पूर्वसल्लाहकारहरुसंग असन्तुष्ट छन् पूर्वराजा
पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा उनीसँग सबैभन्दा निकट रहेका शरदचन्द्र शाहले एक वर्षदेखि उनको 'दर्शन' पाएका छैनन् । पूर्वराजालाई भेट्न राजाका पूर्वसचिव तथा सहयोगी सचिव सागर तिमिल्सना, फणि पाठक र मधु तिमिल्सनामार्फत समय पाउन उनले पटकपटक 'बिन्ती जाहेर' गरे । तर, उनले अझै पनि समय पाउन सकेका छैनन् । स्रोतका अनुसार शरदचन्द्रले भेट्न बिन्ती जाहेर गरेको समाचार पूर्वराजाका सचिवहरूले उनलाई पनि जानकारी गराइसकेका छन् । तर, उनले भेट्ने समय नदिएकोबाटै प्रस्ट हुन्छ- पूर्वराजा उनका आफ्नै पुराना कतिपय सल्लाहकारसँग चिढिएका छन् ।
सल्लाहकारहरूकै विश्वासमा परेर ज्ञानेन्द्रले १९ माघको कदम चाले पनि पछि सल्लाहकारहरूले केही गर्न नसकेको र राजसंस्था असफल हुनुमा उनीहरूकै गलत सल्लाह मुख्य कारक रहेको पूर्वराजाको बुझाइ रहेको उनीनिकट स्रोतले दाबी गर्यो । जसका कारण यतिखेर पूर्वराजा ज्ञानेन्द्र १९ माघको कदममा प्रत्यक्ष या अप्रत्यक्ष रूपमा 'उक्साउने' सल्लाहकारहरूसँग टाढै बस्न चाहेका देखिन्छन् ।
त्यसो त आफ्नो प्रत्यक्ष शासनकालमा बनाएका दुईजना उपाध्यक्षहरू डा. तुलसी गिरी र कीर्तिनिधि विष्टलाई पनि पूर्वराजाले भेट्ने समय दिएनन् । भारत जानुपहिले गिरीले पूर्वराजासँग भेटन चाहेका थिए । उनी दुई महिना पहिले भारत गएका हुन् । जानुअघि गिरीले आफूनिकट केही सञ्चारकर्मीलाई घरमै बोलाएर कुराकानी गरेका थिए । 'मैले दिएको सल्लाह मौसुफले मानिबक्सेन,' गिरीले त्यतिखेर सञ्चारकर्मीबीच गुनासो गरेका थिए । प्रत्यक्ष शासनकालमा परराष्ट्रमन्त्री भएका रमेशनाथ पाण्डेसँग पनि अहिले पूर्वराजाको भेटघाट हुँदैन ।
पूर्वराजा ज्ञानेन्द्र तीन साता भारत भ्रमण जानुअघि उनले १९ माघको कदममा प्रत्यक्ष सहयोग पुर्याउने कसैलाई पनि भेट्न मानेनन् । उनी केही दिनपछि स्वदेश र्फकंदैछन् । बरु उनले राप्रपा नेपालका अध्यक्ष कमल थापा, जनशक्ति अध्यक्ष तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुरलाई भेटेको थिए । शाही शासनमा गृहमन्त्री भएका कमल थापालाई १९ माघको योजनाकार पनि भन्ने गरिन्छ । तर, उनको दाबी यस्तो छ, 'माघ १९ को कदम चालिसकेपछि त्यसको केही समयपछि म राजालाई सहयोग गर्न गृहमन्त्री भएको हुँ, तर माघ १९ को कदमको योजनाकार म होइन ।'
