति लोकसेवा आयोगको सामान्य सिद्धान्तका आधारमा गर्नुपर्ने प्रावधान थियो, संस्थानले लोकसेवा आयोगको सिद्धान्त र परामर्शमा कर्मचारी नियुक्त गर्थे । तर, ०४६ यताका सरकारले लोकसेवा आयोगको सामान्य सिद्धान्तविपरीत संस्थानमा राजनीतिक हस्तक्षेप बढाएको आयोगका पदाधिकारीको ठहर छ । आयोग सदस्य तथा कार्यदलकी अध्यक्ष केसीका अनुसार कार्यदलले विशेष गरी हाल संस्थानमा कर्मचारी भर्ना प्रक्रिया तथा सेवा, सर्त र सुविधाका बारेमा बृहत अध्ययन गर्नेछ । सार्वजनिक संस्थानका लागि छाता कानुन ल्याएर कर्मचारी भर्ना प्रक्रिया तथा अन्य कार्यसञ्चालनमा एकरूपता ल्याउने तयारीमा प्रशासन पुनर्संरचना आयोग रहेको छ ।
आयोग सदस्य अच्यूतराज राजभण्डारी पनि सार्वजनिक संस्थानलाई राजनीतिक भर्तीकेन्द्रबाट मुक्त गराउन कार्यदलले आवश्यक सुझाब दिनेगरी काम थालेको बताउँछन् । संयोजक केसीका अनुसार सार्वजनिक संस्थानमा आमूल सुधार ल्याउन हालको कर्मचारी नियुक्ति प्रक्रियामा पूर्णरूपले निषेध गर्न जरुरी छ । उनले सार्वजनिक संस्थानलाई सुधार गर्न आयोगले तीनवटा विकल्प अघिसारेको पनि जानकारी दिइन् । उनका अनुसार छाता कानुन निर्माण, लोकसेवामा जनशक्ति थप गरी कर्मचारी भर्नाको जिम्मेवारी लोकसेवा आयोगलाई दिने वा संस्थान सेवा आयोग बनाई सो आयोगलाई जिम्मेवारी दिनुपर्ने विकल्प आयोगले अघि सार्ने संयोजक केसीले जानकारी दिइन् । 'हाम्रो मुख्य उद्देश्य र निष्कर्ष संस्थानलाई भर्तीकेन्द्र हुनबाट रोक्नु हुनेछ, त्यहीअनुसार आवश्यक सिफारिस गर्छौं,' कसीले भनिन् ।



del.icio.us
Digg
Post your comment