Friday, Apr 18, 2014

नक्कली शैक्षिक प्रमाणपत्रधारी डिएस्ापी निलम्बित पीडीएफ मुद्रण इमेल

सागर पण्डित/नयाँ पत्रिका
काठमाडौं, ९ मंसिर
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको पाइएपछि प्रहरी नायब उपरीक्षक -डिएसपी) बालकृष्ण थापा निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरीय निर्णय गरी डिएसपी थापालाई ६ महिनाका लागि निलम्बन गरेको हो ।
निलम्बित डिएसपी थापा प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्ष नक्सालमा दरबन्दी भई हाल सशस्त्र प्रहरी गण धनगढीमा
कार्यरत थिए ।
डिएसपी थापाको शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी परेपछि राष्ट्रिय सतर्कता केन्द्रले उनको सम्पूर्ण शैक्षिक प्रमाणपत्र छानबिन गरेको थियो । छानबिनका क्रममा थापाले बिएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नेपाल प्रहरीको जागिर खाएको पुष्टि  भएपछि सतर्कता केन्द्रले थापालाई आवश्यक कारबाही गर्न दुई महिनाअघि प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । साथै केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतलाई थापामाथि आवश्यक कारबाही गर्न पत्राचार गरेको थियो ।
प्रहरी प्रधान कार्यालयले डिएसपी थापालाई निलम्बन गरी त्यसको जानकारी अख्तियार र सतर्कता केन्द्रलाई गराएको छ । तर, सतर्कता केन्द्रका प्रवक्ता कृष्णप्रसाद पौडेलले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको पुष्टि भएपछि डिएसपीलाई निलम्बन मात्रै गरेर नपुग्ने बताएका छन् । 'निलम्बन गरेको पत्र आएको छ, तर उनलाई त्योभन्दा अझै बढी कारबाही गर्नुपर्ने हो,' केन्द्रका प्रवक्ता पौडेलले भने । पौडेलले केन्द्रबाट आवश्यक कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको दुई महिनापछि मात्रै निलम्बन गरिएको भन्दै
असन्तुष्टि जनाए ।
प्रहरी प्रधान कार्यालयले डिएसपी थापालाई निलम्बन गर्दै आफ्ना सम्पूर्ण शैक्षिक प्रमाणपत्र लिएर एक साताभित्र पुनः अख्तियारमा हाजिर हुन निर्देशन दिएको छ । सतर्कता केन्द्रले थापाको शैक्षिक प्रमाणपत्र छानबिन गरी नक्कली भएको ठहर गरिसकेकाले अब अख्तियारले छानबिन गर्न नपर्ने केन्द्रका अधिकारीहरूले बताएका छन् ।

 

Add comment


Security code
Refresh