यता राजाले प्रत्यक्ष शासन गर्नुहुँदैन भन्ने सल्लाह दिने प्रभाकरशमशेर राणासँग भने पूर्वराजाको सम्बन्ध गणतन्त्र स्थापनापछि बढेको छ । राजाको प्रत्यक्ष शासनमा भने प्रभाकरका कुरा पूर्वराजाले सुन्दैनथे । त्यसमा पनि प्रभाकरका छोरा सिद्धार्थ र पारसबीच झगडा भएपछि सम्बन्ध अझै चिसिएको थियो । प्रभाकर १९ माघको कदमको पक्षमा थिएनन् । राजाले प्रत्यक्ष शासन गर्नुहुँदैन भन्ने उनको मत थियो ।
दरबारनिकट स्रोतका अनुसार पूर्वराजाले चालेको १९ माघको कदमका योजनाकारमा रमेशनाथ पाण्डे, शरदचन्द्र शाह र पशुपतिभक्त महर्जन मुख्य थिए । स्रोत भन्छ, १९ माघअघिसम्म पूर्वराजाले आफ्नै नातेदारलाई समेत आफूले प्रत्यक्ष शासन नगर्ने इच्छा व्यक्त गर्थे । शरद शाहकै सिफारिसमा भारतको बैंग्लोरबाट डा. तुलसी गिरीलाई बोलाइएको थियो । गिरी १९ माघको कदम चाल्नुभन्दा केही महिनाअघि सुटुक्क काठमाडौं आएका थिए । काठमाडौंमा उनलाई तत्कालीन राजासँग भेट गराउने काम गरिएको थियो । यो भेट पनि शाहले मिलाएका थिए ।
तुलसी गिरीलाई उपाध्यक्ष बनाएपछि आफू झनै बद्नाम भएको ज्ञानेन्द्रको बुझाइ छ । राजाका मन्त्रीहरूमा टंक ढकाल, भरतबहादुर जिसीलगायतका आधाभन्दा बढी मन्त्रीहरू श्ााहकै सिफारिसमा नियुक्त भएका थिए । तर, उनीहरू राजासंस्था जोगाउने र राजालाई लोकपि्रय बनाउनेभन्दा पनि आफ्नै स्वार्थमा केन्दि्रत भएको पूर्वराजाको विश्लेषण रहेको पनि स्रोतले बतायो । शाहका सिफारिसमा अवसर दिइएकाहरू कसैले पनि राजसंस्थाको पक्षमा कुनै काम नगरेको बुझाइ पूर्वराजाको छ । त्यसैले शरदचन्द्र शाहसँग पूर्वराजा आजभोलि सन्तुष्ट नभएको स्रोतको भनाइ छ ।
हुन त शाह र पाण्डे दुवैैले आफू राजाको सल्लाहकार नभएको दाबी गर्छन् । न त उनीहरूले १९ माघको कदममा आफ्नो हात रहेको नै स्वीकार पनि गर्छन् । 'म राजाको सल्लाहकार कहिले भइनँ, लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएका वेला प्रधानमन्त्रीको सल्लाहकार थिएँ,' केही दिनअघि नयाँ पत्रिकासँग पाण्डेले भने, 'माघ १९ पछि सूचना आयोगको अध्यक्ष मात्र थिएँ । यो कुरा मैले रायमाझी आयोगलाई पनि भनेको थिएँ ।'
पूर्वराजासँग अहिले आफ्नो भेटघाट भइरहेको वा नभएको बारे शाहले पनि उनले केही बताउन चाहेनन् । रमेशनाथ पाण्डेले भने राजासँग आफ्नो भेट नभएको बताए । 'राजासँग भेट हुँदैन,' उनले भने, 'माघ १९ को योजनाबारे पनि मलाई थाहा भएन ।' राजाको कदम असफल भएको सम्बन्धमा पनि उनले अमूर्त जवाफ दिए । भने, 'यो कुराको जिम्मा इतिहासलाई छाडौँ ।'
को-कोसँग भेट हुन्छ त ?
