Thursday, Apr 17, 2014

आजबाट पाँच न्यायाधीश पदमुक्त पीडीएफ मुद्रण इमेल


नारायण काफ्ले/नयाँ पत्रिका
काठमाडौं, १९ मंसिर
सर्वोच्च अदालतमा बुधबार एकैदिन पाँचजना न्यायाधीश पदमुक्त हुने भएका छन् । नियुक्तिका मितिले बुधबारबाट नै उनीहरूको पदावधि सकिए पनि शपथ र अदालतको हाजिरी रेकर्डअनुसार २२ मंसिरबाट मात्र पदावधि सकिने न्यायपरिषद्ले जनाएको छ ।
न्यायपरिषद् सदस्य खेमनारायण ढुंगानाले भने, '२२ मंसिरसम्म उहाँहरूको पदावधि रहन्छ, त्यतिञ्जेलसम्म केही होला ।' तर, पदमुक्त हुन लागेका स्वयं अस्थायी न्यायाधीशलाई समेत परिषद्ले यो विषयमा जानकारी दिएको छैन । एक अस्थायी न्यायाधीशले भने, 'यो विषयमा मलाई अहिलेसम्म कुनै जानकारी छैन ।'
नियुक्तिका मितिले न्यायाधीशहरू वैद्यनाथ उपाध्याय, तर्कराज भट्ट, ज्ञानेन्द्रबहादुर कार्की, प्रा.डा. भरतबहादुर कार्की र कमलनारायण दासले अवकाश पाएका हुन् । अर्का अस्थायी न्यायाधीश प्रकाश वस्तीले पनि ९ माघबाट अवकाश पाउँदै छन् ।
अस्थायी नियुक्ति पाएका न्यायाधीशको स्थायी हुन नसकेपछि दुईवर्षे कार्यकाल सकिई उनीहरू पदमुक्त भएका छन् । अध्यादेश जारी गरी स्थायी गर्ने अन्तिम प्रयास पनि असफल भएपछि पाँच अस्थायी न्यायाधीश पदमुक्त भएका हुन् । अस्थायीमध्येका एक न्यायाधीश भरतराज उप्रेतीले भने गत बिहीबार नै राजीनामा दिएका थिए । माघमा अवकाश पाउने सूचीमा रहेका न्यायाधीश वस्ती ९ माघ ०६५ मा सर्वोच्चका अस्थायी न्यायाधीशमा नियुक्त भएका हुन् । उनीलाई यसअघि पनि दुई वर्षका लागि अस्थायी कार्यकाल थपिएको थियो । बिहीबार राजीनामा दिएका उप्रेतीको पनि दुई वर्ष थपिएको थियो ।
अवकाश पाएका न्यायाधीश उपाध्याय २१ मंसिर ०६७ मा सर्वोच्चको अस्थायी न्यायाधीशमा नियुक्त भएका थिए । पुनरावेदन अदालतमा मुख्य न्यायाधीशबाट सर्वोच्चमा आएका उनी स्थायी नभए पुनः पुनरावेदनमै फर्किनेछन् । अर्का अस्थायी न्यायाधीश भट्ट पनि २१ मंसिर ०६७ मै सर्वोच्चमा नियुक्त भएका थिए । भट्टलाई पुनरावेदनकै मुख्य न्यायाधीशबाट ल्याइएको भए पनि उमेर हदका कारण उनी पुनरावेदनमा र्फकने सम्भावना अब छैन ।
न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्की पनि २१ मंसिर ०६७ मै सर्वोच्चमा नियुक्त भएका थिए । पुनरावेदन अदालत पोखरामा मुख्य न्यायाधीशमा कार्यरत रहँदा उनलाई सर्वोच्च ल्याइएको थियो । स्थायी नभएपछि उनी पनि पुनरावेदन र्फकनेछन् । पूर्वमहान्यायाधिवक्तासमेत रहेका प्रा. डा. कार्कीले २२ मंसिर ०६७ मा सर्वोच्चमा अस्थायी न्यायाधीशको नियुक्ति पाएका थिए । अवकाश पाएका न्यायाधीश दास पनि २१ मंसिर ०६७ मै सर्वोच्चको अस्थायी न्यायाधीशमा नियुक्त भएका थिए ।
यसअघि एकपटक संसदीय सुनुवाइ भई अस्थायी न्यायाधीशमा नियुक्त भएकाको हकमा स्थायी नियुक्तिमा सुनुवाइ गर्नुनपर्ने माग दाबीसहित दायर भएको रिटमा न्यायाधीशबीच राय बाझिएपछि कानुनी रूपमा स्थायी गराउने ढोका बन्द भएको थियो । राजनीतिक स्तरबाट अध्यादेशमार्फत संसदीय सुनुवाइको व्यवस्था हटाउने विषयमा समेत विवाद भएपछि उनीहरूले अवकाश पाएका हुन् । धारा १५५ लाई बाधा-अड्काउ फुकाउमार्फत संशोधन गरी सुनुवाइको व्यवस्था हटाउन सरकारले राष्ट्रपतिलाई गरेको पत्रचारविरुद्ध समेत सर्वोच्चमा रिट दायर भएको थियो । सो रिट अदालतमा अहिले पनि विचाराधीन छ ।

मंगलबार सुनसान थियो सर्वोच्च

सर्वोच्च अदालत मंगलबार सुनसान थियो । सधैँ चार बजेसम्म इजलासमा व्यस्त हुने सर्वोच्चका अस्थायी न्यायाधीश मात्र होइन स्थायी न्यायाधीश पनि फुर्सदिला थिए । तर, मंगलबार नै अस्थायी न्यायाधीशको इजलासको अन्तिम दिन थियो । मंगलबार दुई बजे सर्वोच्चका सबै इजलासका ढोका बन्द थिए । अदालत सुनसान थियो । एक इजलास अधिकृतले भने, 'सर्वोच्च आज नौलो लागिरहेछ । मुद्दा हेर्ने कुनै मुड छैन । एक अस्थायी न्यायाधीशले केही पत्रकारसँग कुरा गर्दै भने, 'हामी जादै छौँ भन्दा पनि संक्रमणकालमा न्यायालय मजबुत हुनुपर्ने हो, नियतवश न्यायालयलाई कमजोर पार्न लागेको अनुभव भइरहेको छ ।' अस्थायी न्यायाधीश सबैले अवकाश पाए सम्भवतः इतिहासमै सबैभन्दा कम न्यायाधीश सर्वोच्चमा रहन्छन् ।
मंगलबार करिब दुई बजेसम्म सामान्य एक/दुई मुद्दा सुनुवाइ गरी सबै न्यायाधीशले प्रधानन्यायाधीश खिलराज रेग्मीको सचिवालयछेउ बैठक कक्षमा समय बिताएका थिए । २ः३० बजे स्थायी न्यायाधीश गिरीशचन्द्र लाल, सुशीला कार्की र अस्थायी न्यायाधीश प्रकाश वस्ती र भरतबहादुर कार्की आ-आफ्नो च्याम्बरमा आएका थिए । तर, त्यसपछि उनीहरू एकैछिन कार्यकक्षमा बसेर घरतर्फ लागे । अस्थायीमध्येका वैद्यनाथ उपाध्याय तीन दिनदेखि बिदामा छन् । सर्वोच्चमा स्थायी नभए उनी पुनरावेदन अदालतमा र्फकनेछन् ।

 

Add comment


Security code
Refresh