Wednesday, Apr 16, 2014

अपहरण मुद्दाका बबन सिंह धरौटीमा छुट पीडीएफ मुद्रण इमेल


नवराज मैनाली/नयाँ पत्रिका
काठमाडौं, १९ मंसिर
अपहरण मुद्दा लागेका पूर्वसभासद् बबन सिंह धरौटीमा छुटेका छन् । प्रहरीले पक्राउपुर्जी जारी गरेको एक वर्षपछि मंगलबार अदालतमा उपस्थित भएका उनलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
जिल्ला अदालतका पाँच नम्बर इजलाशका न्यायाधीश भोजराज अधिकारीले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएका हुन् । बबनसिंह दुई लाख ५० हजार धरौटीमा छुटेका हुन् । मंगलबारको थुनछेक बहसमा उनले आफूमाथिको अभियोग अस्वीकार गरेका थिए ।
वीरगन्जका व्यवसायी राजेशमान सिंहको अपहरण गरी हत्या प्रयास गरेको अभियोगमा प्रहरीले गत वर्ष कात्तिकमा उनलाई पक्राउपुर्जी जारी गरेको थियो । उनका दुई सहयोगी भने तत्कालै पक्राउ परेकोमा एक हाल पुपर्क्षका लागि थुनामै छन् । अपहरणमा सहायक भूमिका खेल्ने व्यक्तिलाई पुर्पक्षमा पठाएर मुख्य योजनाकारलाई भने धरौटीमा रिहा गरिएकोमा प्रहरी अधिकारीले आश्चर्य व्यक्त गरेका छन् ।
सामान्यतः तीन वर्षभन्दा धेरै कैद सजाय हुने मुद्दामा प्रतिवादीहरूलाई अदालतले पुर्पक्षमा पठाउँदै आएको छ । अपहरण उद्योगमा सात वर्ष ६ महिनासम्म कैद सजाय हुन सक्ने प्रावधान भए पनि बबन धरौटीमा छुट्न सफल भएका हुन् ।
बबनको निर्देशनमा अपहरण र हत्या प्रयास गर्ने लालबाबु शास्त्री हाल पुर्पक्षका लागि जेलमा छन् । तर, प्रहरीले प्रमुख अभियुक्त बनाएर मुद्दा दायर गरिएका बबन धरौटीमै छुट्न सफल भएका छन् ।
वीरगन्जका वडा पूर्वअध्यक्षसमेत रहेका सिंहलाई विमल तिवारीमार्फत बबनले हत्या योजना बनाई पैसा पनि दिएका थिए । पछि, तिवारी राजेशमानसँग मिलेका थिए । बबनकै निर्देशनमा अपहरणपछि हत्या गर्ने योजना बनाइएको फोन रेकर्डसमेत प्रहरीले अदालतमा पेस गरेको थियो । पीडितले उनको नाममा किटानी जाहेरी दिएका थिए । 
प्रहरीका अनुसार राजेशमानको हत्याका लागि सिंहले आपराधिक पृष्ठभूमि भएका 'सुटर' प्रवीण तिवारीलाई सुपारी दिएर भाडामा लिएका थिए । जसअनुरूप उनलाई वीरगन्जस्थित राजेशमानकै घरनजिक भाडामा कोठा लिएर बस्ने व्यवस्था मिलाइएको थियो । सूचना संकलन गर्न र अपरहण गर्न सजिलो होस् भनेर त्यसरी उनको घरनजिकै कोठा भाडामा लिएर तिवारीलाई राखिएकोमा तिवारी राजेशमानसँगै मिलेर योजनाको पोल खोलिदिएपछि घटना बाहिर आएको थियो ।
तिवारीले बबनसँग अपहरण र हत्याको विषयमा पटक-पटक कुरा गरेको टेलिफोन रेकर्डको सिडीसमेत प्रहरीले अदालतमा पेस गरेको छ । सिडीमा बबनको सहजै स्वर पहिचान गर्न सकिने र हत्या योजनाबारे पनि प्रस्ट रहेको प्रहरीको अनुसन्ध्ाान प्रतिवेदनमा उल्लेख छ ।
बबनका सहयोगीद्वय शास्त्री र पाण्डेले राजेशमानको हत्याका लागि सहयोगी र मध्यस्थकर्ताको भूमिका निभाएका थिए । उनीहरूलाई गत २७ कात्तिक ०६८ मै प्रहरीले पक्राउ गरेकोमा घटनामा बबनका प्रस्ट प्रमाण भेटिएको थियो । प्रमाण भेटिएपछि प्रहरीले उनलाई उपस्थित गराउन संसद्लाई पत्र लेखेको थियो । संसद्ले पनि सभासद् सिंहलाई प्रहरी परिसर काठमाडौंमा उपस्थित हुन निर्देशन दिएकोमा उनी फरार रहँदै आएका थिए ।
अपहरण र हत्याको जिम्मा लगाइएका तिवारीले पटक-पटक सभासद् बबनसँग फोनमा कुरा गरेको रेकर्ड रहेकाले उनी अदालतमा उपस्थित हुँदा सीधै जेल जाने सम्भावना भएपछि उनलाई धरौटीमा छोडिएपछि अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले असन्तुष्टि जनाएका छन् । 'प्रमुख अभियुक्तलाई रिहा गरेर, सहायकलाई जेल पठाएको घटना कमै भएका होलान्,' काठमाडौं परिसरका एक प्रहरी अधिकारीले भने ।
प्रहरी प्रतिवदेनअनुसार न्युरोडमा ज्योतिषको काम गर्ने लालबहादुरलाई सुरुमा सम्पर्क गरी बबनले अपहरण र हत्याको प्रस्ताव राखेका थिए । उनले स्विकारेपछि सभासद् सिंहसँग भेट गरेका थिए । उनीहरूबीच अपहरण र हत्याका लागि २५ हजार एड्भान्स मागेका थिए । तर, पैसा माग्दा बबनले झुलाएका थिए ।
स्रोतका अनुसार वीरगन्जको ठेक्कापट्टाको विषयलाई लिएर बबनले राजेशको हत्याको योजना बनाएका हुन् । तमलोपाको पर्सा जिल्ला कमिटीमा आबद्ध राजेशले वीरगन्ज नगरपालिकाको स्विमिङ पुल तथा सवारी करको ठेक्का पारेका थिए । त्यही विवादका विषयमा हत्या योजना बनेको काठमाडौं परिसरका एक अधिकारीले बताए ।
रौतहटबाट निर्वाचित पूर्वसभासद् सिंह पाँच वर्षअघि त्रिपुरेश्वर र बालाजु बम विष्फोटका अभियुक्त हुन् । उनलाई प्रहरीले त्यस वेलादेखि नै मोस्ट वान्टेड सूचीमा राखेको थियो । आफूविरुद्ध जाहेरी दिएपछि बबनले पीडितलाई मिलापत्रका लागि पटक-पटक दबाबसमेत दिएका थिए ।


 

Add comment


Security code
Refresh