यसैगरी पूर्वसैनिकसचिव शान्तकुमार मल्ल, राजाको एडिसी भरतकेशरी सिंह तथा पूर्वरानी कोमलका दाजु सुरजशमशेर राणा, डिबी राणासँग अहिले पनि पूर्वराजाको नियमित भेटघाट हुने गरेको स्रोतको दाबी छ । भरतकेशरी सिंह पूर्वराजासँग भेटघाट हुने गरेको बताउँछन् । उनी आफू सल्लाहकार भने नभएको दाबी गर्छन् । यसैगरी राजाको पालामा केशरजंग रायमाझी पनि निकट मानिन्थे । त्यतिखेर आफूले पूर्वराजालाई राजनीतिक दलहरू र माओवादीसँग वार्ता गर्न सल्लाह दिएको तर अन्य सल्लाहकारहरूले पूर्वराजालाई गलत सल्लाह दिएर उक्साएको रायमाझी बताउँछन् । उनी पूर्वराजासँग कहिलेकाहीँ भेट हुने गरेको बताउँछन् ।
तर, शरदचन्द्र शाहले भने पूर्वराजासँग आफ्नो कुनै गुनासो नभएको बताउँछन् । यसैगरी १९ असोज ०५९ पछि प्रधानमन्त्री भएका लोकेन्द्रबहादुर चन्दले पूर्वराजासँग कहिलेकाहीँ भेट हुने गरेको बताउँछन् । उनी पनि पूर्वराजासँग कुनै गुनासो नभएको बताउँछन् । राजाको विषयमा आलोचना गर्ने तुलसी गिरी मिडियमा भने केही नबोल्ने बताउँछन् । भारत जानुअघि नयाँ पत्रिकाले उनीसँग कुरा गर्न खोज्दा उनले राजाको विषयमा बोल्न चाहेनन् । 'राजालाई पूर्वराजा नभनौँ । राजा कहिल्यै पूर्वराजा हुँदैनन्,' उनले यति मात्र भने ।
अन्तर्राष्ट्रिय क्षेत्रसँग लाइन मिलाउने जिम्मा लिएका रमेशनाथ पाण्डेले पनि पूर्वराजाको विषयमा खासै बोल्न चाहेनन् । केही समयअघि नयाँ पत्रिकाले सम्पर्क गर्दा उनले गणतन्त्र कार्यान्वयनपछि राजसंस्थाको अभावमा भएको रिक्त स्थानपूर्ति हुन नसकेको बताउँछन् । राजसंस्था फेरि फर्केपछि त्यो स्थापना हुन्छ त भन्ने जिज्ञासमा उनी यसको जिम्मा इतिहासलाई सुम्पिनुपर्ने बताउँछन् ।
पूर्वराजालाई भेट्न राजाका पूर्वसचिव सागर तिमिल्सना र मधु तिमिल्सना नियमित दरबार जाने गर्छन् । उनीहरू पूर्वराजा नागार्जुन बसे नागार्जुन र निर्मलनिवास बसे निर्मलनिवास जाने गर्छन् । यसैगरी फणि पाठक हप्तामा एक-दुई पटक र पशुपतिभक्त महर्जन हप्तामा दुई-तीन पटक जाने गर्छन् । महर्जन राजाका पूर्वमुख्यसचिव पनि हुन् । पूर्वराजासँग कसैले भेट गर्न चाहेमा मधु तिमिल्सना, फणि पाठक या सागर तिमिल्सिनासँग समय मिलाउने गर्छन् । सागर तिमिल्सिना त पूर्वराजा भारत गएको वेला पूर्वराजासँगै थिए ।
कस्ता छन् पूर्वसल्लाहकारहरू ?
शरदचन्द्र शाह
०४० सालमा सूर्यबहादुर थापा प्रधानमन्त्रीबाट हटेपछि उनले आफूमाथि भूमिगत गिरोहको षड्यन्त्र भएको भन्न थाले । त्यतिखेर थापाले शाहलाई इंगित गर्दै भूमिगत गिरोहको सदस्य भएको आरोप लगाए । उता, शाहले थापालाई चाँदीको कचौरामा कमिलाको संज्ञा दिए । शाह ०३३ सालमै खेलकुद परिषद्को सदस्यसचिव भए । ०४६ सालमा शाह जनसंख्या आयोगको उपाध्यक्ष भए । ०६१/६२ को आन्दोलनमा उनी सूचना आयोगको अध्यक्ष थिए । शाह फिल्डमार्सल सुरेन्द्रबहादुर शाहका छोरा हुन् । उनले त्रिभुवनकी भान्जी नयपाल राज्य लक्ष्मीसँग बिहे गरेका थिए । उनी पञ्चायतकालदेखि नै ज्ञानेन्द्रका सहयोगी मानिन्छन् । ०४६ सालको आन्दोलनपछि शाह केही समय विदेशमा बसेका थिए । ००४ सालमा उनी डिल्लीबजारमा जन्मिएका थिए । जनमत संग्रहका वेलामा पनि शाहले पञ्चायतको पक्षमा निकै सक्रिय थिए ।
प्रभुशमशेर राणा
