Thursday, Apr 17, 2014

"संविधानपछि मात्र कांग्रेस नेतृत्व स्वीकार" पीडीएफ मुद्रण इमेल

नयाँ पत्रिका
बुटवल, ९ मंसिर
एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महराले संविधान जारी गरेपछि मात्र कांग्रेस नेतृत्वको सरकार स्वीकार्य हुने बताएका छन् । संविधान निर्माणका लागि सहमति हुन बाँकी रहेका मुद्दामा सहमति गरी संविधान निर्माण गरेर जारी गरेपछि संसद्को चुनावका लागि कांग्रेस नेतृत्वको सरकार स्वीकार्य हुने उनले बताए ।
क्रान्तिकारी पत्रकार संघ अवध-मधेस राज्य समितिको तेस्रो सम्मेलनको शनिबार बुटवलमा उद्घाटन गर्दै नेता महराले अहिलेको अवस्थामा बाबुराम भट्टराई नेतृत्वको सरकारलाई नै सहमतिको सरकारमा परिणत गर्नु उपयुक्त हुने बताए ।
राष्ट्रिय सहमतिको सरकारका लागि भट्टराईको नेतृत्वलाई पहिलो प्राथमिकता दिनुपर्ने, त्यसो नभए आफ्नो पार्टीको नेतृत्व र त्यो पनि नभए दलहरूकै सहमतिमा नेतृत्व तय गर्न सकिने विकल्प उनले प्रस्तुत गरे । महराले कांग्रेस र एमाले सरकारमा सहभागी भए सहज निकास निस्कने विश्लेषण गरे ।
राष्ट्रपतिको आह्वान र प्रधानमन्त्रीको सम्बोधन दुवै सहमतिको सरकार गठनका निम्ति आएको आफ्नो बुझाइ रहेको उनले बताए । 'राष्ट्रपति र प्रधानमन्त्री दुवै सहमतिका निम्ति उद्यत छन्, एमाओवादी पनि त्यसका निम्ति प्रतिबद्ध छ,'
महराले भने ।
उनले राष्ट्रपतिले आफ्नो हातमा शक्ति केन्दि्रत गर्ने उद्देश्यले कदम चालेको भए त्यो गलत भएको पनि विश्लेषण गरे । राष्ट्रपतिको आह्वानसँगै अति दक्षिणपन्थी शक्तिको चलखेल बढ्न सक्ने खतरा औँल्याउँदै महराले भने, 'राष्ट्रपतिको वक्तव्यबाट अर्को शक्ति खेल्न नपाओस् ।'
आफूलाई केहीबेरअघि मात्र राष्ट्रपतिले सूर्यबहादुर थापालाई प्रधानमन्त्री तोके भन्ने उल्लेख गर्दै मोबाइलमा म्यासेज आएको बताउँदै उनले भने, 'तर त्यो गलत म्यासेज हो ।' राष्ट्रपतिबाट हुन सक्ने त्यस्ता असंवैधानिक कदमविरुद्ध मिडियाको भूमिका सशक्त पानुपर्ने धारणा उनले राखे ।
यस्तै कार्यक्रममा क्रान्तिकारी पत्रकार संघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले हालसम्मका उपलब्धि रक्षा गर्दै पेसागत र भौतिक सुरक्षाका लागि पत्रकारहरू एकताबद्ध हुनुपर्ने खाँचो औँल्याए ।

 

Add comment


Security code
Refresh