प्रभुशमशेर राणा बहादुर शमशेरका नाति, नरशमशेर राणाको छोरा हुन् । उनी पूर्वराजासँग राजनीतिकभन्दा पनि व्यक्तिगत सहयोग मानिन्छन् । अहिले पनि प्रभुसँग पूर्वराजाको नियमित भेटघाट हुने गरेको बताइन्छ । प्रभु बाहिरिया मान्छेसँग भेटघाट गर्न त्यति रुचि राख्दैनन् । निर्वाचन आयोगको कार्यालय पछाडि कान्तिपथमा रहेको केही रोपनी मूल्यवान् जग्ग्ाा यिनले पूर्वयुवराजलाई दिएका छन् । उनी कान्तिपथमै बस्ने गर्छन् ।
प्रभाकरशमशेर राणा
यिनीसँग पूर्वराजाको सम्बन्ध बिगि्रएको छैन । उनी सोल्टी होटेलको सञ्चालक र पूर्वराजाको व्यापारिक सहयोगी पनि हुन् । उनी जुद्धशमशेरका नाति पनि हुन् । राजाको निजी भोजहरूमा यतिखेर प्रभाकार देखिने गरेको स्रोतको दाबी छ । प्रभाकरको छोरा सिद्धार्थ राणा र पारसबीच झगडा भएपछि केही समय पूर्वराजासँग यिनको भेटघाट चिसिएको थियो, तर अहिले सम्बन्ध सुधि्रएको छ । प्रभाकार राजाले प्रत्यक्ष शासन गर्नुहुँदैन भन्ने पक्षमा थिए ।
वीरेन्द्रबहादुर शाह लव राजा
लव राजाका रूपमा चिनिने वीरेन्द्रबहादुर शाह शरदचन्द्र शाहका काका हुन् । शरदसँग सम्बन्ध चिसिए पनि लव राजासँग भने पूर्वराजाको कुनै गुनासो छैन । ०३३ सालदेखि नै यिनी र ज्ञानेन्द्रको राम्रो सम्बन्ध भएको बताइन्छ । यिनी सल्यानी राजा गेहेन्द्रशमशेर राणाका छोरा हुन् । राष्ट्रिय निकुन्ज वन्यजन्तु कार्यालयका यिनी प्रमुख थिए । त्यतिखेर ज्ञानेन्द्र संरक्षक थिए । यिनी राजनीतिमा त्यति चासो राख्दैनन् ।
- भुवन शर्मा
From Other News sources (English)
Nepal PM reluctantly agrees to quit, falls in Chairman - Telegraphnepal.com
Nepal PM reluctantly agrees to quit, falls in ChairmanTelegraphnepal.comAccording to reports, the India indoctrinated Nepal's Prime Minister made this remark upon meeting Unified Maoists' Party...Nepal running on empty as energy crisis deepens - The News International
Nepal running on empty as energy crisis deepensThe News InternationalExperts say Nepal's huge mountain river system could be generating up to 83000 megawatts of power,...Nepal Internet pioneer Pun to speak at alma mater - Kearney Hub
Nepal Internet pioneer Pun to speak at alma materKearney HubKEARNEY — University of Nebraska at Kearney graduate Mahabir Pun, the 2007 recipient of Asia's equivalent...Photos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ... - National Post
National PostPhotos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ...National PostBy Gopal Sharma KATHMANDU — Hindu holy man Tarkeshwor Giri sat naked at...Nepal Telecom Selects Airspan for 4G Countrywide Coverage - MarketWatch (press release)
Nepal Telecom Selects Airspan for 4G Countrywide CoverageMarketWatch (press release)BOCA RATON, FL, Feb 22, 2012 (MARKETWIRE via COMTEX) -- Airspan Networks Inc., a leading provider...Log in
- '९१ लाख फिर्ता गर्ने’ अनुजा प्रहरी अनुसन्धानमा
- प्रधानमन्त्रीनिवासमै डिएसपीद्वारा महिला प्रहरीमाथि बलात्कार प्रयास
- ओलीको झन्डामुन्तिर लामबद्ध मलामीहरू
- 'मेरो कदम राष्ट्रको हितमा थियो, तर जनतालाई बुझाउन सकिनँ'
- बिपी, प्रचण्ड र भारत




del.icio.us
Digg
Post your comment